सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

मित्रता वा रोमान्स?—भाग २: मैले कस्तो सङ्‌केत दिइरहेको छु?

मित्रता वा रोमान्स?—भाग २: मैले कस्तो सङ्‌केत दिइरहेको छु?

 साथीले चाहेको बेला तपाईं उसको कुरा सुनिदिनुहुन्छ। आजकल एउटा साथीसँग तपाईं धेरै गफ गर्न थाल्नुभएको छ। तर त्यो साथी विपरीत लिङ्‌गको व्यक्‍ति हो। ‘हामी साथी मात्र हौं’ जस्तो तपाईंलाई लाग्छ अनि उसलाई पनि त्यस्तै लागेको होला भनेर सोच्नुहुन्छ। के यसलाई हल्कासित लिन मिल्छ?

 के हुन सक्छ?

 विपरीत लिङ्‌गको व्यक्‍तिसित मित्रता गाँस्नै हुँदैन भन्‍ने त होइन। तर तपाईं एक जनासित मात्र विशेष सम्बन्ध गाँस्दै हुनुहुन्छ भने नि? त्यसो हो भने त्यो व्यक्‍तिलाई तपाईंले रोमान्टिक सम्बन्ध गाँस्न खोजिरहनुभएको हो जस्तो लाग्न सक्छ।

 के तपाईंले चाहेको कुरा पनि त्यही हो त? थाहै नपाई यस्तो हुन सक्ने केही तरिका विचार गर्नुहोस्‌।

  •   तपाईं कसैलाई विशेष चासो देखाउनुहुन्छ।

     “हुन त तपाईं अरूको भावनालाई नियन्त्रण गर्न सक्नुहुन्‍न, तर साथी मात्र हो भन्दै घरी-घरी त्यो व्यक्‍तिलाई फोन वा मेसेज गरेर आगोमा घ्यू थप्ने काम पनि नगर्नुहोस्‌।”—सियरा।

  •   उसले चासो देखाउँदा तपाईं पनि चासो दिएजस्तो गर्नुहुन्छ।

     “म आफै अग्रसर भएर मेसेज पठाउने गर्दिनथें तर एउटी केटीको सबै मेसेजको जवाफ दिने गर्थें। त्यसपछि उसलाई साथीको रूपमा मात्र हेरेको कुरा बताउनै गाह्रो भयो।”—रिचर्ड।

  •   अरूको ध्यान खिच्न चाहनुहुन्छ।

     “कसै-कसैलाई अरूसित जिस्किन रमाइलो लाग्छ। रोमान्टिक सम्बन्ध राख्ने विचार नभए पनि उनीहरू अरूको भावनासँग खेलबाड गर्छन्‌। धेरै जनाले यस्तो गरेको मैले देखेको छु। अन्तमा दुई जनामध्ये कसै न कसैले त त्यसको चोट सहनै पर्छ।”—तामरा।

 निष्कर्ष: नियमित रूपमा कुराकानी गर्नुहुन्छ वा उसलाई ध्यान दिनुहुन्छ भने यसले तपाईंले रोमान्टिक चासो देखाएको सङ्‌केत दिन्छ।

 यस विषयमा किन चासो राख्नुपर्छ?

  •   अर्को व्यक्‍तिको चित्त दुख्न सक्छ।

     बाइबल भन्छ: “आशा साकार नहुँदा मन मर्छ।” (हितोपदेश १३:१२) यदि तपाईंलाई कसैले रोमान्टिक चासो देखाएको सङ्‌केत दिइरहन्छ भने तपाईं कस्तो आशा गर्नुहुन्छ?

     “कसै-कसैले माछालाई बल्छीमा पारेर त्यसलाई छोड्‌दा पनि नछोड्‌ने अनि तान्दा पनि नतान्‍ने गर्छन्‌। केटाकेटीबीचको सम्बन्धमा पनि त्यस्तो हुन सक्छ। यदि तपाईं कसैसँग डेटिङ गर्न चाहनुहुन्‍न तर उसलाई अड्‌काइरहनुहुन्छ भने उसलाई पीडा दिइरहनुभएको हुन्छ।”—जेसिका।

  •   तपाईंको इज्जतमा दाग लाग्न सक्छ।

     बाइबल भन्छ: “तिमीहरू आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान देओ।” (फिलिप्पी २:४) आफूबारे मात्र सोच्ने व्यक्‍तिलाई तपाईं कसरी हेर्नुहुन्छ? यसले उसको इज्जतमा कस्तो असर पार्छ?

     “केटीहरूसँग जिस्किने केटा मलाई मन पर्दैन। यसरी जिस्किने व्यक्‍तिको वैवाहिक सम्बन्ध पनि बलियो हुँदैन। आफ्नो रमाइलोको लागि अरूको भावनासँग खेल्ने मानिस स्वार्थी भइरहेको हुन्छ।”—जुलिया।

 निष्कर्ष: रोमान्टिक सम्बन्ध राख्ने विचार नभए पनि अरूलाई रोमान्टिक चासो देखाएको सङ्‌केत गर्ने मानिसले आफैलाई अनि अरूलाई पनि चोट पुऱ्‍याउँछ।

 तपाईं के गर्न सक्नुहुन्छ?

  •   बाइबलले “युवकहरूलाई भाइलाई जस्तै गरी” अनि “युवतीहरूलाई चाहिं चोखो मनले बहिनी” सम्झेर व्यवहार गर भनेर सल्लाह दिएको छ। (१ तिमोथी ५:१, २) यो स्तर पालन गर्दा तपाईंले विपरीत लिङ्‌गको व्यक्‍तिसँगको मित्रतालाई जोगाउन सक्नुहुन्छ।

     “म विवाहित भएको भए अरूको जोडीसँग जिस्किन्‍नथें। अहिले अविवाहित अवस्थामै विपरीत लिङ्‌गको व्यक्‍तिसँग सन्तुलित भएर व्यवहार गर्न सिक्नु मेरो लागि राम्रो तालिम हो।”—लिया।

  •   बाइबल भन्छ: “मानिसहरू जति धेरै बोल्छन्‌ उत्ति नै धेरै पाप गर्ने सम्भावना हुन्छ।” (हितोपदेश १०:१९) यो सिद्धान्त कुराकानी गर्ने सन्दर्भमा मात्र नभई मेसेज पठाउने सन्दर्भमा पनि लागू हुन्छ। तपाईं कति चोटि अनि कस्तो विषयमा कुराकानी गर्नुहुन्छ त्यो पनि यसमा समावेश छ।

     “कुनै केटीसँग डेटिङ गर्ने विचार गर्नुभएको छैन भने उसलाई हरेक दिन मेसेज पठाउनु आवश्‍यक छैन।”—ब्रायन।

  •   बाइबल भन्छ: ‘माथिबाट आउने बुद्धि सर्वप्रथम पवित्र हुन्छ।’ (याकूब ३:१७) पवित्र मनसहित अङ्‌कमाल गर्न पनि सकिन्छ भने रोमान्टिक तरिकाले पनि अङ्‌कमाल गर्न सकिन्छ।

     “म खुलेर कुराकानी गर्छु तर चाहिनेभन्दा बढ्‌ता अथवा भावनात्मक रूपमा नजिकिने गरी गफ गर्दिनँ।”—मारिया।

 निष्कर्ष: विपरीत लिङ्‌गको व्यक्‍तिसँग व्यवहार गर्दा विचार पुऱ्‍याउनुहोस्‌। जेनिफर नामकी युवती भन्छिन्‌, “असल साथी पाउन गाह्रो छ, गलत सङ्‌केत दिएर सम्बन्ध नबिगार्नुहोस्‌।”

 सुझावहरू

  •    अरूको टिप्पणीमा ध्यान दिनुहोस्‌। यदि कसैले “तिमी र ऊ डेटिङ गर्दै हो?” भनेर सोध्यो भने यसले तपाईं र ऊ धेरै नजिकिनुभएको छ भन्‍ने कुराको सङ्‌केत दिन्छ।

  •    विपरीत लिङ्‌गको सबैलाई समान व्यवहार गर्नुहोस्‌। एक जनालाई मात्र विशेष चासो देखाउने नगर्नुहोस्‌।

  •   मेसेजमा के लेख्नुहुन्छ, कति पटक पठाउनुहुन्छ अनि कुन समयमा पठाउनुहुन्छ विचार गर्नुहोस्‌। अलिसा नामकी केटी यसो भन्छिन्‌, “विपरीत लिङ्‌गको व्यक्‍तिलाई मध्यरातमा मेसेज पठाउनुपर्ने कुनै कारण छैन।”