सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 छिमेकीसित कुराकानी

परमेश्वरको राज्यले कहिलेदेखि शासन गर्न थाल्यो? (भाग २)

परमेश्वरको राज्यले कहिलेदेखि शासन गर्न थाल्यो? (भाग २)

एक जना यहोवाको साक्षी र छिमेकीबीच हुन सक्ने कुराकानी तल दिइएको छ। कल्पना गर्नुहोस्, गगन नाम गरेका एक जना यहोवाका साक्षी प्रकाश भन्ने मान्छेलाई फेरि भेटेर यो कुराकानी गर्छन्‌।

नबूकदनेसरको सपनाको छोटो सारांश

गगन: प्रकाशजी, तपाईंलाई फेरि भेटेर खुसी लाग्यो। हप्तैपिच्छे तपाईंसित बाइबल अध्ययन गर्न पाउँदा मलाई रमाइलो लाग्छ। * अनि तपाईंको हालखबर कस्तो छ त?

प्रकाश: ठीक छ।

गगन: अस्ति हामीले यहोवाका साक्षीहरू परमेश्वरको राज्यले सन्‌ १९१४ मा शासन गर्न थाल्यो भनी किन विश्वास गर्छन्‌ भनेर छलफल गरेका थियौं। * अनि बाइबलको दानियल अध्याय ४ मा भएको भविष्यवाणीमा यो कुराको प्रमाण पाइन्छ भनेर पनि कुरा गरेका थियौं। तपाईंलाई याद छ?

प्रकाश: हजुर, त्यो भविष्यवाणीमा राजा नबूकदनेसरले सपनामा एउटा बडेमाको रूख देखे भनेर लेखिएको थियो।

गगन: एकदमै ठीक भन्नुभयो। सपनामा नबूकदनेसरले एउटा बडेमाको रूख बढेर आकाशसम्मै पुगेको देखे। त्यसपछि परमेश्वरका दूतले त्यस रूखलाई काट्ने आदेश दिएको तिनले सुने। तर त्यस रूखको ठुटोचाहिं जरैसमेत जमिनमा बाँकी राख्ने निर्देशन दिइयो। “सात काल” बितिसकेपछि त्यो रूख फेरि बढ्ने थियो। * अनि यो भविष्यवाणीको दुइटा पूर्ति छ भनेर पनि हामीले बुझेका थियौं। पहिलो पूर्ति के थियो, तपाईंलाई सम्झना छ?

प्रकाश: त्यो भविष्यवाणी पहिला त राजा नबूकदनेसरमै पूरा भयो नि, होइन? तिनले सात वर्षसम्म मानसिक सन्तुलन गुमाएका थिए।

गगन: हो, ठीक भन्नुभयो। नबूकदनेसरले केही समयको लागि मानसिक सन्तुलन गुमाएकोले तिनको शासन रोकियो। तर भविष्यवाणीको दोस्रो पूर्तिमा चाहिं पृथ्वीमाथि परमेश्वरको शासन सात कालको लागि रोकिने थियो। यो सात काल ईसापूर्व ६०७ मा यरूशलेमको विनाश हुँदा सुरु भयो भनेर हामीले बुझेका थियौं। त्यस सालपछि यहोवा परमेश्वरको शासनको प्रतिनिधित्व गर्ने कुनै पनि राजा यस पृथ्वीमा थिएन। तर सात कालको अन्तमा परमेश्वरले आफ्ना जनहरूमाथि शासन गर्नको निम्ति स्वर्गमा एक जना नयाँ शासक नियुक्त गर्नुहुने थियो। अर्को शब्दमा भन्ने हो भने सात कालको अन्त भएपछि परमेश्वरको स्वर्गीय राज्यले शासन गर्न थाल्ने थियो। सात काल कहिले सुरु भयो भनेर त हामीले बुझिसक्यौं। त्यसैले सात काल कति लामो समय हो भनेर थाह पाउन सक्यौं भने परमेश्वरको राज्यले कहिलेदेखि शासन गर्न थाल्यो भनेर बुझ्नेछौं। अहिलेसम्म मैले भनेको कुरा बुझ्दै हुनुहुन्छ?

प्रकाश: अँ, बुझ्दै छु। तपाईंले भन्नुभएको कुराले अस्ति हामीले छलफल गरेको कुरा सम्झन मदत गऱ्यो।

गगन: धेरै राम्रो। त्यसोभए अब हामी सात काल कति लामो समय हो भनेर विचार गरौं। यस विषयका केही मुख्य बुँदा याद गर्न मैले पनि तयारी गरेको थिएँ। तपाईंलाई पनि ती कुराहरू सकेसम्म राम्ररी बुझाउने कोसिस गर्छु।

प्रकाश: हुन्छ।

 सात कालको अन्त—अन्तको दिनको सुरुवात

गगन: भविष्यवाणी पहिलो पटक नबूकदनेसरमा पूरा हुँदा सात काल भनेको सात वर्ष थियो। तर भविष्यवाणीको दोस्रो पूर्ति, जुन परमेश्वरको राज्यसित सम्बन्धित छ, यस सन्दर्भमा भने सात कालले सात वर्षभन्दा निकै लामो समयलाई बुझाउँछ।

प्रकाश: तपाईं के आधारमा त्यसो भन्नुहुन्छ?

गगन: पहिलो कुरा त सात काल ईसापूर्व ६०७ मा यरूशलेमको विनाश हुँदा सुरु भएको थियो। त्यस समयदेखि सात वर्ष गन्यौं भने हामी ईसापूर्व ६०० मा आइपुग्छौं। तर ईसापूर्व ६०० मा त परमेश्वरको राज्यसित सम्बन्धित कुनै खास घटना भएन। त्यति मात्र नभई सयौं वर्षपछि येशू पृथ्वीमा हुनुहुँदा उहाँले त्यस बेलासम्म पनि सात कालको अन्त भएको थिएन भनेर बताउनुभएको थियो। यस विषयमा पनि हामीले अस्ति छलफल गरेका थियौं नि, तपाईंलाई याद छ?

प्रकाश: अँ, याद आयो।

गगन: त्यसैले सात काल भनेको सात वर्ष मात्र होइन बरु एउटा लामो समयावधि हो।

प्रकाश: कति लामो?

गगन: दानियल किताबसित सम्बन्धित बाइबलको अर्को किताब प्रकाशले सात काल कति लामो समय हो भनेर बुझ्न मदत गर्छ। यस किताबमा साढे तीन काललाई १,२६० दिन हो भनी बताइएको छ। * त्यसैले सात काल भनेको साढे तीन कालको दुई गुना अर्थात्‌ २,५२० दिन हुन आउँछ। तपाईं बुझ्दै हुनुहुन्छ नि, हैन?

प्रकाश: म बुझ्दै छु। तर यो कुराले परमेश्वरको राज्यले सन्‌ १९१४ मा शासन गर्न थाल्यो भनेर कसरी देखाउँछ त?

गगन: त्यसोभए यी कुराहरू कसरी एकआपसमा सम्बन्धित छ भनेर बुझ्ने कोसिस गरौं। बाइबल भविष्यवाणीमा कहिलेकाहीं एक दिनले एक वर्षलाई बुझाउँछ। * यो कुरालाई आधार मान्दै हिसाब गर्ने हो भने सात काल भनेको २,५२० वर्ष हुन्छ। अनि ईसापूर्व ६०७ देखि २,५२० वर्ष गन्दै लैजाँदा हामी ठ्याक्कै सन्‌ १९१४ मा आइपुग्छौं। * यसरी हामी सात कालको अन्त भएको र परमेश्वरको राज्यको राजाको रूपमा येशूले शासन गर्न थाल्नुभएको समय सन्‌ १९१४ हो भनेर बुझ्छौं। त्यतिमात्र नभई सन्‌ १९१४ देखि संसारमा ठूलठूला घटनाहरू पनि भइरहेका छन्‌, जुन घटनाहरू अन्तको दिनमा हुनेछ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो।

प्रकाश: कस्ता घटनाहरू?

गगन: मत्ती २४:७ मा लेखिएका येशूका शब्दहरूलाई विचार गरौं न। आफूले स्वर्गमा शासन गर्न थाल्दा हुने घटनाहरूबारे उहाँले यसो भन्नुभयो: “किनकि जातिको विरुद्धमा जाति अनि राज्यको विरुद्धमा राज्य उठ्नेछ र ठाउँ-ठाउँमा अनिकाल र भूकम्प हुनेछ।” येशूले अनिकाल र भूकम्प हुनेछ भनी भविष्यवाणी गर्नुभएको कुरा याद गर्नुहोस्। बितेको सय वर्षमा मानिसहरूले यस्तै समस्याहरू भोगेका छन्‌ नि, होइन र?

प्रकाश: त्यो त हो।

गगन: यही बाइबल पदमा येशूले आफू परमेश्वरको राज्यमा राजा हुँदा युद्धहरू हुनेछ भनेर पनि भविष्यवाणी गर्नुभएको थियो। अनि बाइबलको प्रकाश भन्ने किताबमा अन्तको समयमा हुने यी युद्धहरू सानातिना नभई सारा संसारलाई असर गर्ने युद्धहरू हुन्‌ भनी पहिल्यै बताइएको थियो। * पहिलो विश्वयुद्ध कहिले भयो, तपाईंलाई याद छ?

प्रकाश: पहिलो विश्वयुद्ध त सन्‌ १९१४ मा भएको थियो। ओहो! तपाईंले बताएअनुसार येशूले शासन गर्न थाल्नुभएको समय पनि यही नै रहेछ। यी कुराहरू एकआपसमा यसरी सम्बन्धित छन्‌ भनेर मैले पहिला कहिल्यै सोचेको थिइनँ।

गगन: सात कालको भविष्यवाणी अनि अन्तको दिनको  विषयमा गरिएका अरू थुप्रै भविष्यवाणीहरू एकआपसमा कसरी सम्बन्धित छन्‌ भनेर विचार गऱ्यौं भने हामी यो कुरा राम्ररी बुझ्न सक्छौं। सन्‌ १९१४ मा येशूले परमेश्वरको राज्यको राजाको रूपमा शासन गर्न थाल्नुभयो र त्यही वर्षमा अन्तको दिन पनि सुरु भयो भन्ने कुरामा यहोवाका साक्षीहरू विश्वस्त छन्‌। *

प्रकाश: तपाईंले भन्नुभएका कुराहरू म अझै राम्ररी बुझ्ने प्रयास गर्दै छु।

गगन: म तपाईंको कुरा बुझ्छु। मैले पहिला पनि भनेको थिएँ, मलाई यी सबै कुरा बुझ्न केही समय लागेको थियो। तर आजको हाम्रो छलफलले बाइबलमा सन्‌ १९१४ उल्लेख नगरिएको भए तापनि यहोवाका साक्षीहरूको विश्वास धर्मशास्त्रमै आधारित भनेर बुझ्न तपाईंलाई पक्कै मदत गऱ्यो होला।

प्रकाश: हो। तपाईंहरूको यही कुरा मलाई मनपर्छ। तपाईंहरू सधैं आफ्नो विचार नभई बाइबलमा आधारित कुराहरू मात्रै सिकाउनुहुन्छ। तर बाइबलको कुरा बुझ्न किन यत्ति गाह्रो? परमेश्वरले किन बाइबलमा सीधै येशूले स्वर्गमा शासन थाल्ने वर्ष सन्‌ १९१४ हो भनी बताउनुभएन?

गगन: प्रकाशजी, तपाईंले धेरै राम्रो प्रश्न गर्नुभयो। साँच्चै भन्ने हो भने बाइबलमा सीधै अर्थ खुलाएर नलेखिएका थुप्रै कुराहरू छन्‌। मानिसहरूले बुझ्न निकै कोसिस गर्नुपर्ने तरिकामा परमेश्वरले किन बाइबल लेख्न लगाउनुभयो? अर्को पटक आउँदा यसबारे कुरा गरे कसो होला?

प्रकाश: भइहाल्छ नि।

तपाईंलाई छलफल गर्न मन लागेको कुनै बाइबल विषय छ? यहोवाका साक्षीहरूको कुनै विश्वास वा गतिविधिबारे तपाईं जान्न चाहनुहुन्छ कि? यदि त्यसो हो भने कुनै एक जना यहोवाका साक्षीलाई सोध्न नहिचकिचाउनुहोस्। तिनीहरू यस्ता विषयमा तपाईंसित छलफल गर्न खुसी हुनेछन्‌।

^ अनु. 5 निश्शुल्क बाइबल अध्ययन कार्यक्रममार्फत यहोवाका साक्षीहरू मानिसहरूसित व्यवस्थित रूपमा बाइबलबारे छलफल गर्छन्‌।

^ अनु. 7 यसै पत्रिकाको अक्टोबर १, २०१४ अङ्कमा “छिमेकीसित कुराकानी—परमेश्वरको राज्यले कहिलेदेखि शासन गर्न थाल्यो?—भाग १” शीर्षक भएको लेख हेर्नुहोस्।

^ अनु. 9 दानियल ४:२३-२५ हेर्नुहोस्।

^ अनु. 24 “नबूकदनेसरले देखेको रूखको सपना” भन्ने चार्ट हेर्नुहोस्।

^ अनु. 28 प्रकाश ६:४ हेर्नुहोस्।

^ अनु. 30 यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ९ हेर्नुहोस्।