सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आवरण लेख

किशोरकिशोरीलाई हुने डिप्रेसन—यो किन हुन्छ? केले मदत गर्न सक्छ?

किशोरकिशोरीलाई हुने डिप्रेसन—यो किन हुन्छ? केले मदत गर्न सक्छ?

साहाना * भन्छिन्‌, “डिप्रेसनले छोपेको बेला मलाई केही पनि गर्न मन लाग्दैन। अरू बेला एकदमै रमाइलो लाग्ने काम पनि गर्न मन लाग्दैन। खाली सुत्न मात्र मन लाग्छ। आफू बेकामको भएको र अरूको लागि बोझ भएको जस्तो लाग्छ।”

पुनम भन्छिन्‌, “म आत्महत्या गर्नेबारे सोच्ने गर्थें। मर्न मन लागेकोले त होइन, तर बेकारको महसुस गर्नदेखि मुक्त हुन चाहन्थें। हुन त म अरूको ख्याल राख्ने स्वभावकी छु तर डिप्रेसन भएको बेलाचाहिं कसैलाई पनि वास्ता गर्दिनँ।”

साहाना र पुनमले किशोरावस्थामा छँदै पहिलो पटक डिप्रेसनको सामना गरेका थिए। अरू जवानहरू पनि कहिलेकाहीं निराश हुन सक्छन्‌ तर साहाना र पुनमलाई चाहिं हप्तौं वा महिनौंसम्म डिप्रेसन हुन्थ्यो। साहाना भन्छिन्‌, “आफू एकदमै गहिरो अनि अँध्यारो खाल्टोमा फसेझैं लाग्थ्यो। दिमाग नै ठीक ठाउँमा नभएको जस्तो लाग्थ्यो।”

थुप्रैले साहाना र पुनमको जस्तै अवस्था सामना गरिरहेका छन्‌। डिप्रेसन भएका किशोरकिशोरीहरूको सङ्‌ख्या अकासिंदो छ। विश्व स्वास्थ्य सङ्‌गठनका अनुसार “१० देखि १९ वर्षका केटाकेटीहरू बिरामी वा असक्त हुनुको मुख्य कारण नै डिप्रेसन हो।”

डिप्रेसनका लक्षणहरू किशोरावस्थामै देखा पर्न सक्छन्‌। यस्ता लक्षणहरूमा भोक, निद्रा र तौलमा आउने परिवर्तनहरू पर्छन्‌। निराश हुने, दुःखी महसुस गर्ने र आफूलाई बेकम्मा ठान्नेजस्ता नकारात्मक भावना पनि आउन सक्छ। अन्य लक्षणहरू यस्ता हुन सक्छन्‌: एक्लोपन महसुस गर्ने, ध्यान दिन वा सम्झन गाह्रो हुने, आत्महत्या गर्ने विचार आउने वा त्यसो गर्न प्रयास गर्ने आदि। कुनै व्यक्तिमा यीमध्ये केही लक्षण हप्तौंसम्म देखा परेमा र यसले उसको दैनिक जीवनमा असर गरेमा मानसिक स्वास्थ्य विशेषज्ञहरूले यसलाई डिप्रेसनको लक्षणको रूपमा हेर्छन्‌।

किशोरकिशोरीलाई डिप्रेसन हुन सक्ने कारणहरू

विश्व स्वास्थ्य सङ्‌गठनका अनुसार “थुप्रै कारणले गर्दा डिप्रेसन हुन सक्छ। अरूले आफूलाई गरेको व्यवहार, मानसिक तनाव वा शारीरिक कारणहरूले गर्दा यस्तो हुन सक्छ।” यसमा निम्न कुराहरू समावेश छन्‌।

शारीरिक कारणहरू। डिप्रेसन प्रायजसो वंशानुगत रूपमा सर्छ। पुनमलाई पनि यस्तै भएको थियो। जीनले मस्तिष्कको रासायनिक गतिविधिमा असर गरेकोले यस्तो भएको हुन सक्छ। अन्य शारीरिक कारणमा मुटुसम्बन्धी रोग, हर्मोनको गडबडी र लागूपदार्थ दुर्व्यसनी समावेश छ। यी कुराहरूले डिप्रेसन हुन सक्छ। *

तनाव। थोरै तनाव स्वास्थ्यको लागि राम्रै भए तापनि धेरै तनाव लिंदा यसले शारीरिक र मानसिक स्वास्थ्यलाई नकारात्मक असर गर्न सक्छ। यसले भावनात्मक रूपमा कमजोर किशोरकिशोरीलाई डिप्रेसनतर्फ धकेल्न सक्छ। डिप्रेसन ठ्‌याक्कै यही कारणले हुन्छ भन्ने कुरा थाह नभए तापनि माथि उल्लेख गरिएका कारणमध्ये केहीले गर्दा डिप्रेसन हुन सक्छ।

आमाबुबाको सम्बन्धविच्छेद, प्रियजनको मृत्यु, शारीरिक वा यौन दुर्व्यवहार, ठूलो दुर्घटना, रोगबिमार, पढाइमा कमजोर भएकोले त्यागिएको महसुस हुनुजस्ता कारणले डिप्रेसन हुन सक्छ। आमाबुबाले पढाइको सन्दर्भमा बढी माग गरेकोले पनि यस्तो हुन सक्छ। दादागिरीको सिकार, भविष्यको चिन्ता, डिप्रेसन भएको आमा वा बुबाबाट पाएको भावनात्मक चोट अथवा आमाबुबाको आशै नगरेको व्यवहारले गर्दा पनि डिप्रेसन हुन सक्छ। यदि यसो भएमा किशोरकिशोरीहरूले कसरी डिप्रेसनको सामना गर्न सक्छन्‌?

आफ्नो दिमाग र शरीरको ख्याल राख्नुहोस्

सामान्य डिप्रेसनदेखि गम्भीर डिप्रेसन पनि औषधीद्वारा र मानसिक स्वास्थ्य विशेषज्ञहरूको परामर्शद्वारा रोकथाम गर्न सकिन्छ। * येशू ख्रीष्टले भन्नुभयो: “बलियाहरूलाई डाक्टर चाहिंदैन तर बिरामीहरूलाई चाहिन्छ।” (मर्कूस २:१७) रोग लाग्दा यसले शरीरको जुनसुकै भागलाई पनि असर गर्न सक्छ, हाम्रो मस्तिष्कलाई समेत! हाम्रो शरीर र दिमागको नजिकको सम्बन्ध भएकोले तपाईंले आफ्नो जीवनशैली परिवर्तन गर्नुभयो भने डिप्रेसनविरुद्ध लड्‌न सक्नुहुन्छ।

डिप्रेसनको सिकार हुनुभएको छ भने आफ्नो शारीरिक र मानसिक स्वास्थ्यको ख्याल राख्न आवश्यक कदम चाल्नुहोस्। उदाहरणको लागि, स्वस्थकर खाना खानुहोस्, पर्याप्त मात्रामा सुत्नुहोस्, नियमित व्यायाम गर्नुहोस्। व्यायाम गर्दा यसले हाम्रो शरीरमा यस्तो रसायन पैदा गर्छ जसले हामीलाई आनन्दित र फुर्तिलो बनाउँछ अनि राम्ररी निदाउन मदत गर्छ। सम्भव भएमा तपाईंलाई डिप्रेसनमा पुऱ्याउन सक्ने कारणहरू र डिप्रेसन हुनुअगाडिको लक्षणहरू पत्ता लगाउनुहोस् अनि यसलाई रोक्न सक्ने खास तरिकाहरू विचार गर्नुहोस्। भरोसा गर्न सक्ने व्यक्तिलाई आफ्नो समस्याबारे बताउनुहोस्। परिवारका सदस्यहरू र साथीहरूले तपाईंलाई डिप्रेसनविरुद्ध लड्‌न मदत गर्न सक्छन्‌। आफ्नो सोचाइ र भावनाहरू लेखेर राख्नुहोस्। अगाडि उल्लेख गरिएकी पुनमलाई पनि यसले मदत गरेको थियो। सबैभन्दा महत्त्वपूर्ण कुरा, आफ्नो आध्यात्मिक आवश्यकता पूरा गर्नुहोस्। यसले जीवनलाई सकारात्मक तरिकाले हेर्न मदत गर्छ। येशू ख्रीष्टले भन्नुभयो: “आनन्दित हुन्‌ ती मानिसहरू, जसले परमेश्वरको मार्गनिर्देशनको खाँचो महसुस गर्छन्‌।”—मत्ती ५:३.

स्वस्थकर खाना खानुहोस्, व्यायाम गर्नुहोस् र पर्याप्त मात्रामा सुत्नुहोस्

आध्यात्मिक आवश्यकता पूरा गर्नुभयो भने सान्त्वना पाउन सक्नुहुन्छ

साहाना र पुनम येशूको यो कुरामा सहमत छन्‌। साहाना भन्छिन्‌: “आध्यात्मिक गतिविधिमा भाग लिंदा यसले मलाई आफ्नै समस्याहरूमा मात्र नभई अरू मानिसहरूमा ध्यान दिन मदत गर्छ। यसो गर्नु सधैं सजिलो छैन तर यसले मलाई आनन्दित बनाउँछ।” पुनमचाहिं प्रार्थना गरेर र बाइबल पढेर सान्त्वना पाउँछिन्‌। तिनी भन्छिन्‌: “परमेश्वरलाई आफ्नो मनको बह पोखाउँदा हल्का महसुस गर्छु। म परमेश्वरको नजरमा बहुमूल्य छु र उहाँ मेरो ख्याल राख्नुहुन्छ भनेर बुझ्न बाइबलले मदत गरेको छ। बाइबल पढाइले भविष्यलाई सकारात्मक तरिकाले हेर्न पनि मदत गरेको छ।”

यहोवा परमेश्वर हाम्रो सृष्टिकर्ता हुनुभएकोले उहाँले हामी हुर्केको वातावरण, हामीले जीवनमा भोगेका अनुभवहरू र आनुवंशिक बनौटले गर्दा हाम्रो सोचाइ र भावनामा आएका असरहरू बुझ्नुहुन्छ। त्यसैले उहाँले हामीलाई चाहिएकै मदत र सान्त्वना दिन सक्नुहुन्छ। उहाँले हाम्रो भावना बुझ्ने दयालु व्यक्तिहरू चलाएर पनि यसो गर्नुहुन्छ। अनि भविष्यमा परमेश्वरले हाम्रो सबै रोगबिमार, चाहे त्यो शारीरिक होस् वा मानसिक, त्यो निको पार्नुहुनेछ। यशैया ३३:२४ अनुसार “त्यहाँका बासिन्दाहरूले यसो भन्नेछैनन्‌, ‘म बिरामी परें।’”

परमेश्वरले हाम्रो “आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ अनि मृत्यु हुनेछैन, न त फेरि कहिल्यै शोक, रुवाइ वा पीडा नै हुनेछ” भनेर बाइबलले हामीलाई आश्वासन दिन्छ। (प्रकाश २१:४) कत्ति सान्त्वनादायी कुरा! मानिसजाति र पृथ्वीबारे परमेश्वरको उद्देश्य के हो भनेर थाह पाउन चाहनुहुन्छ भने हाम्रो वेबसाइट www.isa4310.com/ne मा जानुहोस्। त्यहाँ तपाईंले अनलाइन बाइबल पढ्‌न पाउनुहुन्छ। साथै डिप्रेसनलगायत विभिन्न विषयका रोचक लेखहरू पनि पाउन सक्नुहुन्छ।

^ अनु. 3 नामहरू परिवर्तन गरिएका छन्‌।

^ अनु. 10 विभिन्न किसिमको रोग, औषधी र लागूपदार्थले मानिसको मुडलाई असर गर्ने भएकोले रोगको सही पहिचान गर्नु जरुरी छ।

^ अनु. 14 ब्यूँझनुहोस्! पत्रिकाले कुनै खास उपचारको सिफारिस गर्दैन।