सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

असल मानिस बन्दैमा के हाम्रो भविष्य उज्ज्वल हुन्छ?

असल मानिस बन्दैमा के हाम्रो भविष्य उज्ज्वल हुन्छ?

असल र नैतिकवान्‌ मानिस बन्यो भने भविष्य उज्ज्वल हुन्छ भन्‍ने धारणा निकै पुरानो हो। एसियाली मुलुकका मानिसहरू दार्शनिक तथा गुरु कन्फुसियसको (ईसापूर्व ५५१-४७९) यस भनाइको निकै कदर गर्छन्‌: “अरूले तिमीलाई जुन कुरा नगरून्‌ भन्‍ने चाहन्छौ, त्यो कुरा तिमीले पनि अरूलाई नगर्नू।” *

थुप्रैले कस्तो मार्ग रोजेका छन्‌?

थुप्रै मानिसहरू भविष्य उज्ज्वल बनाउने हो भने असल आचरण देखाउनुपर्छ भनेर अझै पनि विश्‍वास गर्छन्‌। तिनीहरू अरूलाई आदर गर्छन्‌, असल बानीबेहोरा विकास गर्छन्‌, आफ्नो सामाजिक दायित्व पूरा गर्छन्‌ र अन्तस्करण सफा राख्छन्‌। भियतनामकी लिन यसो भन्छिन्‌: “म इमानदार भएँ भने मेरो जीवन राम्रो हुनेछ भनेर म विश्‍वास गर्थेँ।”

केही मानिसहरू आफ्नो धार्मिक आस्थाले गर्दा पनि असल कामहरू गर्छन्‌। ताइवानमा बस्ने शु-युन यसो भन्छन्‌: “मानिसले जिउँदो छँदा असल काम गऱ्‍यो भने मृत्युपछि सुख पाउँछ तर खराब काम गऱ्‍यो भने सास्ती भोग्नुपर्छ भनेर मैले सिकेको थिएँ।”

नतिजा कस्तो भएको छ?

हुनत अरूको लागि राम्रा कामहरू गरिदिँदा हामीलाई थुप्रै लाभ हुन्छ। तर सफा मनले अरूको हित हुने काम गर्नेहरूले पनि सधैँ आफूले सोचेको जस्तो नभएको महसुस गरेका छन्‌। हङकङमा बस्ने स्यु पिङ यसो भन्छिन्‌: “अरूको लागि राम्रो काम गरे तापनि आफूलाई सधैँ राम्रै हुन्छ भन्‍ने छैन र यो कुरा म आफैले अनुभव गरेकी छु। मैले परिवारको रेखदेख गर्न र असल कामहरू गर्न निकै प्रयास गरेँ। तर मेरो वैवाहिक जीवन सफल भएन। श्रीमान्‌ले म र छोरालाई छोडेर जानुभयो।”

धार्मिक आस्था राख्दैमा मानिस असल हुँदैन भनेर थुप्रैले देखेका छन्‌। जापानमा बस्ने एत्सुको यसो भन्छिन्‌: “म एउटा धार्मिक सङ्‌गठनसित आबद्ध थिएँ। म युवाहरूको लागि थुप्रै कार्यक्रम सञ्चालन गर्ने गर्थेँ। तर त्यो सङ्‌गठनका मानिसहरूको छाडा जीवनशैली देख्दा अनि तिनीहरूले ओहदाको लागि होडबाजी गरेको र कोषको दुरुपयोग गरेको देख्दा मलाई त अचम्मै लाग्यो।”

“मैले परिवारको रेखदेख गर्न र असल कामहरू गर्न निकै प्रयास गरेँ। तर मेरो वैवाहिक जीवन सफल भएन। श्रीमान्‌ले म र छोरालाई छोडेर जानुभयो।” —स्यु पिङ, हङकङ

जति नै धर्मकर्म गरे पनि आफू र आफ्नो परिवारले दुःख भोग्नुपर्दा केही मानिसहरू निराश भएका छन्‌। भियतनाममा बस्ने भानले पनि त्यस्तै अनुभव गरिन्‌। तिनी यसो भन्छिन्‌: “म हरेक दिन खानेकुरा, फलफूल अनि फूलहरू किनेर पितृहरूलाई चढाउँथेँ। यसो गर्दा भविष्य राम्रो हुन्छ जस्तो मलाई लाग्थ्यो। मैले वर्षौँसम्म असल काम गरेँ र थुप्रै धर्मकर्म गरेँ। तैपनि मेरो श्रीमान्‌लाई गम्भीर रोग लाग्यो अनि विदेशमा पढिरहेकी मेरी छोरीको कलिलै उमेरमा मृत्यु भयो।”

असल मानिस बन्दैमा हाम्रो भविष्य उज्ज्वल हुँदैन भने हाम्रो भविष्य कसरी उज्ज्वल हुन्छ त? यस प्रश्‍नको जवाफ पाउन हामीलाई एउटा भरपर्दो स्रोत चाहिन्छ, जसले हाम्रा प्रश्‍नहरूको जवाफ दिन्छ र हामीलाई उज्ज्वल भविष्यको बाटो देखाउँछ। त्यो स्रोत के हो?

^ अनु. 2 कन्फुसियसका शिक्षाहरूबारे थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित र www.isa4310.com मा अनलाइनमा उपलब्ध मानवजातिद्वारा परमेश्‍वरको खोज (Mankind’s Search for God) किताबको अध्याय ७, अनुच्छेद ३१-३५ हेर्नुहोस्‌।