मत्तिका अनुसार ५:१-४८

  • डाँडाको उपदेश (१-४८)

    • येसु डाँडामा बसेर सिकाउन थाल्नुहुन्छ (१, २)

    • आनन्दित बनाउने नौ वटा कुरा (३-१२)

    • नुन र ज्योति (१३-१६)

    • येसु व्यवस्था पूरा गर्न आउनुभयो (१७-२०)

    • यी विषयमा सल्लाह: रिस (२१-२६), व्यभिचार (२७-३०), सम्बन्धविच्छेद (३१, ३२), कसम (३३-३७), बदला (३८-४२), शत्रुलाई प्रेम (४३-४८)

 भीडलाई देखेपछि उहाँ डाँडामा उक्लनुभयो र उहाँ बस्नुभएपछि चेलाहरू उहाँकहाँ आए। २  त्यसपछि उहाँले यसो भन्दै तिनीहरूलाई सिकाउन थाल्नुभयो: ३  “आनन्दित हुन्‌ ती मानिसहरू, जो आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सचेत हुन्छन्‌* + किनकि स्वर्गको राज्य तिनीहरूकै हो। ४  “आनन्दित हुन्‌ ती मानिसहरू, जसले शोक गर्छन्‌ किनकि तिनीहरूलाई सान्त्वना दिइनेछ।+ ५  “आनन्दित हुन्‌ ती मानिसहरू, जो कोमल स्वभावका* छन्‌+ किनकि तिनीहरू पृथ्वीका उत्तराधिकारी हुनेछन्‌।+ ६  “आनन्दित हुन्‌ ती मानिसहरू, जो धार्मिकताका* लागि भोकाउँछन्‌ र तिर्खाउँछन्‌+ किनकि तिनीहरू तृप्त हुनेछन्‌।+ ७  “आनन्दित हुन्‌ ती मानिसहरू, जो कृपालु छन्‌+ किनकि तिनीहरूलाई कृपा देखाइनेछ। ८  “आनन्दित हुन्‌ ती मानिसहरू, जसको हृदय चोखो छ+ किनकि तिनीहरूले परमेश्‍वरलाई देख्नेछन्‌। ९  “आनन्दित हुन्‌ ती मानिसहरू, जसले शान्ति कायम गर्छन्‌+ किनकि तिनीहरू परमेश्‍वरका छोराहरू कहलाइनेछन्‌। १०  “आनन्दित हुन्‌ ती मानिसहरू, जो न्यायोचित काम गरेकोले खेदोमा परेका छन्‌+ किनकि स्वर्गको राज्य तिनीहरूकै हो। ११  “आनन्दित हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको बदनाम गर्छन्‌,+ खेदो गर्छन्‌+ र तिमीहरूविरुद्ध झूट बोलेर नानाथरीका खराब कुरा भन्छन्‌।+ १२  तब रमाओ र खुसीयाली मनाओ+ किनकि स्वर्गमा तिमीहरूको इनाम ठूलो छ;+ तिमीहरूअघिका भविष्यवक्‍ताहरूको पनि तिनीहरूले यसरी नै खेदो गरेका थिए।+ १३  “तिमीहरू पृथ्वीका नुन हौ+ तर नुनको नुनिलोपन हरायो भने त्यसलाई फेरि केले नुनिलो पार्ने? त्यो त बाहिर फालिन+ र मान्छेले कुल्चनबाहेक अरू केही कामको हुँदैन। १४  “तिमीहरू संसारका ज्योति हौ।+ डाँडामाथि बसालिएको सहर लुक्न सक्दैन। १५  मानिसहरूले दियो बालेर टोकरीले* छोप्दैनन्‌ तर पानसमा राख्छन्‌ र घरमा हुनेहरू सबैलाई त्यसले उज्यालो दिन्छ।+ १६  त्यसरी नै मानिसहरूसामु तिमीहरूको ज्योति चम्कोस्‌+ र तिमीहरूको सुकर्म देखेर+ तिनीहरूले स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाको महिमा गरून्‌।+ १७  “मोसाको व्यवस्था वा भविष्यवक्‍ताहरूको शिक्षालाई रद्द गर्न म आएँ भनी नठान। रद्द गर्न होइन तर पूरा गर्न म आएँ।+ १८  किनकि म तिमीहरूलाई साँच्चै भन्छु बरु आकाश र पृथ्वी बितेर जाला तर यी सबै कुरा पूरा नभएसम्म व्यवस्थाको सबैभन्दा सानो अक्षर वा एउटा बिन्दु पनि मेटिनेछैन।+ १९  यसकारण जसले सानाभन्दा साना आज्ञाहरूमध्ये कुनै एउटा उल्लङ्‌घन गर्छ र मानिसहरूलाई त्यसै गर्न सिकाउँछ, त्यो स्वर्गको राज्यमा पस्न लायकको हुनेछैन। तर जसले ती पालन गर्छ र सिकाउँछ, त्यो नै स्वर्गको राज्यमा पस्न लायकको हुनेछ। २०  म तिमीहरूलाई भन्छु, यदि तिमीहरूको काम परमेश्‍वरको नजरमा शास्त्री र फरिसीहरूको कामभन्दा अझ असल भएन भने+ तिमीहरू कुनै पनि हालतमा स्वर्गको राज्यमा पस्न पाउनेछैनौ।+ २१  “उहिले-उहिलेका मानिसहरूलाई यसो भनिएको तिमीहरूले सुनेका छौ: ‘तिमीहरूले हत्या नगर्नू+ तर जसले हत्या गर्छ, ऊ अदालतसामु जबाफदेही हुनेछ।’+ २२  तर म तिमीहरूलाई भन्छु, जो आफ्नो भाइसित क्रोधित भइरहन्छ,+ ऊ अदालतसामु जबाफदेही हुनेछ अनि जसले अपशब्द बोलेर आफ्नो भाइको अपमान गर्छ, ऊ सर्वोच्च अदालतसामु जबाफदेही हुनेछ र जसले आफ्नो भाइलाई ‘ए नालायक बेवकुफ!’ भन्छ, ऊ गेहेन्‍नाको* आगोमा फालिन लायकको हुनेछ।+ २३  “तिमीले वेदीमा आफ्नो भेटी चढाउन ल्याउँदा+ तिम्रो विरुद्धमा तिम्रो भाइसित केही गुनासो छ भन्‍ने तिमीलाई झल्याँस्स याद आयो भने २४  आफ्नो भेटी त्यहीँ वेदीअगाडि छोड र गएर पहिले आफ्नो भाइसित मिलाप गर अनि फर्केर आएपछि आफ्नो भेटी चढाऊ।+ २५  “तिमीमाथि मुद्दा हाल्ने मानिससित बाटोमा छँदै तुरुन्तै सम्झौता गरिहाल नत्र त तिम्रो विपक्षीले तिमीलाई न्यायाधीशकहाँ सुम्पिनेछ र न्यायाधीशले पहरेदारको जिम्मा लगाउनेछन्‌ र तिमी झ्यालखानामा जाकिनेछौ।+ २६  म तिमीलाई साँच्चै भन्छु, तिमीले पाईपाई* चुक्‍ता नगरेसम्म कुनै पनि हालतमा त्यहाँबाट छुट्‌न पाउनेछैनौ। २७  “तिमीहरूले यसो भनिएको सुनेका छौ: ‘तिमीहरूले व्यभिचार* नगर्नू।’+ २८  तर म तिमीहरूलाई भन्छु, जसले कुनै स्त्रीलाई हेरिरहन्छ+ र आफूमा कामवासना जगाउँछ, त्यसले मनमनै ऊसित व्यभिचार गरिसकेको हुन्छ।+ २९  यदि तिम्रो दाहिने आँखाले तिमीलाई ठेस पुऱ्‍याउँछ भने त्यसलाई निकालेर फालिदेऊ।+ किनकि तिम्रो सिङ्‌गै शरीर गेहेन्‍नामा* फ्याँकिनुभन्दा एउटा अङ्‌ग गुमाउनु नै तिम्रो लागि बेस हुन्छ।+ ३०  साथै यदि तिम्रो दाहिने हातले तिमीलाई ठेस पुऱ्‍याउँछ भने त्यसलाई काटेर फालिदेऊ।+ किनकि तिम्रो सिङ्‌गै शरीर गेहेन्‍नामा* पर्नुभन्दा एउटा अङ्‌ग गुमाउनु नै तिम्रो लागि बेस हुन्छ।+ ३१  “अनि यसो पनि भनिएको थियो: ‘जसले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ, त्यसले उनलाई छोडपत्र देओस्‌।’+ ३२  तर म तिमीहरूलाई भन्छु, अवैध यौनसम्बन्धबाहेक* अन्य कारणले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्नेले उनलाई व्यभिचार गर्ने जोखिममा पार्छ र जसले त्यसरी सम्बन्धविच्छेद भएकी स्त्रीसित विवाह गर्छ, त्यसले व्यभिचार गरेको ठहरिन्छ।+ ३३  “उहिले-उहिलेका मानिसहरूलाई यसो भनिएको पनि तिमीहरूले सुनेका छौ: ‘कसम खाएपछि त्यसलाई नतोड्‌नू+ तर यहोवा* परमेश्‍वरसित गरेको भाकल पूरा गर्नू।’+ ३४  तर म तिमीहरूलाई भन्छु: कसम खाँदै नखाओ।+ न स्वर्गको नाममा किनकि त्यो परमेश्‍वरको सिंहासन हो ३५  न पृथ्वीको नाममा किनकि त्यो उहाँको पाउदान हो+ न यरुसलेमको नाममा किनकि त्यो महान्‌ राजाको सहर हो+ ३६  न त आफ्नो शिरको नाममै किनकि तिमीहरूले एउटा केशलाई समेत सेतो अथवा कालो बनाउन सक्दैनौ। ३७  तिमीहरूको वचन ‘हुन्छ’ भने ‘हुन्छ’ र ‘हुँदैन’ भने ‘हुँदैन’ होस्‌+ किनकि यसभन्दा बढ्‌ताचाहिँ त्यस दुष्टतर्फको* हो।+ ३८  “तिमीहरूले यसो भनिएको सुनेका छौ: ‘आँखाको साटो आँखा र दाँतको साटो दाँत।’+ ३९  तर म तिमीहरूलाई भन्छु: दुष्टको प्रतिकार नगर तर जसले तिम्रो दाहिने गाला चड्‌काउँछ, उसलाई अर्को गाला पनि थापिदेओ।+ ४०  अनि यदि कसैले तिमीलाई अदालत लगेर मुद्दा हाल्न चाहन्छ र तिम्रो लुगा लिन खोज्छ भने उसलाई तिम्रो खास्टो पनि देऊ।+ ४१  अनि यदि अख्तियार हुने कसैले तिमीलाई जबरजस्ती काममा लगाएर एक किलोमिटर* परसम्म लैजान खोज्छ भने ऊसित दुई किलोमिटरसम्मै जाऊ। ४२  तिमीसित माग्नेलाई देऊ र तिमीसित सापटी* लिन चाहनेलाई नाइँ नभन।+ ४३  “तिमीहरूले यसो भनिएको सुनेका छौ: ‘तिमीहरूले आफ्नो छिमेकीलाई प्रेम गर्नू+ र आफ्नो शत्रुलाई घृणा गर्नू।’ ४४  तर म तिमीहरूलाई भन्छु: आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो+ र तिमीहरूको खेदो गर्नेहरूका लागि प्रार्थना गरिरहो।+ ४५  यसरी तिमीहरू स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाका छोराहरू बन्‍न सक्नेछौ+ किनकि उहाँले दुष्ट र सज्जन दुवैमाथि घाम लगाइदिनुहुन्छ अनि धर्मी र अधर्मी दुवैमाथि पानी बर्साउनुहुन्छ।+ ४६  किनभने यदि तिमीहरू आफूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने तिमीहरूले के इनाम पाउँछौ र?+ के कर उठाउनेहरूले पनि त्यसै गरिरहेका छैनन्‌ र? ४७  अनि यदि तिमीहरू आफ्नै दाजुभाइलाई मात्र अभिवादन गर्छौ भने कुनचाहिँ ठूलो काम गरिरहेका हुन्छौ र? के अन्यजातिहरूले पनि त्यसै गरिरहेका छैनन्‌ र? ४८  जस्तो स्वर्गमा बस्नुहुने तिमीहरूका बुबा सर्वगुणी* हुनुहुन्छ, त्यस्तै तिमीहरू पनि सर्वगुणी होओ।+

फुटनोटहरू

वा “जसले पवित्र शक्‍तिको भीख माग्छन्‌”; “जसले परमेश्‍वरको आवश्‍यकता छ भनी बुझ्छन्‌।”
वा “नम्र।”
शब्दावली हेर्नुहोस्‌।
वा “पाथीले।”
यरुसलेमबाहिर फोहरमैला जलाउने ठाउँ। शब्दावलीमा “गेहेन्‍ना” हेर्नुहोस्‌।
शा., “आखिरी क्वाड्रन।” अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अर्थात्‌, सैतानतर्फको।
शा., “एक माइल।” शब्दावलीमा “माइल” हेर्नुहोस्‌।
अर्थात्‌, विनाब्याज ऋण।
वा “परिपूर्ण।”