सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

म कसरी समयको सदुपयोग गर्न सक्छु?

म कसरी समयको सदुपयोग गर्न सक्छु?

 तपाईँले किन समयको सदुपयोग गर्नुपर्छ?

  •   समय भनेको पैसाजस्तै हो। तपाईँले फजुल खर्च गर्नुभयो भने पछि चाहिएको बेला तपाईँसित समय हुनेछैन। तर समय कहाँ-कहाँ खर्च गर्ने भनेर पहिल्यै छुट्ट्याउनुभएको छ भने आफूलाई गर्न मन लागेका कुराहरूको लागि पनि तपाईँसित समय बाँकी हुनेछ।

     बाइबल सिद्धान्त: “अल्छी मानिसले लालसा गरे पनि केही पाउँदैन तर मेहनती मानिसको इच्छा पूरा हुन्छ।”—हितोपदेश १३:४.

     निष्कर्ष: समयको सदुपयोग गर्दा तपाईँसित थोरै होइन, धेरै स्वतन्त्रता हुनेछ।

  •   समयको सदुपयोग गर्न सिक्यौँ भने त्यसले तपाईँलाई वयस्क भइसकेपछि पनि फाइदा पुऱ्‍याउनेछ। यस्तो सीप हुनु र नहुनुले तपाईँ जागिरमा टिकिरहने हो या जागिरबाट निकालिने हो, त्यसमा ठूलो फरक पार्न सक्छ। मानिलिनुहोस्‌, तपाईँ अफिसको हाकिम हुनुहुन्छ। काममा धेरैजसो ढिला आउने कर्मचारीलाई के तपाईँ जागिरमा लगाइराख्नुहुन्छ र?

     बाइबल सिद्धान्त: “जो मानिस सानो कुरामा विश्‍वासयोग्य छ, ऊ धेरै कुरामा पनि विश्‍वासयोग्य हुन्छ।”—लुका १६:१०.

     निष्कर्ष: तपाईँ समयको सदुपयोग गर्न कत्तिको सिपालु हुनुहुन्छ, त्यसले तपाईँ कस्तो व्यक्‍ति हुनुहुन्छ भनेर देखाइरहेको हुन्छ।

 हो, समयको सदुपयोग गर्न सजिलो हुँदैन। हामीले पन्छाउनुपर्ने केही बाधा विचार गरौँ।

 बाधा #१: साथीहरू

 “साथीहरूले मलाई कतै जाऔँ भन्दा आफूसित पटक्कै समय छैन भने पनि म उनीहरूलाई ‘नाइँ’ भन्‍नै सक्दिनँ। ‘आफ्नो काम त घर फर्केर हतार-हतार गरौँला नि’ जस्तो लाग्छ। तर सधैँ सोचेजस्तो हुँदैन, कहिलेकाहीँ त एकदम काम बिग्रिएको पनि छ।”—सिन्थिया।

 बाधा #२: अलमल्याउने कुराहरू

 “टिभी भनेको भ्याक्युम क्लिनरजस्तै हो। टिभी कार्यक्रम अनि फिल्महरूले हाम्रो सम्पूर्ण ध्यान आफूतिर खिचिरहेको हुन्छ र हामी ती नहेरी बस्नै सक्दैनौँ।”—आइभी।

 “म ट्याबलेट चलाएर घण्टौँ बिताउन सक्छु। मैले ट्याबलेट चलाउन बन्द गर्ने भनेको त्यसको ब्याट्री सकिएपछि मात्र हो। आफ्नो यस्तो बानी देख्दा साह्रै नमज्जा लाग्छ।”-मारी।

 बाधा #३: काम पन्छाउने बानी

 “म स्कुलको होमवर्क र आफूले गर्नुपर्ने कामहरूलाई पन्छाउने गर्छु। ‘अब त नगरी नहुने भयो’ भन्‍ने समय नआएसम्म म बेकारका कुराहरूमा आफ्नो समय खेर फालिरहेको हुन्छु। यस्तो बानी त राम्रो हुँदै होइन।”—बेथ।

समयको सदुपयोग गर्दा तपाईँसित थोरै होइन, धेरै स्वतन्त्रता हुनेछ

 तपाईँ के गर्न सक्नुहुन्छ?

  1.  १. आफूले गर्नुपर्ने कुराहरूको सूची बनाउनुहोस्‌। जस्तै: घरायसी काम र स्कुलको होमवर्क। कुनै एउटा साधारण हप्तामा आफूले गर्नुपर्ने कामहरूको लागि कति-कति समय लाग्छ, त्यो लेखेर राख्नुहोस्‌।

     बाइबल सिद्धान्त: “अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो तिमीहरूले पक्का गर्न सक।”—फिलिप्पी १:१०.

  2.  २. फुर्सदको समयमा तपाईँलाई के गर्न मन लाग्छ, त्यसको पनि सूची बनाउनुहोस्‌। जस्तै: सामाजिक सञ्जाल चलाउने र टिभी हेर्ने। कुनै एउटा साधारण हप्तामा तपाईँ यी कुराहरूमा कति-कति समय बिताउनुहुन्छ, त्यो लेखेर राख्नुहोस्‌।

     बाइबल सिद्धान्त: “समयको पूर्ण सदुपयोग गर्दै ... बुद्धिमानीपूर्वक व्यवहार गर।”—कलस्सी ४:५.

  3.  ३. योजना बनाउनुहोस्‌। आफूले बनाएको दुइटै सूची हेर्नुहोस्‌। के तपाईँले महत्त्वपूर्ण कामहरूको लागि पर्याप्त समय छुट्ट्याउनुभएको छ? के तपाईँले फुर्सदको समयमा गर्ने भनेर छुट्ट्याउनुभएका कामहरूको लागि अलि थोरै समय दिनुपर्ने हो कि?

     सुझाव: आज के-के गर्ने भनेर हरेक दिनको सूची बनाउनुहोस्‌। कामहरू पूरा हुँदै जाँदा त्यसमा चिन्ह लगाउँदै जानुहोस्‌।

     बाइबल सिद्धान्त: “मेहनती मानिसले बनाएको योजना सफल हुन्छ।”—हितोपदेश २१:५.

  4.  ४. योजनाअनुसार चल्नुहोस्‌। साथीहरूले जमघटको लागि बोलाउँदा तपाईँले कहिलेकाहीँ ‘नाइँ’ भन्‍नुपर्ने अनि आफूले गर्नै पर्ने महत्त्वपूर्ण कामहरू सिद्ध्याउनुपर्ने हुन सक्छ। तर साँच्चै भन्‍ने हो भने तपाईँले आफ्नो लागि धेरै समय पाउनुहुनेछ अनि त्यसलाई अझै रमाइलोसित बिताउन सक्नुहुनेछ।

     बाइबल सिद्धान्त: “मेहनती होओ, आफ्नो काममा आलटाल नगर।”—रोमी १२:११, फुटनोट.

  5.  ५. पहिला मेहनत गर्नुहोस्‌, पछि रमाइलो गर्नुहोस्‌। तारा नाम गरेकी एक युवती यसो भन्छिन्‌, “कहिलेकाहीँ आफूले गर्नुपर्ने कामहरूको सूचीमा भएको दुइटा काम सिद्ध्याउँछु। अनि ‘अब १५ मिनेट जति टिभी हेरेर फेरि काममा लाग्छु’ भन्‍ने सोच्छु। तर हेर्दाहेर्दै ३० मिनेट बित्छ, १ घण्टा बित्छ अनि हुँदा-हुँदा २ घण्टा बितेको पनि म चालै पाउँदिनँ!”

     त्यसोभए के गर्ने? मनोरञ्जनलाई आफ्नो काम सिद्ध्याइसकेपछिको इनामको रूपमा लिनुहोस्‌—आफूलाई जति बेला मन लाग्यो, त्यति बेला गर्ने कुराजस्तो नठान्‍नुहोस्‌।

     बाइबल सिद्धान्त: “मानिसको लागि ... आफ्नो कामबाट सन्तुष्टि पाउनुभन्दा उत्तम कुरा अरू केही छैन।”—उपदेशक २:२४.