सीधै सामग्रीमा जाने

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

“संसारको नराम्रो अवस्थालाई राम्रो बनाउन मैले नै केही गर्नुपर्छ जस्तो अहिले मलाई लाग्दैन”

“संसारको नराम्रो अवस्थालाई राम्रो बनाउन मैले नै केही गर्नुपर्छ जस्तो अहिले मलाई लाग्दैन”
  • जन्म मिति: सन्‌ १९६६

  • जन्मस्थान: फिनल्याण्ड

  • विगतमा: अधिकारकर्मी

मेरो विगत:

म सानैदेखि प्रकृतिप्रेमी थिएँ। हामी मध्य फिनल्याण्डको युभास्कुला भन्‍ने सहरमा बस्थ्यौँ र यसको चारैतिर बाक्ला जङ्‌गलहरू अनि सुन्दर तालहरू थिए। त्यहाँ हाम्रो परिवार अक्सर घुम्न जान्थ्यौँ। मलाई जनावरहरू पनि असाध्यै मन पर्छ। सानो छँदा म भेटेजति प्रत्येक बिरालो र कुकुरलाई बोक्न चाहन्थेँ। तर हुर्कँदै जाँदा मानिसहरूले जनावरहरूलाई दुर्व्यवहार गरेको देख्दा भने असाध्यै चित्त दुख्थ्यो। पछि म पशु अधिकार सङ्‌गठनमा सामेल भएँ र त्यहाँ मैले मजस्तै सोचाइ राख्ने मानिसहरू भेटेँ।

हामी पशु अधिकारको लागि जोडतोडले लागेका थियौँ। हामी जनावरको भुत्लाले बनाएका लुगाहरू बेच्ने पसलहरूको विरोधमा अनि पशु परीक्षण प्रयोगशालाहरूको विरोधमा विभिन्‍न जानकारीहरू वितरण गर्थ्यौँ अनि जुलुसमा निस्कन्थ्यौँ। हामीले पशुहरूको संरक्षणको लागि एउटा नयाँ सङ्‌गठन पनि बनायौँ। हामी पशु अधिकारको लागि असाध्यै उग्ररूपमा प्रस्तुत भएको कारण सरकारसित अक्सर मुठभेड भइरहन्थ्यो। म धेरै चोटि गिरफ्तार भएँ र मलाई अदालतमा हाजिर गराइयो।

जनावरहरूको सुरक्षाको अलावा संसारमा भइरहेका अरू समस्याहरूले पनि मलाई चिन्तित बनाएको थियो। समय बित्दै जाँदा म विभिन्‍न सङ्‌गठनमा सामेल भएँ, जस्तै: एम्नेस्टि इन्टरनेसनल र ग्रिनपिस। म गरिबहरू, भोकाहरू अनि जीवनमा त्यति मौका नपाएका मानिसहरूको पक्षमा बोल्थेँ।

तर संसारको नराम्रो अवस्थालाई राम्रो बनाउन सक्दिनँ भनेर मैले बिस्तारै बुझ्न थालेँ। ती सङ्‌गठनहरूले केही सानातिना समस्याहरू हटाउन सके तापनि ठूलठूला समस्याहरू भने झन्‌झनै नाजुक हुँदै गइरहेको थियो। कुनै दुष्ट शक्‍तिले पूरै संसारलाई निलिसकेको छ र कसैलाई कुनै कुराको वास्तै छैन जस्तो देखिन्थ्यो। मैले लाचार महसुस गरेँ।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?

असाध्यै लाचार भएकोले म निराश थिएँ। त्यसैले मैले परमेश्‍वर र बाइबलबारे सोच्न थालेँ। मैले पहिला यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरेको थिएँ। साक्षीहरू दयालु थिए र मलाई चासो देखाउँथे तैपनि म आफ्नो जीवनमा छाँटकाँट गर्न तयार थिइनँ। तर यसपालि भने मेरो अवस्था फरक थियो।

मैले आफ्नो बाइबल झिकेर पढ्‌न थालेँ। यसले मेरा घाउहरूमा साँच्चै मलहम लगाइदियो। जनावरहरूलाई दयालु व्यवहार गर्नुपर्छ भनेर सिकाउने थुप्रै कुरा बाइबलमा लेखिएको रहेछ भनेर मैले याद गरेँ। उदाहरणको लागि, हितोपदेश १२:१० यसो भन्छ: “धर्मी मानिसले आफूले पालेको जनावरको हेरविचार गर्छ।” संसारमा भइरहेका समस्याहरूको कारण परमेश्‍वर हुनुहुन्‍न रहेछ भनेर पनि मैले बुझेँ। तर धेरैजसो मानिसले परमेश्‍वरको निर्देशन पालन नगरेकोले हाम्रा समस्याहरू झन्‌झन्‌ नाजुक हुँदै गएको रहेछ भनेर मैले थाह पाएँ। यहोवाले देखाउनुभएको प्रेम र धीरजबारे सिक्दै जाँदा मेरो मनै छोयो।—भजन १०३:८-१४.

यही समयतिर मैले बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने किताबको एउटा कुपन भेट्टाएँ र त्यो भरेर पठाएँ। त्यसको केही समय नबित्दै एक साक्षी दम्पती मेरो घरमा आउनुभयो। उहाँहरूले बाइबल अध्ययन गर्ने प्रस्ताव राख्नुभयो र मैले स्विकारेँ। म सभाभवनमा हुने कार्यक्रमहरूमा पनि जान थालेँ। यसरी मेरो मनमा बाइबलको सत्यले बिस्तारै जरा गाड्‌न थाल्यो।

बाइबलको सत्य सिकेपछि मैले जीवनमा थुप्रै परिवर्तन गर्न सकेँ। मैले चुरोट खान र बेस्सरी रक्सी पिउन छोडेँ। म सफा र चिटिक्क बन्‍न थालेँ अनि फोहोर बोली बोल्न छोडेँ। सरकारप्रतिको मेरो धारणा पनि बदलेँ। (रोमी १३:१) मैले अनैतिक जीवन बिताउन छोडेँ किनभने यस सन्दर्भमा म आफूखुसी गर्थेँ।

नागरिक सङ्‌गठनहरूप्रति सन्तुलित दृष्टिकोण राख्न भने मलाई असाध्यै गाह्रो भयो। मेरो दृष्टिकोण परिवर्तन गर्न मलाई समय लाग्यो। ती सङ्‌गठनहरूबाट राजीनामा दिएँ भने मैले धोका दिइरहेको हुन्छु जस्तो लाग्थ्यो। हामीले भोगिरहेका समस्याहरूको एक मात्र समाधान परमेश्‍वरको राज्य हो भनेर मैले बुझेँ। त्यसैले परमेश्‍वरको राज्यलाई आफ्नो भएभरको शक्‍तिले समर्थन गर्ने र त्यसबारे अरू मानिसलाई बताउने निर्णय गरेँ।—मत्ति ६:३३.

मैले कसरी लाभ उठाएको छु?

म एक जना अधिकारकर्मी हुँदा मानिसहरूलाई केवल दुइटा समूहमा छुट्ट्याउँथेँ: असल मानिसहरू र खराब मानिसहरू। अनि मलाई खराब लाग्ने मानिसहरूविरुद्ध आवाज उठाइहाल्थेँ। तर बाइबलबाट सिक्दै जाँदा मैले अरू मानिसहरूलाई घृणा गर्न छोडेँ। बरु म सबै मानिसलाई येसुले जस्तै प्रेम देखाउन कोसिस गरिरहेको छु। (मत्ति ५:४४) म परमेश्‍वरको राज्यबारे सुसमाचार सुनाएर पनि मानिसहरूलाई प्रेम देखाउँछु। यस परोपकारी कामले गर्दा मानिसहरूको जीवनमा सुख र शान्ति छाएको अनि उनीहरूले साँचो आशा पाएको देख्दा मलाई खुसी लाग्छ।

कतिपय समस्याहरू समाधान गर्ने काम यहोवाकै हातमा छोडी दिँदा मैले मनोशान्ति पाएको छु। यहोवा हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। त्यसैले उहाँले जनावरहरू र मानिसहरूलाई सधैँभरि दुर्व्यवहार भोगिरहन दिनुहुनेछैन। उहाँले हाम्रो सुन्दर पृथ्वीलाई पनि विनाश हुन दिनुहुनेछैन। बरु अहिले भइरहेको सबै नराम्रो अवस्थालाई उहाँले आफ्नो राज्यमार्फत चाँडै सच्याउनुहुनेछ। (यसैया ११:१-९) यी सत्य कुराहरूबारे थाह पाउँदा र अरूलाई पनि त्यसमा विश्‍वास गर्न मदत दिँदा म अपार आनन्द पाउँछु। संसारको नराम्रो अवस्थालाई राम्रो बनाउन मैले नै केही गर्नुपर्छ जस्तो अहिले मलाई लाग्दैन।