पाठ ६
नैतिक स्तर सिकाउनुको महत्त्व
नैतिक स्तर भनेको के हो?
उच्च नैतिक स्तर भएको व्यक्तिलाई के सही के गलत भनेर थाह हुन्छ। तिनीहरूको नैतिक स्तर अवस्थाअनुसार परिवर्तन हुँदैन बरु कहिल्यै परिवर्तन नहुने सिद्धान्तहरूमा आधारित हुन्छ। चाहे अरूले देखून् वा नदेखून्, तिनीहरू सधैँ असल काम गर्छन्।
नैतिक स्तरहरू किन महत्त्वपूर्ण छन्?
अहिले नैतिक तवरमा पतित कुराहरू जताततै छ। केटाकेटीले स्कुलका साथीहरू, सङ्गीत, टिभी कार्यक्रम र फिल्मबाट खराब कुराहरू सजिलै सिक्न सक्छन्। यस्ता नकारात्मक असरहरूले गर्दा तिनीहरूलाई सही र गलतबीचको भिन्नता छुट्ट्याउन गाह्रो हुन सक्छ।
किशोरकिशोरीलाई यस्ता नराम्रा कुराहरूले झनै असर गरेको छ। “साथीहरू अनि मिडियाले नाम कमाउन अनि तिनीहरूजस्तै हुन दबाब दिन्छ भनेर किशोरकिशोरीले बुझ्नुपर्छ। आफूले गर्ने निर्णय साथीहरूलाई मन परोस् या नपरोस्, तिनीहरूले सधैँ सत्यको पक्ष लिनुपर्छ र आफ्नो लागि आफैले निर्णय गर्न सिक्नुपर्छ” भनी एउटा किताब (Beyond the Big Talk) बताउँछ। स्पष्ट छ, छोराछोरीलाई सानैदेखि नैतिक स्तरहरू सिकाउनुपर्छ।
नैतिक स्तरहरू कसरी सिकाउन सकिन्छ
सही र गलत के हो भनेर स्पष्टसँग सिकाउनुहोस्।
बाइबलको सिद्धान्त: ‘परिपक्व मानिसहरूले आफ्नो सोच्ने-बुझ्ने क्षमता चलाएर त्यसलाई सही र गलत छुट्ट्याउन तालिम दिएका हुन्छन्।’—हिब्रू ५:१४.
-
सही र गलत स्पष्टसित छुट्टिने शब्दहरू प्रयोग गर्नुहोस्। दैनिक जीवनका घटनाहरूलाई चलाएर स्पष्टसँग यसो भन्नुहोस्: “यसो गर्नु इमानदार हुनु हो, त्यसो गर्नु बेइमान हुनु हो।” “यसो गर्नु वफादार हुनु हो, त्यसो गर्नु धोका दिनु हो।” “यसो गर्दा दयालु भइरहेका हुन्छौँ, त्यसो गर्दा कठोर भइरहेका हुन्छौँ।” यसरी तपाईँका छोराछोरीले के गर्नु सही हो र के गर्नु गलत हो भनेर ठम्याउन सक्छन्।
-
नैतिक स्तर पालन गर्नुको कारण स्पष्टसित बताउनुहोस्। उदाहरणको लागि, यस्ता प्रश्नहरू सोध्नुहोस्: इमानदार हुँदा कस्तो फाइदा हुन्छ? झूट बोल्दा साथीहरूसितको सम्बन्ध कसरी बिग्रन्छ? चोरी गर्नु किन खराब हो? छोराछोरीको मनसम्म पुग्न तिनीहरूसित राम्ररी तर्क गर्नुहोस्।
-
नैतिक स्तर पालन गर्दा हुने फाइदाहरू बताउनुहोस्। तपाईँ यसो भन्न सक्नुहुन्छ: “तिमी इमानदार भयौ भने अरूले तिमीलाई विश्वास गर्नेछन्,” “तिमी दयालु भयौँ भने अरूले तिमीलाई मन पराउने छन्।”
परिवारमा एउटै नैतिक स्तर कायम गर्नुहोस्।
बाइबलको सिद्धान्त: “तिमीहरू कस्ता मानिसहरू हौ, साबित गरिरहो।”—२ कोरिन्थी १३:५.
-
परिवारको प्रत्येक सदस्यले एउटै नैतिक स्तर पालन गरेको छ भने तपाईँ धक नमानी यसो भन्न सक्नुहुन्छ:
-
“हाम्रो परिवारमा कसैले झूट बोल्दैन।”
-
“हामी अरूलाई कुटपिट अनि गाली गर्दैनौँ।”
-
“हामी कसैलाई रुखो अनि घोचपेच गर्ने बोली बोल्दैनौँ।”
-
नैतिक स्तरहरू पालन गर्नै पर्ने नियमहरू मात्र होइन बरु त्यो आफ्नो परिवारको पहिचान हो भनेर तपाईँको छोराछोरीले बुझ्नेछन्।
-
आफ्नो परिवारले पालन गर्दै आएको नैतिक स्तरहरूबारे छोराछोरीसित बेलाबेलामा कुरा गर्नुहोस्। दैनिक जीवनका घटनाहरूलाई विषय बनाएर छोराछोरीलाई सिकाउनुहोस्। स्कुलका साथीहरूको अथवा टिभीमा देखाइने नैतिक स्तरहरूसित परिवारको नैतिक स्तर तुलना गर्नुहोस्। त्यसपछि छोराछोरीलाई यस्ता प्रश्नहरू सोध्नुहोस्, “तिमी भएको भए के गर्थ्यौ?” “यस्तो अवस्थामा हाम्रो परिवारले के गर्छ होला?”
सही काम गर्ने तिनीहरूको अडानलाई बलियो बनाउनुहोस्।
बाइबलको सिद्धान्त: “आफ्नो अन्तस्करण सफा बनाइराख।”—१ पत्रुस ३:१६.
-
असल बानीबेहोराको प्रशंसा गर्नुहोस्। यदि तपाईँको छोराछोरीले कुनै असल काम गऱ्यो भने तिनको प्रशंसा गर्नुहोस् र प्रशंसा गर्नुको कारण पनि बताउनुहोस्। उदाहरणको लागि, तपाईँ यसो भन्न सक्नुहुन्छ: “तिमीले राम्रो काम गऱ्यौ, म तिमीसित खुसी छु।” आफूले गरेको गल्ती स्वीकार गर्दा छोराछोरीको प्रशंसा गर्नुहोस्, त्यसपछि तिनलाई सुधार्नुहोस्।
-
छोराछोरीको नराम्रो बानी सुधार्नुहोस्। छोराछोरीलाई आफ्नो गल्तीको जिम्मा लिन सिकाउनुहोस्। तिनले कस्तो गल्ती गरे र परिवारको नैतिक स्तरसित त्यो किन मेल खाँदैन भनेर छोराछोरीले बुझ्नुपर्छ। केही आमाबुबा आफ्नो छोराछोरीको गल्ती देखाइदिएर तिनीहरूको चित्त दुखाउन चाहँदैनन्। तर आमाबुबाले छोराछोरीको गल्ती देखाइदिँदा तिनीहरूको अन्तस्करणले तालिम पाउँछ अनि पछि त्यस्तो गल्ती दोहोऱ्याउने छैनन्।