सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आध्यात्मिक आवश्‍यकता पूरा गर्नुहोस्‌

आध्यात्मिक आवश्‍यकता पूरा गर्नुहोस्‌

पाँचौं रहस्य

आध्यात्मिक आवश्‍यकता पूरा गर्नुहोस्‌

बाइबलले के सिकाउँछ? “धन्य आत्मामा दरिद्र हुनेहरू।”—मत्ती ५:३.

चुनौती के हो? संसारमा हजारौं धर्म छन्‌ अनि त्यसमध्ये थुप्रैले आध्यात्मिक आवश्‍यकता पूरा गर्ने सन्दर्भमा दिने शिक्षा एक-अर्कासित मेल खाँदैनन्‌। यीमध्ये कुनचाहिं धर्मले सत्य कुरा सिकाउँछ अनि परमेश्‍वरलाई साँच्चै खुसी बनाउँछ भनेर तपाईं कसरी थाह पाउन सक्नुहुन्छ? कतिपय प्रख्यात लेखकहरू परमेश्‍वरमा विश्‍वास गर्नु र उहाँप्रति भक्‍त हुनु अतार्किक मात्र होइन, हानिकारक पनि छ भन्‍ने दाबी गर्छन्‌। म्याक्लिन्स पत्रिकाले एक प्रख्यात नास्तिकको धारणा यसरी संक्षेपमा बताउँछ: “हामीले हेर्न, सुन्‍न वा छुन सक्ने अनि विज्ञानले प्रमाणित गर्न सक्ने कुराबाहेक अरू पनि केही छ भन्‍ने ख्रीष्टियान धारणाले हाम्रो जीवनको मूल्य घटाउँछ अनि हामीलाई अझ हिंस्रक कार्यहरू गर्नतिर धकेल्छ।”

तपाईं के गर्न सक्नुहुन्छ? परमेश्‍वरको अस्तित्व छ भन्‍ने प्रमाण जाँच्नुहोस्‌। (रोमी १:२०; हिब्रू ३:४) तल दिइएजस्ता महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ खोज्नदेखि कसैले तपाईंलाई नरोकोस्‌: हामी यहाँ किन छौं? मरेपछि के हुन्छ? यति धेरै दुःखकष्ट हुनुको कारण के हो? परमेश्‍वर मबाट के चाहनुहुन्छ? सधैंभरि सन्तुष्ट रहिरहन यी प्रश्‍नहरूका चित्तबुझ्दो जवाफ पाउनु अपरिहार्य छ।

तर अरूले भनेको जुनसुकै कुरामा अन्धाधुन्ध विश्‍वास नगर्नुहोस्‌। आफ्नो सोचविचार गर्ने क्षमता चलाएर परमेश्‍वरलाई मनपर्ने कुरा के हो, सो जाँचेर पत्ता लगाउन उहाँको वचन तपाईंलाई प्रोत्साहन दिन्छ। (रोमी १२:१, २) तपाईंको यस्तो प्रयास खेर जानेछैन। तपाईंले बाइबलको अध्ययन गर्न समय निकाल्नुभयो र यसका व्यावहारिक सल्लाह पालन गर्नुभयो भने समस्याहरूमा फस्नुहुनेछैन, चिन्ता घट्‌नेछ अनि जीवनको आनन्द अझ बढ्‌नेछ। यो कुनै खोक्रो प्रतिज्ञा होइन। विभिन्‍न पृष्ठभूमिका लाखौं मानिसले परमेश्‍वर र उहाँका उद्देश्‍यबारे सत्य कुरा सिकेर लाभ उठाएका छन्‌।

बाइबलको बुद्धिमानी सल्लाह पालन गरेर लाभ उठाउनुहुँदा परमेश्‍वरप्रति तपाईंको भक्‍ति पनि बढ्‌दै जानेछ। यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्ने निम्तो स्वीकार्नुभए कसो होला? यस्तो निम्तो स्वीकार्नुभयो भने तपाईं पनि प्रेरित पावलका यी शब्दहरूसित सायद सहमत हुनुहुनेछ: “सन्तुष्टता सहितको भक्‍तिनै ठूलो लाभ हो।”—१ तिमोथी ६:६. ( w10 -E 11/01)

[पृष्ठ ८-मा भएको चित्र]

परमेश्‍वरलाई मनपर्ने कुरा के हो, सो जाँचेर पत्ता लगाउनुहोस्‌