सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आवरण लेख | आफ्नो काममा कसरी रमाउन सक्नुहुन्छ?

के कडा परिश्रम गर्ने जमाना गइसक्यो?

के कडा परिश्रम गर्ने जमाना गइसक्यो?

सामान ओसारपसार गरिदिने एउटा कम्पनीमा काम गर्ने एलेक्स ट्रकमा बाकस राख्दै छन्‌। तिनी सुस्केरा हाल्दै मनमनै सोच्छन्‌, ‘यो काम गरेर उँभो लागिएला जस्तो छैन। म कहिले सफल हुने? कामै गर्नु नपरे जीवन कत्ति रमाइलो हुन्थ्यो!’

एलेक्सजस्तै आज संसारमा थुप्रै मानिस कडा परिश्रम गर्न रुचाउँदैनन्‌। गाडी मर्मतको काम गर्ने आरोन यसो भन्छन्‌: “धेरैजसो मानिसहरू ‘निम्न स्तरको’ ठानिने काम आफ्नो लायकको छैन भनेर सोच्छन्‌। तिनीहरू भन्छन्‌: ‘म त राम्रो काम पाउनेबित्तिकै यो काम छोडिहाल्छु।’”

धेरै मानिसहरू कडा परिश्रम गर्न किन मन पराउँदैनन्‌? अक्सर सञ्चार माध्यममा “आदर्श” जीवन भनेको ऐस आरामको जिन्दगी हो भनेर देखाइन्छ। यही कुराले नै तिनीहरूको सोचाइलाई प्रभाव पारेको हुन सक्छ। मर्मतसम्भारको काम गर्ने मेथ्यु यसो भन्छन्‌: “जीविकोपार्जन गर्न तपाईंले कडा परिश्रम गर्नुपरेको छ भने तपाईं सफल हुनुहुन्‍न भनेर मानिसहरू सोच्छन्‌।” घरको रेखदेखको काम गर्ने शेन पनि यो कुरामा सहमत छन्‌। तिनी भन्छन्‌: “आजकालका मानिसहरू थोरै परिश्रम गरेर धेरै पैसा कमाउन चाहन्छन्‌।”

अर्कोतर्फ थुप्रै सफल व्यक्‍तिहरू कडा परिश्रम गर्न मन पराउँछन्‌। निर्माणकार्यमा काम गर्ने २५ वर्षे डानियल यसो भन्छन्‌: “काममा कडा मेहनत गर्नेले इनाम पाउँछ। विशेषगरि, अर्थपूर्ण उद्देश्‍यले गर्दै छ भने।” तेइस वर्षे आन्ड्रे पनि यसो भन्छन्‌: “मेरो विचारमा हामी जीवनमा कति आनन्दित हुन्छौं, त्यो कुरा हाम्रो काममा पनि भर पर्छ। थोरै मात्र काम गर्ने वा कम परिश्रम गर्छौं भने केही समयको लागि त रमाइलो होला, तर लामो समयपछि भने हामीलाई दिक्क लाग्न सक्छ।”

डानियल र आन्ड्रेजस्ता मानिसहरूले कसरी कडा परिश्रमलाई सकारात्मक दृष्टिकोणले हेर्न सिके? तिनीहरूले बाइबलबाट सिकेका सिद्धान्तहरूलाई आफ्नो व्यवहारमा उतारे। बाइबलले अल्छी हुन सिकाउँदैन, बरु कडा परिश्रम गर्न र लगनशील हुन प्रोत्साहन दिन्छ। तर बाइबलले हामीलाई काम गर्नुपर्छ भनेर मात्र सिकाउँदैन। यसले हामीलाई आफ्नो काममा कसरी रमाउने भनेर पनि सिकाउँछ।

बाइबलका कुन सिद्धान्तहरूले तपाईंलाई आफ्नो काममा सन्तुष्ट हुन मदत गर्छ? कृपया यसपछिको लेखमा बाइबलका केही सिद्धान्तबारे पढ्‌नुहोस्‌।