सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

म कत्तिको समस्या सामना गर्न सक्छु?

म कत्तिको समस्या सामना गर्न सक्छु?

 तपाईँ कत्तिको समस्या सामना गर्न सक्नुहुन्छ? के तपाईँले यस्ता समस्याहरू भोग्नुभएको छ?

  •   प्रियजनको मृत्यु

  •   दीर्घकालीन रोग

  •   प्राकृतिक प्रकोप

 अनुसन्धानकर्ताहरूअनुसार ठूलठूला चुनौती सामना गर्दा मात्र समस्या सामना गर्ने क्षमता आवश्‍यक हुने होइन। दिनदिनै भोग्नुपर्ने स-साना समस्याहरूले पनि तपाईँको स्वास्थ्यमा असर गर्न सक्छ। त्यसैले समस्या सानो होस्‌ वा ठूलो, त्यसको सामना गर्ने क्षमता तपाईँले आफूमा विकास गर्नै पर्छ।

 समस्या सामना गर्न सक्नु भनेको के हो?

 समस्या सामना गर्न सक्ने व्यक्‍तिले जीवनमा आउने परिवर्तनहरू र कठिनाइहरूको सफलतापूर्वक सामना गर्न सक्छ। त्यस्तो व्यक्‍तिलाई पनि हाम्रोजस्तै समस्या आइपर्न सक्छ र केही नकारात्मक असरहरू भोग्नुपर्ने हुन सक्छ। तैपनि तिनी त्यस्तो अवस्थाबाट बाहिर निस्कन सक्छन्‌ र समस्या सामना गर्ने तिनको क्षमता पहिलाभन्दा झन्‌ बढ्‌छ।

आँधी आउँदा रूखहरू ढल्लाजस्तै भए तापनि आँधी रोकिएपछि ती रूखहरू फेरि सीधा हुन्छन्‌। त्यसैगरि तपाईँले पनि आँधीरूपी समस्याहरूको सामना गर्न सक्नुहुन्छ

 समस्याको सामना गर्नु किन महत्त्वपूर्ण छ?

  •   किनभने समस्या सबैलाई आइपर्छ। बाइबल यसो भन्छ: “वेग कुदाइले सधैँ दौड जितिँदैन, . . . अनि प्रशस्त ज्ञान हुँदैमा सधैँ सफल भइँदैन। किनभने कुनै पनि बेला मानिसले चिताउँदै नचिताएको घटना घट्‌न सक्छ, जसलाई टारेर टार्न सकिँदैन।” (उपदेशक ९:११) यसबाट के सिक्न सक्छौँ? असल मानिसहरूले समेत आफूले गल्ती नगरे पनि दुःख पाउन सक्छन्‌।

  •   किनभने यसले तपाईँलाई तनावबाट जोगाउँछ। कलेजका एक जना सल्लाहकारले यस्तो लेखे: “जाँचमा राम्रो अङ्‌क नआएकोले वा सामाजिक सञ्जालमा कसैले चित्त दुख्ने कुरा भनेकोले पहिलाभन्दा धेरै विद्यार्थीहरू निराश भएर अनि आफूलाई सम्हाल्न नसकेर मेरो अफिसमा आउने गर्छन्‌।” तिनको भनाइअनुसार सानोजस्तो देखिने समस्याहरूको पनि सही तरिकामा सामना गर्न सकेनौँ भने त्यसले “विभिन्‍न किसिमका मानसिक र भावनात्मक समस्याहरू” निम्त्याउन सक्छ।  a

  •   किनभने यसले तपाईँलाई अहिले अनि पछि वयस्क हुँदासम्म पनि मदत गर्नेछ। जीवनमा आउने निराशाहरूबारे डाक्टर रिचार्ड लर्नर यस्तो लेख्छन्‌: “एक जना सफल र लगनशील वयस्क हुनको लागि नयाँ लक्ष्यहरू राख्दै वा आफूले चाहेको कुरा हासिल गर्न वैकल्पिक बाटोहरू खोज्दै कठिनाइको बाबजुद हार नमानी अघि बढिरहनुपर्छ।”  b

 तपाईँ कसरी समस्याको सामना गर्न सक्नुहुन्छ?

  •   आफ्ना समस्याहरूप्रति सन्तुलित दृष्टिकोण राख्नुहोस्‌। कुन समस्या गम्भीर खालको हो, कुनचाहिँ होइन भनेर छुट्ट्याउनुहोस्‌। बाइबल यसो भन्छ: “समझदार मानिसले आफ्नो अपमान हुँदासमेत त्यसको वास्ता गर्दैन तर मूर्खले तुरुन्तै रिस देखाउँछ।” (हितोपदेश १२:१६) तपाईँले हरेक समस्याको चिन्ता लिइरहनु पर्दैन।

     “स्कुलमा मेरा साथीहरू स-साना कुराहरूलाई ठूलो बनाएर गुनासो गर्ने गर्थे। त्यसपछि सामाजिक सञ्जालका अरू साथीहरूले तिनीहरूले गुनासो गर्नु ठीकै हो भनेपछि तिनीहरू झन्‌ निराश हुन्थे। यसले गर्दा तिनीहरूलाई आफ्नो समस्याप्रति सन्तुलित दृष्टिकोण राख्न गाह्रो हुन्थ्यो।”—जोयान।

  •   अरूको अनुभवबाट सिक्नुहोस्‌। बाइबलमा यस्तो एउटा उपदेश पाइन्छ: “फलामले फलामलाई उध्याएझैँ एक जना साथीले अर्को साथीको बुद्धिलाई तिखार्छ।” (हितोपदेश २७:१७) जीवनमा आँधीरूपी समस्याहरू पार गरिसकेका व्यक्‍तिहरूबाट मूल्यवान्‌ पाठ सिक्न सकिन्छ।

     “अरूसित कुराकानी गर्दा तिनीहरूले विगतमा थुप्रै कठिनाइ भोगेका थिए तर अहिले तिनीहरू ठीक छन्‌ भनेर थाह पाउनुहुनेछ। कठिनाइहरूसित जुझ्न तिनीहरूले के गरे वा के गरेनन्‌ भनेर थाह पाउन तिनीहरूसित कुराकानी गर्नुहोस्‌।”—जुलिया।

  •   धीरजी हुनुहोस्‌। बाइबल यसो भन्छ: “धर्मी मानिस सात पल्ट लड्यो भने पनि फेरि उठ्‌नेछ।” (हितोपदेश २४:१६) परिस्थिति तपाईँले सोचेजस्तो नहुँदा त्यसलाई स्विकार्न समय लाग्न सक्छ। त्यसैले कहिलेकाहीँ निराश हुनुभयो भने छक्क नपर्नुहोस्‌। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको कठिनाइको सामना गर्दै ‘फेरि उठ्‌नु’ हो।

     “हार नमानिकन अघि बढ्यो भने मनको घाउ बिस्तारै निको हुँदै जान्छ। समय बित्दै जाँदा परिस्थिति राम्रो हुँदै जाने रहेछ भनेर मैले थाह पाएँ।”—एन्ड्रिया।

  •   कृतज्ञ हुनुहोस्‌। बाइबल यसो भन्छ: “तिमीहरू कृतज्ञ छौ भनी देखाओ।” (कलस्सी ३:१५) जस्तोसुकै कठिन परिस्थितिको सामना गरिरहेको भए तापनि तपाईँ कृतज्ञ हुन सक्ने कुराहरू पक्कै पनि छन्‌। तपाईँको जीवनलाई अर्थपूर्ण बनाउने तीन वटा कुरा विचार गर्नुहोस्‌।

     “आफूमाथि समस्या आइपर्दा तपाईँ यसो भन्‍नुहुन्छ होला, ‘मलाई नै किन?’ आफ्नै समस्यामै घोरिएर बस्नुभन्दा आफूसँग भएको वा आफूले गर्न सक्ने कुराहरूप्रति सकारात्मक र कृतज्ञ भएर हामी समस्याको सामना गर्न सक्छौँ।”—समान्था।

  •   सन्तुष्ट हुनुहोस्‌। प्रेषित पावलले यसो भने: “जस्तोसुकै परिस्थितिमा परे तापनि सन्तुष्ट हुन मैले सिकेको छु।” (फिलिप्पी ४:११) पावलले सामना गर्नुपरेका कठिनाइहरू तिनको नियन्त्रणभन्दा बाहिरका थिए। तर तिनले आफ्नो प्रतिक्रियालाई भने नियन्त्रण गर्न सक्थे। पावल सन्तुष्ट भइरहन कटिबद्ध थिए।

     “समस्या आइपर्दा सुरुमा मैले देखाउने प्रतिक्रिया सधैँ राम्रो हुँदैन रहेछ भनेर मैले थाह पाएँ। जस्तोसुकै परिस्थितिलाई पनि सकारात्मक दृष्टिकोणले हेर्ने लक्ष्य मैले राखेको छु। यसले गर्दा मलाई मात्र नभई मेरो नजिकका व्यक्‍तिहरूलाई पनि फाइदा भएको छ।”—म्याथ्यु।

  •   प्रार्थना गर्नुहोस्‌। बाइबल यसो भन्छ: “आफ्नो भारी यहोवामा बिसाऊ र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ। धर्मी मानिस कहिल्यै डग्नेछैन किनभने उहाँले उसलाई थाम्नुहुनेछ।” (भजन ५५:२२) प्रार्थना भनेको मनोशान्तिको लागि मात्र गरिने कुरा होइन। यो त तपाईँको ‘ख्याल राख्नुहुने’ सृष्टिकर्तासित गरिने कुराकानी हो।—१ पत्रुस ५:७.

     “मैले एक्लै समस्याको सामना गर्नु पर्दैन। खुलस्त प्रार्थना गरेर परमेश्‍वरलाई म आफ्नो समस्याबारे बताउने गर्छु अनि उहाँबाट पाएको आशिष्‌हरूको लागि धन्यवाद दिने गर्छु। यसरी यहोवाबाट पाएका आशिष्‌हरूमा ध्यान केन्द्रित गरेकोले मैले नकारात्मक भावनाहरू हटाउन सकेको छु।”—कार्लोस।

a थोमस कर्स्टिङद्वारा लिखित डिस्कनेक्टेड भन्‍ने किताबबाट लिइएको।

b द गुड टिन—रेस्क्युइङ्‌ग एडोलेसेन्स फ्रम द मिथ्स अफ द स्टोर्म एण्ड स्ट्रेस येर्स भन्‍ने किताबबाट लिइएको।