सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

के मुख-मैथुन गर्नु पनि यौनसम्बन्ध राख्नु हो?

के मुख-मैथुन गर्नु पनि यौनसम्बन्ध राख्नु हो?

 अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रको एउटा रिपोर्टअनुसार सर्वेक्षणमा भाग लिएका १५ देखि १९ वर्षसम्मका युवाहरूमध्ये आधाजतिले मुख-मैथुन गरेका छन्‌। ओरल सेक्स इज द न्यु गुडनाइट किस किताबकी लेखिका सर्लिन आजन भन्छिन्‌: “किशोरकिशोरीसित [मुख-मैथुनबारे] कुरा गर्नुभयो भने तिनीहरू यो सामान्य कुरा हो भन्छन्‌। भनौँ भने तिनीहरूले यसलाई यौनसम्बन्ध नै ठान्दैनन्‌।”

 तपाईँलाई कस्तो लाग्छ?

 तल दिइएका प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  1.  १. कुनै केटी मुख-मैथुनद्वारा गर्भवती हुन सक्छिन्‌?

    1.  क. सक्छिन्‌

    2.  ख. सक्दिनन्‌

  2.  २. के मुख-मैथुन गर्दा स्वास्थ्यमा हानि पुग्न सक्छ?

    1.  क. सक्छ

    2.  ख. सक्दैन

  3.  ३. के मुख-मैथुन गर्नु पनि यौनसम्बन्ध राख्नु हो?

    1.  क. हो

    2.  ख. होइन

 वास्तविकता के हो?

 तपाईँका जवाफहरूलाई तल दिइएका जवाफहरूसित तुलना गर्नुहोस्‌।

  1.  १. कुनै केटी मुख-मैथुनद्वारा गर्भवती हुन सक्छिन्‌?

     जवाफ: सक्दिनन्‌। त्यसैले थुप्रै मानिस मुख-मैथुन गर्दा केही हानि हुँदैन भन्‍ने गलत निष्कर्षमा पुग्छन्‌।

  2.  २. के मुख-मैथुन गर्दा स्वास्थ्यमा हानि पुग्न सक्छ?

     जवाफ: सक्छ। मुख-मैथुनबाट हेपाटाइटिस (ए वा बि), गुप्ताङ्‌गमा आउने मुसा र लुतो, धातुरोग, एचआइभी वा भिरिङ्‌गी लाग्न सक्छ।

  3.  ३. के मुख-मैथुन गर्नु पनि यौनसम्बन्ध राख्नु हो?

     जवाफ: हो। अर्को व्यक्‍तिको गुप्ताङ्‌ग समावेश भएको जुनसुकै गतिविधि यौनसम्बन्ध हो। यसमा सम्भोग, मुख-मैथुन, मलद्वार-मैथुन र अर्को व्यक्‍तिको गुप्ताङ्‌ग खेलाउनु समावेश छन्‌।

 यो कुरा किन महत्त्वपूर्ण छ?

 मुख-मैथुनसित सम्बन्धित केही बाइबल पद विचार गरौँ।

 बाइबल भन्छ: “परमेश्‍वरको इच्छा यही छ कि तिमीहरू . . . अवैध यौनसम्बन्धबाट अलग रहो।”—१ थिस्सलोनिकी ४:३.

 “अवैध यौनसम्बन्ध” भनी अनुवाद गरिएको मूल भाषाको शब्दले पति वा पत्नीबाहेक अरूसित गरिने सबै किसिमको यौन क्रियाकलापलाई बुझाउँछ, जसमा सम्भोग, मुख-मैथुन, मलद्वार-मैथुन र अर्को व्यक्‍तिको गुप्ताङ्‌ग खेलाउनु समावेश छ। अवैध यौनसम्बन्ध राख्ने सबैले गम्भीर परिणाम भोग्नुपर्ने हुन्छ। सबैभन्दा दुःखको कुरा त तिनको परमेश्‍वरसितको सम्बन्ध बिग्रन्छ।—१ पत्रुस ३:१२.

 बाइबल भन्छ: “जसले अवैध यौनसम्बन्ध राख्ने गर्छ, उसले आफ्नै शरीरविरुद्ध पाप गरिरहेको हुन्छ।”—१ कोरिन्थी ६:१८.

 मुख-मैथुन गर्ने व्यक्‍तिले शारीरिक र आध्यात्मिक रूपमा दुःखलाग्दा परिणामहरू भोग्नुपर्ने हुन्छ। टकिङ सेक्स विथ योर किड्‌स नामको किताब यसो भन्छ: “आफ्नो फाइदा उठाइएको, पछुतो लागेको वा असुरक्षित महसुस हुने सम्भोगपछि मात्र होइन। गलत परिस्थितिमा गरिएको सम्भोगले गर्दा हुने भावनात्मक पीडा अरू जुनसुकै प्रकारको यौनसम्बन्धले गर्दा पनि हुन सक्छ। आखिर ती सबै यौनसम्बन्ध नै हुन्‌।”

 बाइबल भन्छ: “म यहोवा तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरूकै भलाइ होस्‌ भनेर म तिमीहरूलाई सिकाउँछु।”—यसैया ४८:१७.

 यौनबारे परमेश्‍वरका नियमहरू पालन गर्दा के तपाईँलाई आफ्नो भलाइ हुन्छ जस्तो लाग्छ? वा ती नियमहरूले तपाईँको स्वतन्त्रता खोस्छन्‌ जस्तो पो लाग्छ कि? यी प्रश्‍नहरूको जवाफ विचार गर्न एउटा व्यस्त सडकबारे सोच्नुहोस्‌, जहाँ गति-सीमा, ट्राफिक चिन्हहरू र रोक्नुहोस्‌ भन्‍ने चिन्हहरू राखिएका छन्‌। तपाईँ ती चिन्हहरूलाई आफ्नो स्वतन्त्रता खोस्न राखिएको ठान्‍नुहुन्छ कि आफ्नो सुरक्षाको लागि? तपाईँ र अरू चालकहरूले ती चिन्हहरूलाई बेवास्ता गर्दा के हुन्छ?

ट्राफिक नियमहरू पालन गर्दा केही स्वतन्त्रता गुमाउनुपरे तापनि त्यसले हाम्रो रक्षा गर्छ। त्यसरी नै परमेश्‍वरका नियमहरू पालन गर्दा केही स्वतन्त्रता गुमाउनुपरे तापनि त्यसले हाम्रो रक्षा गर्छ

 परमेश्‍वरका स्तरहरूअनुसार चल्ने सन्दर्भमा पनि यही कुरा लागू हुन्छ। तपाईँले ती नियमहरू बेवास्ता गर्नुभयो भने दुःखलाग्दो परिणाम भोग्नुपर्ने हुन्छ। (गलाती ६:७) सेक्स स्मार्ट नामको किताब भन्छ: “तपाईँले जति आफ्नो विश्‍वास, मूल्यमान्यतालाई बेवास्ता गरेर आफूलाई गलत लाग्ने काम गर्नुहुन्छ, तपाईँको आत्मसम्मान त्यति नै कम हुन्छ।” अर्कोतर्फ, तपाईँ परमेश्‍वरका स्तरहरूअनुसार चल्नुभयो भने तपाईँ नैतिकवान्‌ व्यक्‍ति बन्‍न सक्नुहुन्छ। त्यति मात्र होइन, तपाईँले सफा अन्तस्करण पनि कायम राख्न सक्नुहुन्छ।—१ पत्रुस ३:१६.