सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मद्यपानको वशमा नपर्न के गर्न सक्नुहुन्छ?

मद्यपानको वशमा नपर्न के गर्न सक्नुहुन्छ?

 केही मानिस तनाव हुँदा, एक्लो महसुस गर्दा वा दिक्क लाग्दा धेरै रक्सी पिउने गर्छन्‌। के तपाईँ पनि पहिलेभन्दा धेरै रक्सी पिउन थाल्नुभएको छ? यदि छ भने तपाईँ मद्यपानको वशमा नपर्न के गर्न सक्नुहुन्छ? केही व्यावहारिक तरिका विचार गरौँ।

 ठिक्क मात्रामा मद्यपान गर्नु भनेको के हो?

 बाइबल के भन्छ? “रक्सी धेरै पिउने मानिसहरूको सङ्‌गत नगर।”​—हितोपदेश २३:२०.

 ध्यान दिनुहोस्‌: ठिक्क मात्रामा पिउनु गलत हो भनेर बाइबलमा बताइएको छैन। (उपदेशक ९:७) तर ठिक्क मात्रामा पिउनु र अत्यधिक मात्रामा पिएर मात्तिनुबीचको भिन्‍नताबारे चाहिँ उल्लेख गरिएको छ। (लुका २१:३४; एफिसी ५:१८; तितस २:३) मात्तिनेगरि नपिए तापनि अत्यधिक मात्रामा रक्सी पिउँदा यसले तपाईँको निर्णय गर्ने क्षमता, तपाईँको स्वास्थ्य अनि अरूसितको सम्बन्धमा असर गर्न सक्छ।​—हितोपदेश २३:​२९, ३०.

 धेरै विज्ञका अनुसार ठिक्क मात्रामा रक्सी पिउनु र धेरै पिउनुबीच भिन्‍नता हुन्छ। यो कुरा कुनै व्यक्‍तिले दिनमा कति रक्सी पिउँछन्‌ अनि हप्तामा कति दिन पिउँछन्‌, त्यसको आधारमा निर्धारण गरिन्छ। a तर याद गर्नुपर्ने कुरा, रक्सीको असर सबै मानिसमा एकनासको हुँदैन। कसैलाई थोरै रक्सीले धेरै असर गर्न सक्छ भने कसैलाई खासै नगर्न पनि सक्छ। कुनै-कुनै अवस्थामा रक्सी पिउँदै नपिउनु नै बेस हुन्छ। विश्‍व स्वास्थ्य सङ्‌गठन यसो भन्छ:

 “एक वा दुई पेग पनि धेरै हुन सक्छ​—जस्तै:

  •   तपाईँले गाडी वा कुनै मेसिन चलाउनुपर्छ भने

  •   तपाईँ गर्भवती महिला हुनुहुन्छ वा स्तनपान गराउनुहुन्छ भने

  •   तपाईँले कुनै औषधी लिइरहनुभएको छ भने

  •   तपाईँको कुनै स्वास्थ्य समस्या छ भने

  •   तपाईँ आफूलाई काबूमा राख्न सक्नुहुन्‍न भने।”

 तपाईँ अत्यधिक मात्रामा रक्सी पिउँदै हुनुहुन्छ भनेर कसरी थाह पाउन सक्नुहुन्छ?

 बाइबल यसो भन्छ: “हामी आफैलाई नियालेर आफ्नो मार्ग जाँचौँ।”​—विलाप ३:४०.

 ध्यान दिनुहोस्‌: तपाईँले समय-समयमा आफ्नो रक्सी पिउने बानी जाँच्नुभयो र आवश्‍यकताअनुसार छाँटकाँट गर्नुभयो भने रक्सीले पार्ने असरहरूदेखि जोगिन सक्नुहुन्छ। तपाईँ अत्यधिक मात्रामा रक्सी पिउँदै हुनुहुन्छ भनेर निम्न कुराहरूबाट थाह पाउन सक्नुहुन्छ:

  •   तपाईँलाई खुसी हुनको लागि रक्सी नभई हुँदैन। तनाव कम गर्न, जमघट गर्न वा रमाइलो गर्न रक्सी नै चाहिन्छ जस्तो तपाईँलाई लाग्छ। साथै तपाईँ आफ्ना समस्याहरूसित जुझ्न पनि रक्सी पिउनुहुन्छ।

  •   तपाईँ पहिलेभन्दा धेरै पिउनुहुन्छ। तपाईँ पहिलेभन्दा धेरै रक्सी पिउनुहुन्छ। तपाईँ अझ कडा रक्सी पिउन थाल्नुभएको छ। साथै पहिले जति रक्सी पिउँदा तपाईँलाई मात लाग्थ्यो, अहिले त्यतिले लाग्दैन।

  •   तपाईँको पिउने बानीले घरमा वा काम गर्ने ठाउँमा समस्या खडा गरेको छ। उदाहरणको लागि, तपाईँ रक्सी किन्‍न आफ्नो औकातले भ्याउनेभन्दा धेरै पैसा खर्च गर्नुहुन्छ।

  •   तपाईँ रक्सी पिएपछि ठीकसित निर्णय गर्न सक्नुहुन्‍न। जस्तै, गाडी वा कुनै मेसिन चलाउँदा।

  •   तपाईँको पिउने बानी देखेर अरूले चिन्ता व्यक्‍त गर्छन्‌। अरूले ‘तपाईँ धेरै रक्सी पिउँदै हुनुहुन्छ’ भन्दा तपाईँ सफाइ दिन थाल्नुहुन्छ वा ठुस्स पर्नुहुन्छ। तपाईँ लुकीछिपी रक्सी पिउने गर्नुहुन्छ वा थोरै मात्र पिएको हुँ भनेर झूट बोल्नुहुन्छ।

  •   तपाईँलाई रक्सी पिउने बानी छुटाउन गाह्रो भइरहेको छ। लाख कोसिस गरे पनि तपाईँले रक्सी छोड्‌न सक्नुभएको छैन वा मात्रा घटाउन सक्नुभएको छैन।

 मद्यपानलाई नियन्त्रणमा राख्न मदत गर्ने पाँच सुझाव

 १. योजना बनाउनुहोस्‌।

 बाइबल यसो भन्छ: “मेहनती मानिसले बनाएको योजना सफल हुन्छ।”​—हितोपदेश २१:५.

 यसो गरे कसो होला? हप्तामा कुन-कुन दिन अनि कति रक्सी पिउने भनेर तोक्नुहोस्‌। कम्तीमा पनि हप्ताको दुई दिनचाहिँ रक्सी नपिउनुहोस्‌।

 रक्सीको प्रयोगबारे चेतना फैलाउने बेलायतको एउटा परोपकारी संस्था यसो भन्छ: “रक्सी पिउने लत बस्न नदिन कुनै-कुनै दिन रक्सी पटक्कै नपिउने सङ्‌कल्प गर्नुहोस्‌।”

 २. योजनाअनुसारै कदम चाल्नुहोस्‌।

 बाइबल यसो भन्छ: “तिमीहरूले जुन तत्परतासाथ यो काम सुरु गरेका थियौ, त्यही तत्परतासाथ पूरा पनि गर।”​—२ कोरिन्थी ८:११.

 यसो गरे कसो होला? कति रक्सी पिउनु ठीक हो भनेर बुझ्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँले ठिक्क मात्रामा रक्सी पिउन सक्नुहुनेछ। तपाईँलाई मन पर्ने रक्सी नमिसाइएका पेय पदार्थहरू सजिलै भेटिने ठाउँमा राख्नुहोस्‌।

 रक्सीको दुरुपयोग र मद्यपानसम्बन्धी अध्ययन-अनुसन्धान गर्ने अमेरिकाको एउटा संस्था यसो भन्छ: “स-साना छाँटकाँटले पनि तपाईँलाई यो कुलत छुटाउन ठूलो मदत गर्न सक्छ।”

 ३. आफ्नो निर्णयमा अडिग रहनुहोस्‌।

 बाइबल यसो भन्छ: “तिमीहरूको ‘हुन्छ’ चाहिँ ‘हुन्छ’ अनि ‘हुँदैन’ चाहिँ ‘हुँदैन’ नै होस्‌।”​—याकुब ५:१२.

 यसो गरे कसो होला? तपाईँले रक्सी नपिउने निर्णय गर्नुभएको छ भने कसैले तपाईँलाई रक्सी पिउन आग्रह गर्दा आफ्नो अडानबारे आदरपूर्वक बताउनुहोस्‌।

 रक्सीको दुरुपयोग र मद्यपानसम्बन्धी अध्ययन-अनुसन्धान गर्ने अमेरिकाको एउटा संस्था यसो भन्छ: “तपाईँले तुरुन्तै इन्कार गर्न सिक्नुभयो भने पासोमा पर्नुहुनेछैन।”

 ४. तपाईँको निर्णयले गर्दा हुने फाइदाबारे विचार गर्नुहोस्‌।

 बाइबल यसो भन्छ: “कुनै कुराको सुरुवातभन्दा त्यसको अन्त उत्तम हुन्छ।”​—उपदेशक ७:८.

 यसो गरे कसो होला? तपाईँ मद्यपानको वशमा पर्न नचाहनुको कारणहरूबारे एउटा सूची बनाउनुहोस्‌। जस्तै: तपाईँ मिठो निद्रा र सुस्वास्थ्य चाहनुहुन्छ अनि आर्थिक अवस्था र अरूसितको सम्बन्ध सुधार्न चाहनुहुन्छ। आफ्नो निर्णयबारे अरूसित कुरा गर्दा चुनौतीहरूको साटो आफ्नो निर्णयले गर्दा हुने फाइदाहरूबारे बताउनुहोस्‌।

 ५. परमेश्‍वरसित मदत माग्नुहोस्‌।

 बाइबल यसो भन्छ: “किनकि जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।”​—फिलिप्पी ४:१३.

 यसो गरे कसो होला? तपाईँ यो कुलतले गर्दा चिन्तित हुनुहुन्छ भने मदतको लागि परमेश्‍वरलाई प्रार्थना गर्नुहोस्‌। उहाँसित बल र आत्मसंयम विकास गर्न मदत माग्नुहोस्‌। b साथै यसबारे उहाँको वचन बाइबलमा पाइने व्यावहारिक सल्लाह खोज्न पनि समय निकाल्नुहोस्‌। तपाईँ मद्यपानको वशमा नपर्न यहोवाबाट मदत पाउन सक्नुहुन्छ।

a उदाहरणको लागि, अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागले बताएअनुसार “कुनै महिलाले एक दिनमा ४ वा सोभन्दा धेरै पेग अथवा हप्तामा ८ वा सोभन्दा धेरै पेग रक्सी पिउनु अनि कुनै पुरुषले एक दिनमा ५ वा सोभन्दा धेरै पेग अथवा हप्तामा १५ वा सोभन्दा धेरै पेग रक्सी पिउनु” हानिकारक हुन्छ। यो परिमाण देशअनुसार फरक-फरक हुन्छ। त्यसैले कति रक्सी पिउनु तपाईँको लागि ठिक्क मात्रा हुन्छ भनेर बुझ्न डाक्टरसित कुरा गर्नुहोस्‌।

b यदि तपाईँलाई यो कुलत छुटाउन गाह्रो भइरहेको छ भने विशेषज्ञको मदत लिनुपर्ने हुन सक्छ।