सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आनन्दतर्फ लैजाने बाटो

क्षमा

क्षमा

“म सानो छँदा मेरो परिवारमा चिच्याउनु र गालीगलौज गर्नु सामान्य थियो,” प्यट्रिसिया नामकी महिला भन्छिन्‌। उनी थप यसो भन्छिन्‌: “मैले क्षमा दिन सिकेकी थिइनँ। वयस्क भइसक्दा पनि म धेरै दिनसम्म रिस पालेर राख्थेँ अनि राती राम्ररी सुत्नै सक्दिनथेँ।” हो, जीवन रिस र द्वेषपूर्ण भावनाले भरिएको छ भने कोही पनि खुसी वा स्वस्थ हुन सक्दैन। अध्ययन-अनुसन्धानले देखाएअनुसार क्षमा दिन नसक्ने मानिसहरूले निम्न कुराहरू गर्छन्‌:

  • रिस र तितोपनाले गर्दा सम्बन्ध बिगार्छन्‌। अन्ततः अरूले सङ्‌गत गर्न छोड्‌छन्‌ र एक्लो हुन्छन्‌

  • ससाना कुरामै रिसाउँछन्‌, चिन्ता गर्छन्‌, कहिलेकाहीँ असाध्यै निराशसमेत हुन्छन्‌

  • अरूका गल्तीहरूमा बढ्‌तै ध्यान दिन्छन्‌, जसले गर्दा आनन्दित हुन सक्दैनन्‌

  • क्षमा दिनुपर्छ भनेर थाह भए तापनि त्यसो गर्न नसकेकोले दोषी महसुस गर्छन्‌

  • तनाव बढेको महसुस गर्छन्‌ र स्वास्थ्य अवस्था बिग्रिने जोखिम बढी हुन्छ। जस्तै: उच्च रक्‍तचापको समस्या, मुटु रोगका साथै बाथ र टाउको दुख्ने जस्ता शरीरका विभिन्‍न भाग दुख्ने समस्या हुन्छ *

क्षमा दिनु भनेको के हो? क्षमा दिनु भनेको गल्ती गर्ने व्यक्‍तिलाई माफी दिनु अनि रिस, द्वेष र बदलाको भावना नराख्नु हो। तर यसको मतलब गल्तीहरूमा आँखा चिम्लिनु, गल्तीलाई सानो बनाउनु वा गल्ती नै नभएको जस्तो भान पार्नु त पटक्कै होइन। बरु क्षमा दिनु भनेको राम्ररी सोचविचार गरेर गरिने व्यक्‍तिगत छनौट हो, जुन प्रेममा आधारित हुन्छ। यसले अरूसित शान्तिमय र सुमधुर सम्बन्ध बनाइराख्न मदत गर्छ।

क्षमा दिनुमा अरूको अवस्था राम्ररी बुझ्नु पनि समावेश छ। क्षमाशील व्यक्‍तिले हामी सबै जना बोली र काममा चुक्छौँ भनेर बुझेको हुन्छ। (रोमी ३:२३) यही कुरालाई जोड दिँदै बाइबल भन्छ: “यदि कसैसित केही गुनासो छ भने एक-अर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो।”—कलस्सी ३:१३.

यसकारण क्षमा प्रेमको एउटा महत्त्वपूर्ण पक्ष हो, जुन “पूर्ण एकतामा गाँस्ने बन्धन हो।” (कलस्सी ३:१४) मायो क्लिनिक वेबसाइटका अनुसार क्षमाशील हुँदा यस्ता फाइदाहरू हुन्छन्‌:

  • अरूसित राम्रो सम्बन्ध गाँस्न मदत पाउँछौँ अनिगल्ती गर्नेप्रति सहानुभूतिशील, विचारशील र दयालु हुन उत्प्रेरित हुन्छौँ

  • मानसिक रूपमा स्वस्थ हुन्छौँ र उच्च नैतिक स्तर कायम राख्न सक्छौँ

  • चिन्ता-फिक्री, तनाव र दुस्मनी कम हुन्छ

  • डिप्रेसन हुने जोखिम कम हुन्छ

आफूलाई क्षमा दिने। चिकित्साशास्त्रसित सम्बन्धित एउटा पत्रिकाअनुसार (डिस्‌एबिलिटी एन्ड रिह्‍याबिलिटेसन) आफूलाई क्षमा दिनु फलामको चिउरा चपाउनुजत्तिकै “गाह्रो हुन सक्छ” तर मानसिक र शारीरिक “स्वास्थ्यको लागि यसो गर्नु असाध्यै महत्त्वपूर्ण छ।” आफूलाई क्षमा दिन तपाईँलाई केले मदत गर्न सक्छ?

  • आफूबाट ज्यादै माग नगर्नुहोस्‌, आफूबाट पनि गल्ती हुन्छ भन्‍ने कुरा व्यावहारिक भई स्विकार्नुहोस्‌।—उपदेशक ७:२०.

  • गल्तीहरू फेरि नदोहोऱ्‍याउन तीबाट पाठ सिक्नुहोस्‌।

  • आफूमा भएका कुनै-कुनै खराब व्यक्‍तित्व वा आनीबानी रातारात हटाउन सकिँदैन; त्यसैले धीरजी हुनुहोस्‌।—एफिसी ४:२३, २४.

  • तपाईँलाई प्रोत्साहन दिने, सकारात्मक, दयालु अनि इमानदार भई तपाईँका कमीकमजोरी देखाइदिने साथीहरूसित सङ्‌गत गर्नुहोस्‌।—हितोपदेश १३:२०.

  • तपाईँले कसैको चित्त दुखाउनुभयो भने माफी माग्न आफै अघि सर्नुहोस्‌। शान्ति कायम गर्नुभयो भने तपाईँले मनोशान्ति पाउन सक्नुहुनेछ।—मत्ती ५:२३, २४.

बाइबलका सिद्धान्तहरू साँच्चै प्रभावकारी छन्‌!

सुरुमा उल्लेख गरिएकी प्याट्रिसियाले बाइबल अध्ययन गरेपछि क्षमा दिन सिकिन्‌। तिनी भन्छिन्‌: “रिसले मेरो जीवनै खल्लो बनाइदिएको थियो। तर अहिले रिस त्याग्न सकेकीले म आनन्दित छु र मेरो कारण अरूले पनि दुःख भोग्नुपरेको छैन। परमेश्‍वर हामीलाई माया गर्नुहुन्छ र हाम्रो लागि सबैभन्दा उत्तम कुरा चाहनुहुन्छ भनेर बाइबलका सिद्धान्तहरूले स्पष्ट पार्छ।”

रोन नाम गरेका एक पुरुष भन्छन्‌: “म अरूको सोचाइ र काम नियन्त्रण गर्न सक्दिनँ। तर आफ्नो भने नियन्त्रणमा राख्न सक्छु। त्यसैले शान्तिमा रहन मैले आफ्नो मनबाट द्वेष हटाउनै पर्थ्यो। शान्ति र द्वेष भनेको उत्तर र दक्षिण हो भन्‍ने लाग्यो। म एकै पटक दुवै ठाउँमा हुन सक्दिनँ। अहिले आफ्नो अन्तस्करण सफा राख्न सकेको छु।”

^ अनु. 8 स्रोत: मायो क्लिनिक र जन्स हपकिन्स मेडिसिन वेबसाइट र सोसल साइकियाट्री एन्ड साइकियाट्रिक एपिडेमोलोजी पत्रिका।