सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

अन्याय र अपराध विरुद्ध म आफ्नै युद्ध लड्दै थिएँ

अन्याय र अपराध विरुद्ध म आफ्नै युद्ध लड्दै थिएँ
  • जन्म मिति: १९६०

  • जन्म स्थान: लेबनान

  • विगतमा: कुङ्फु च्याम्पियन

मेरो विगत:

म इजरायल र लेबनानको सीमामा पर्ने रमेस भन्ने सहरमा हुर्कें। त्यतिबेला त्यहाँ गृहयुद्ध चर्कंदै थियो। मलाई अझै पनि याद छ, जमिनमुनि बिछ्याइएको बम विस्फोटले गर्दा धेरै निर्दोष व्यक्तिहरू अङ्गभङ्ग हुन्थे। जीवन जिउन निकै गाह्रो थियो अनि अपराध र हिंसा जताततै फैलिएको थियो।

मेरो परिवार एउटा क्याथोलिक चर्चको सदस्य थियो। हामी परिवारमा १२ जना थियौं र बुबा हाम्रो परिवारको लालनपालन गर्नमै व्यस्त हुनुहुन्थ्यो। आमा भने हामी सबै छोराछोरीलाई चर्चमा जान लगाउनुहुन्थ्यो। तर समय बित्दै जाँदा, आम मानिसहरूले कमजोरहरूलाई केही मदत गर्न नसकेझैं चर्चले पनि केही गर्न सक्दैन जस्तो मलाई लाग्न थाल्यो।

किशोर छँदा मलाई कुङ्फु खेल्न निकै रहर लाग्यो। मैले त्यसको लागि कडा तालिम पनि लिएँ। हातखुट्टा चलाएर प्रहार गर्न अनि कुङ्फुको हतियारहरू चलाउन म निकै सिपालु भएँ। ‘म युद्ध रोक्न त नसकूँला, तर कम से कम हिंस्रक मानिसहरूलाई त रोक्न सक्छु’ जस्तो मलाई लाग्थ्यो। म रिसाहा स्वभावको थिएँ। सानोतिनो कुरामा समेत मलाई रिस उठ्थ्यो। त्यसैले कोही झगडा गरिरहेको देख्ने बित्तिकै म तिनीहरूलाई रोक्न तम्सिन्थें। अन्याय र अपराध विरुद्ध म आफ्नै युद्ध लड्दै थिएँ। त्यसैले दक्षिण लेबनानका सबै मानिस मदेखि डराउँथे।

सन्‌ १९८० मा म बेरूत भन्ने ठाउँको एउटा कुङ्फु क्लबको सदस्य बनें। त्यहाँ दिनहुँ बम विस्फोट, तोप र रकेट आक्रमण हुन्थ्यो। तैपनि म तालिमको लागि धाइराख्थें। म चिनियाँ मूलका अमेरिकी नायक र कुङ्फु च्याम्पियन ब्रुस लिको लवाइ खवाइ नक्कल गर्थें। तिनको जस्तै कपाल पाल्ने, हिंड्ने र कुङ्फु खेल्दा चिच्याउने गर्थें। म कहिल्यै मुस्कुराउँदिन थिएँ।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?

मेरो लक्ष्य भनेको चीनमा गएर कुङ्फुलाई आफ्नो पेसा बनाउनु थियो। एक साँझको कुरा हो, चीन जानको लागि म कुङ्फुको कडा अभ्यास गर्दै थिएँ। त्यति नै खेर कसैले मेरो ढोका ढकढकायो। मेरो साथी दुईजना यहोवाका साक्षीहरूसित आएको रहेछ। म कुङ्फु खेल्दा लगाउने कालो लुगामा थिएँ, पसिनाले निथ्रुक्क भिजेको थिएँ अनि मैले भने: “मलाई बाइबलको विषयमा केही थाह छैन।” त्यही  क्षणदेखि मेरो जीवनमा आमूल परिवर्तन आउँदैछ भनेर मलाई थाहै थिएन।

मानिसहरूले आफ्नै भरमा अन्याय र हिंसा पूर्णरूपमा हटाउन कहिल्यै नसक्नुको कारण ती साक्षीहरूले मलाई बाइबलबाट देखाए। यस्ता समस्याहरूको मुख्य कारण सैतान अर्थात्‌ दियाबल हो भनेर तिनीहरूले बताए। (प्रकाश १२:१२) ती साक्षीहरूको शान्त व्यवहार र आत्मविश्वास देखेर म निकै प्रभावित भएँ। तिनीहरूले परमेश्वरको नाउँ छ भनेर बताउँदा मेरो मन छोयो। (मर्कूस १२:२९) तिनीहरूले १ तिमोथी ४:८ पनि देखाए। त्यसमा यस्तो भनिएको छ: “किनकि शारीरिक तालिमबाट केही फाइदा त हुन्छ तर परमेश्वरको भक्तिबाट भने सबै कुरामा फाइदा हुन्छ, किनकि त्यसमा वर्तमान र भावी दुवै जीवनमा पाइने आशिष्‌हरूको प्रतिज्ञा समावेश हुन्छ।” ती शब्दहरूले मेरो जीवनमा अमेट छाप पाऱ्यो।

अफसोस! मेरो परिवारले यहोवाका साक्षीहरूलाई नआउनू भन्यो। त्यसैले साक्षीहरूसित मेरो भेट हुन सकेन। तैपनि मैले कुङ्फु खेल्न छोड्ने र बाइबल अध्ययन गर्ने निर्णय गरें। हुन त मेरा दाजुभाइहरूलाई यो कुरा फिटिक्कै मन परेन। तर मैले यहोवाका साक्षीहरूलाई भेटेर बाइबल अध्ययन सुरु गर्ने दृढ निश्चय गरिसकेको थिएँ।

यहोवाका साक्षीहरूलाई मैले खोजिरहें तर भेट्न सकिनँ। त्यही समयतिर मेरो बुबाको अचानक मृत्यु भयो र परिवारमा अरू थुप्रै दुःखद घटनाहरू पनि घटे, जसले गर्दा म असाध्यै निराश भएँ। त्यतिखेर म एउटा निर्माण कम्पनीमा काम गर्दै थिएँ। मसँगै काम गर्ने आडेल नाम गरेका साथीले एकदिन मलाई ‘तपाईं किन निराश देखिनुहुन्छ’ भनेर सोधे। आडेलले बाइबलले दिने पुनर्जीवनको आशाबारे बताए। त्यसपछि नौ महिनासम्म यी मायालु यहोवाको साक्षीले धैर्य गर्दै मलाई बाइबल अध्ययन गराए।

बाइबल अध्ययन गर्दै जाँदा मैले आफ्नो व्यक्तित्वमा ठूलो परिवर्तन ल्याउनुपर्छ भनेर बुझें। यसो गर्नु सजिलो थिएन। म सानातिना कुरामा पनि झनक्क रिसाउँथें र चिढिन्थें। बाइबलले मलाई आफ्नो रिस कम गर्न सिकायो। उदाहरणको लागि मत्ती ५:४४ मा येशूको यो सल्लाह उल्लेख गरिएको छ: “आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो र तिमीहरूको खेदो गर्नेहरूका लागि प्रार्थना गरिरहो।” साथै रोमी १२:१९ ले यस्तो चेतावनी दिन्छ: “साटो नफेर, . . . किनकि यस्तो लेखिएको छ: ‘“बदला लिने काम मेरो हो; म प्रतिशोध लिनेछु,” यहोवा भन्नुहुन्छ।’” यी र अन्य बाइबल पदहरूले मलाई बिस्तारै शान्त स्वभावको हुन मदत गऱ्यो।

मैले कसरी लाभ उठाएको छु?

यहोवाका साक्षीहरूसँग अध्ययन गर्न पहिला मेरो परिवारले विरोध गर्थ्यो। तर अहिले भने उनीहरू यहोवाका साक्षीहरूको आदर गर्छन्‌। मेरो एकजना भाइ यहोवाको साक्षी बनेका छन्‌। मेरी आमा बितिसक्नुभयो तर उहाँले पनि आफ्नो मृत्युसम्मै हाम्रो विश्वासको समर्थन गर्नुभयो।

यहोवाले मलाई प्रशंसायोग्य अनि वफादार पत्नी पनि दिनुभएको छ। अहिले म र मेरी श्रीमती अनिता पूर्ण-समय सेवा गर्दैछौं। सन्‌ २००० देखि अनिता र म स्वीडेनको एस्किलस्टुना सहरमा बसोबास गर्दैछौं। यहाँ अरबी भाषा बोल्ने थुप्रैलाई बाइबलको कुरा सिकाउँदैछौं।

हिंसाका कारण दुःख पाइरहेका मानिसहरूलाई देख्दा अझै पनि मेरो मन चसक्क दुख्छ। तर हिंसाको मुख्य कारण थाह पाएकोले अनि परमेश्वरले छिट्टै यसको अन्त गर्नुहुन्छ भनेर बुझेकोले मैले साँचो आनन्द र मनोशान्ति पाएको छु।—भजन ३७:२९.

म र मेरी श्रीमती प्रचारको काममा असाध्यै खुसी छौं। अरूलाई यहोवा परमेश्वरबारे सिकाउन हामीलाई साह्रै मनपर्छ