एफिसी ५:१-३३

  • शुद्ध बोली र आचरण (१-५)

  • ज्योतिका सन्तानझैँ चल (६-१४)

  • पवित्र शक्‍तिले भरिओ (१५-२०)

    • समयको पूर्ण सदुपयोग गर (१६)

  • पति र पत्नीका लागि सल्लाह (२१-३३)

 त्यसैले परमेश्‍वरका प्यारा छोराछोरीझैँ उहाँको देखासिकी गर्नेहरू होओ+ २  अनि जसरी ख्रिष्टले हामीलाई* प्रेम गर्नुभयो+ र हाम्रो* निम्ति आफूलाई मीठो बास्ना भएको भेटी अनि बलिदानको रूपमा परमेश्‍वरसामु अर्पण गर्नुभयो,+ त्यसरी नै तिमीहरू पनि प्रेमको बाटोमा हिँडिरहो।+ ३  जस्तो कि पवित्र जनहरूको निम्ति उचित हुन्छ,+ तिमीहरूमाझ अवैध यौनसम्बन्ध* अनि हरकिसिमका अशुद्धपन वा लोभको नामसमेत नलिइओस्‌;+ ४  लाजमर्दो आचरण, मूर्खताले भरिएको कुराकानी, अश्‍लील ठट्टा+ पनि तिमीहरूमाझ नहोस्‌ किनकि यस्ता कुराहरूले पवित्र जनलाई शोभा दिँदैन बरु तिमीहरू धन्यवाद दिने गर।+ ५  किनकि तिमीहरूलाई थाह छ अनि तिमीहरूले राम्ररी बुझेका पनि छौ कि अवैध यौनसम्बन्ध*+ राख्ने वा अशुद्ध काम गर्ने वा लोभी,+ जसको अर्थ मूर्तिपूजक हुनु हो, यिनीहरूमध्ये कोही पनि ख्रिष्ट अनि परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।+ ६  कुनै मानिसले तिमीहरूलाई खोक्रा वचनहरूद्वारा नबहकाओस्‌ किनभने यस्तै कुराहरूले गर्दा अनाज्ञाकारी सन्तानमाथि परमेश्‍वरको क्रोध आउँदै छ। ७  तसर्थ तिनीहरूका कामको भागीदार नबन ८  किनकि कुनै बेला तिमीहरू अन्धकारमा थियौ तर ख्रिष्टसित एकतामा भएकोले+ तिमीहरू अहिले ज्योतिमा छौ।+ त्यसैले ज्योतिका सन्तानझैँ हिँड ९  किनकि हरकिसिमका भलाइ, धार्मिकता* अनि सत्य नै ज्योतिको फल हो।+ १०  प्रभुलाई के स्वीकार्य छ, त्यो पक्का गरिरहो।+ ११  अनि तिनीहरूले गर्ने अन्धकारका निष्फल कामहरूमा भाग लिन छोड+ बरु तिनीहरूको पर्दाफास गरिदेओ। १२  किनकि तिनीहरू गुप्तमा जे गर्छन्‌, त्यो बताउनसमेत लाजमर्दो छ। १३  जति पनि कुराहरू पर्दाफास भइरहेका छन्‌, ज्योतिले गर्दा नै ती प्रकट भएका हुन्‌ किनकि प्रकट भइरहेको हरेक कुरा ज्योति हो। १४  त्यसैले यस्तो भनिएको छ: “ए सुतुवा, जाग अनि मृत्युबाट ब्युँत,+ तब ख्रिष्टले तिमीमाथि ज्योति छर्नुहुनेछ।”+ १५  त्यसैले कसरी हिँडिरहेका छौ, होसियार भई ध्यान देओ, तिमीहरू निर्बुद्धि मानिस जस्तोगरि होइन तर बुद्धिमान्‌ मानिस जस्तोगरि हिँड, १६  समयको पूर्ण सदुपयोग गर*+ किनभने हामी खराब समयमा बाँचिरहेका छौँ। १७  यसकारण अव्यावहारिक हुन छोड बरु यहोवा* परमेश्‍वरको इच्छा के हो, सो बुझिरहो।+ १८  साथै मद्य पिएर नमात्तिओ+ किनकि त्यसले दुराचारी* बनाउँछ बरु तिमीहरू पवित्र शक्‍तिले भरिँदै जाओ। १९  तिमीहरू भजन, परमेश्‍वरको स्तुतिगान र आध्यात्मिक गीतहरू* गाएर+ एकअर्कालाई* बलियो बनाओ अनि मनमनै धुन रच्दै+ यहोवा* परमेश्‍वरको भजन गाओ।+ २०  साथै हाम्रा परमेश्‍वर अनि बुबालाई हाम्रा प्रभु येसु ख्रिष्टको नाममा+ सबै कुराका लागि सधैँ धन्यवाद चढाइरहो।+ २१  ख्रिष्टको डर मान्दै एकअर्काको अधीनमा बस।+ २२  पत्नीहरू ख्रिष्टको अधीनमा बसेजस्तै आ-आफ्ना पतिको अधीनमा पनि बसून्‌+ २३  किनकि पत्नीको शिर पति हो,+ जसरी ख्रिष्ट पनि आफ्नो शरीर अर्थात्‌ मण्डलीको शिर+ अनि उद्धारक हुनुहुन्छ। २४  भनौँ भने मण्डली ख्रिष्टको अधीनमा बसेजस्तै पत्नीहरू पनि सबै कुरामा आ-आफ्ना पतिको अधीनमा बस्नुपर्छ। २५  हे पतिहरू हो, आ-आफ्नी पत्नीलाई प्रेम गरिरहो,+ जसरी ख्रिष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो+ २६  ताकि त्यसलाई परमेश्‍वरको वचनको पानीले धोएर पवित्र पार्न सकियोस्‌+ २७  र मण्डलीलाई त्यसको वैभवसहित आफूसामु यस्तो रूपमा प्रस्तुत गर्न सकियोस्‌, जसमा कुनै दाग लागेको वा चाउरी परेको वा कुनै किसिमको खोट लागेको नहोस्‌+ बरु पवित्र अनि निष्खोट होस्‌।+ २८  त्यसैगरि पतिहरूले आ-आफ्नी पत्नीलाई आफ्नो शरीरलाई जस्तै प्रेम गर्नुपर्छ। जसले आफ्नी पत्नीलाई प्रेम गर्छ, उसले आफूलाई प्रेम गर्छ २९  किनकि कुनै मानिसले आफ्नो शरीरलाई कहिल्यै घृणा गर्दैन बरु त्यसलाई त्यसरी नै खुवाउँछ अनि स्याहार्छ, जसरी ख्रिष्टले मण्डलीलाई गर्नुहुन्छ ३०  किनभने हामी उहाँकै शरीरका अङ्‌गहरू हौँ।+ ३१  “यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्‌छ अनि आफ्नी पत्नीसित बस्छ* र ती दुई एउटै शरीर हुन्छन्‌।”+ ३२  यो पवित्र रहस्य+ महान्‌ छ। म ख्रिष्ट र मण्डलीबारे कुरा गर्दै छु।+ ३३  तथापि तिमीहरू हरेकले आ-आफ्नी पत्नीलाई आफैलाई जस्तै प्रेम गर्नुपर्छ+ अनि पत्नीले पनि आफ्नो पतिको गहिरो आदर गर्नुपर्छ।+

फुटनोटहरू

वा सम्भवतः “तिमीहरूलाई।”
वा सम्भवतः “तिमीहरूको।”
ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
शा., “तोकिएको समय किन।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
वा “अनियन्त्रित।”
वा “उपासनाका गीतहरू।”
वा सम्भवतः “आफूलाई।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
यहाँ चलाइएको ग्रीक शब्दले गमले टाँसेजस्तै बलियोसित टाँसिनुलाई जनाउँछ।