सीधै सामग्रीमा जाने

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

मैले जीवनमा पाएको सबैभन्दा उत्तम इनाम

मैले जीवनमा पाएको सबैभन्दा उत्तम इनाम
  • जन्म मिति: १९६७

  • जन्म स्थान: फिनल्याण्ड

  • विगतमा: एक पेसेवर टेनिस खेलाडी

मेरो विगत

 मेरो जन्म फिनल्याण्डको शान्त र हरियाली सहर ट्यामपिरीमा भएको थियो। मेरो परिवारका सदस्यहरू धर्मकर्ममा खासै विश्‍वास गर्नु हुँदैनथ्यो तर शिक्षा र असल चालचलनको एकदमै मोल गर्नुहुन्थ्यो। मेरी आमा जर्मन हुनुहुन्थ्यो। म सानो छँदा कहिलेकाहीँ पूर्वी जर्मनीमा बस्नुहुने हजुरबुबा हजुरआमालाई भेट्‌न जान्थेँ।

 मलाई सानैदेखि खेलकुद मन पर्थ्यो। सुरु-सुरुतिर म सबै किसिमको खेलहरू खेल्थेँ तर १४ वर्षको उमेरमा मैले टेनिस खेल्ने निर्णय गरेँ। सोह्र वर्ष भएपछि मैले दिनको तीन चोटि तालिम लिन थालेँ, जसमा दुइटा व्यावसायिक तालिम हुन्थ्यो अनि साँझ आफै अभ्यास गर्थेँ। मलाई टेनिसको विभिन्‍न पक्षहरू रोचक लाग्थ्यो। टेनिस खेल्दा म आफूलाई मानसिक र शारीरिक तवरमा फुर्तिलो महसुस गर्थेँ। मलाई कहिलेकाहीँ साथीभाइहरूसित भेटघाट गरेर बियर पिउँदै रमाइलो गर्न मनपर्थ्यो तर म कहिल्यै लागूपदार्थ वा जाँडरक्सीको कुलतमा भने फसिनँ। टेनिस नै मेरो लागि सब थोक थियो।

 मैले १७ वर्षको उमेरदेखि ए टि पि व्यावसायिक प्रतियोगितामा भाग लिन थालेँ। केही प्रतियोगिताहरू जितेपछि पूरै देशमा मेरो खेलको चर्चा हुन थाल्यो। म २२ वर्षको हुँदा, मेरो गन्ती विश्‍वका ५० उत्कृष्ट खेलाडीहरूमा हुन थालिसकेको थियो।

 वर्षौसम्म खेलको क्रममा संसारको थुप्रै ठाउँहरूमा गएँ। तीमध्ये कुनै ठाउँ निकै मनमोहक थिएँ। तर मैले अपराध, लागूपदार्थ दुर्व्यसन र त्यसले गर्दा भएका दुःखलाग्दा घटनाहरू पनि देखेँ। उदाहरणका लागि, अमेरिकामा खेल्न गएको बेला हामीलाई केही खास इलाकाहरूमा धेरै अपराध हुने भएकोले त्यस्ता ठाउँहरूमा नजान चेतावनी दिइएको थियो। यी कुराहरू देखेर मलाई एकदमै दुःख लाग्यो। हुनत म सफल खेलाडी थिएँ तैपनि सन्तुष्ट थिइनँ।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?

 मेरी प्रेमिका सन्‍नेले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालेकी रहेछिन्‌। उनलाई आध्यात्मिक कुरामा चासो थियो भनेर मलाई थाहै थिएन। उनले बाइबल अध्ययन गरेकोमा मैले कुनै आपत्ति जनाइनँ। सन्‌ १९९० मा हामीले विवाह गऱ्‍यौँ र अर्को वर्ष उनले बप्तिस्मा गरिन्‌। कुनै धर्ममा नलागे पनि मलाई ईश्‍वर हुनुहुन्छ भनेर चाहिँ विश्‍वास लाग्थ्यो। जर्मनीमा बस्नुहुने मेरो हजुरआमा बाइबल पढ्‌न निकै मन पराउनु हुन्थ्यो, उहाँले मलाई प्रार्थना गर्न पनि सिकाउनुभएको थियो।

 एक दिनको कुरा हो, सन्‍ने र म एउटा दम्पतीलाई भेट्‌न गयौँ, तिनीहरू यहोवाको साक्षी थिए। त्यहाँ कारेले मलाई “अन्तको दिन”-को बाइबल भविष्यवाणी देखाए। (२ तिमोथि ३:१-५) त्यो कुराले ममा निकै प्रभाव पाऱ्‍यो। त्यस दिन हामीले बाइबलबारे अरू कुरा गरेनौँ। त्यस दिनदेखि कारेसँग बाइबलबाट छलफल सुरु भयो र मैले सिकेका कुराहरू पनि बुझ्न थालेँ। म पेसेवर खेलाडी भएकोले कामको लागि थुप्रै पटक यात्रा गर्नुपर्ने हुन्थ्यो। त्यसैले म नियमित बाइबल अध्ययन गर्न समय दिन सक्दिनथेँ। तैपनि कारेले हरेस खानुभएन। मैले बाइबल अध्ययनको लागि समय दिन नसके पनि उहाँ मलाई चिठ्ठी पठाउनुहुन्थ्यो। त्यसमा मैले सोधेका प्रश्‍नहरूको जवाफ पठाउनुहुन्थ्यो। यसरी मैले बाइबलबाट जीवनका गहिरा प्रश्‍नहरूको चित्तबुझ्दो पाएँ। साथै परमेश्‍वरको राज्यले नै उहाँका सम्पूर्ण उद्देश्‍य पूरा गर्नेछ भन्‍ने बाइबलको मुख्य सन्देश बुझ्न थालेँ। परमेश्‍वरको नाम यहोवा रहेछ र उहाँले हाम्रो लागि के-के गरिदिनुभएको रहेछ भनेर सिक्दा त्यसले ममा अमेट छाप पाऱ्‍यो। (भजन ८३:१८) विशेष गरी येशूको बलिदानबारे सिकेको कुराले मेरो मनै छोयो। उहाँले कुनै कानुनी औपचारिकता पूरा गर्न मात्र आफ्नो जीवन बलिदान दिनुभएको थिएन। उहाँको बलिदान परमेश्‍वर हामीलाई कत्ति धेरै माया गर्नुहुन्छ भन्‍ने कुराको प्रमाण थियो। (युहन्‍ना ३:१६) मैले परमेश्‍वरको मित्र बन्‍न सक्ने मौका र सुन्दर प्रमोदवनमा सधैँभरि बाँच्ने आशाबारे सिकेँ। (याकुब ४:८) त्यसपछि मैले आफैलाई सोध्न थालेँ, “यहोवाले मलाई देखाउनुभएको मायाको निम्ति म कसरी आफ्नो कृतज्ञता देखाउन सक्छु?”

 मैले आफ्नो जीवनशैली राम्ररी केलाएर हेरेँ। मैले बाइबलबाट लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ भनेर सिकेँ। त्यसैले म अरूलाई आफ्नो विश्‍वासबारे बताउन चाहन्थेँ। (प्रेषित २०:३५) पेसेवर खेलाडी भएकोले प्रतियोगिताको सिलसिलामा वर्षमा २०० दिन जति म घरबाहिर हुन्थेँ। मेरो निर्णयले हाम्रो परिवार, मेरो तालिम, मेरो तालिका र पेसालाई ठूलो असर गर्छ भनेर मैले बुझिसकेको थिएँ। तैपनि, मैले परिवर्तन त गर्नै पर्थ्यो।

 मैले खेलबाट पाइरहेको नाम-दाम छोडेर किन आफ्नो भविष्य बिगार्दै छु भनेर अरूले बुझ्नेछैनन्‌ भनेर मलाई थाह थियो। तर पनि मैले साक्षी बन्‍ने निधो गरेँ। किनकि यहोवा परमेश्‍वरलाई अझै राम्ररी चिन्‍न पाउनु र उहाँले दिनुभएको सुनिश्‍चित भविष्य मेरो लागि टेनिस प्रतियोगितामा हासिल गर्ने कुनै पनि इनामभन्दा कता हो कता ठूलो थियो। यो मेरो निर्णय भएकोले अरूले जे भने पनि त्यसमा ध्यान नदिने अठोट गरेँ। मलाई त्यस्तो दबाबको सामना गर्न भजन ११८:६ ले मदत गऱ्‍यो, जहाँ यस्तो लेखिएको छ “यहोवा मेरो साथमा हुनुहुन्छ; म डराउने छैन मानिसले मलाई के गर्न सक्छ र?”

 त्यसबेला केही आयोजकहरूले धेरै पैसा आउने प्रस्तावहरू पनि ल्याएका थिए। ती प्रस्तावहरू निकै आकर्षक देखिन्थे। म निष्फिक्री भएर वर्षौँसम्म टेनिस खेल्न सक्थेँ। तर मैले पहिल्यै निर्णय गरिसकेको थिएँ त्यसैले ती प्रस्तावहरूलाई सोझै इन्कार गरेँ र पछि ए टि पि का व्यावसायिक खेलहरू पनि खेल्न छोडेँ। मैले बाइबल अध्ययनलाई निरन्तरता दिएँ र जुलाई २, १९९४ मा बप्तिस्मा गरेँ।

मैले कसरी लाभ उठाएको छु?

 मेरो जीवनमा कुनै ठूलो विपत्ति आएर मैले परमेश्‍वरलाई खोजेको होइन। न त म सत्यको खोजी गर्ने व्यक्‍ति नै थिएँ। वास्तवमा मेरो जीवन एकदम राम्रो चलिरहेको थियो। तैपनि मैले आशै नगरेको तरिकामा बाइबलबाट सत्य कुरा भेट्टाए, मानौँ त्यसले मलाई नै पर्खिरहेको थियो। मैले जीवनको उद्देश्‍य बुझ्न मदत पाएँ। अहिले मेरो जीवन सोचेभन्दा कैयौँ गुणा राम्रो भएको छ। हाम्रो परिवार अहिले पहिलाभन्दा घनिष्ठ भएको छ। अनि अहिले मेरा तीनै जना छोराहरू यहोवाको सेवक बनेका छन्‌। म जस्तै उनीहरू पनि खेलाडी होइन, ख्रिष्टियन बनेकोमा म असाध्यै खुसी छु।

 मलाई अहिले पनि टेनिस खेल्न धेरै मनपर्छ। मैले टेनिसकै क्षेत्रमा प्रशिक्षक बनेर र टेनिस केन्द्रको व्यवस्थापक भएर आफ्नो जीविका चलाएँ। अहिले खेलकुद मेरो जीवनको केन्द्रबिन्दु होइन। पहिले म टेनिसको उत्कृष्ट खेलाडी बन्‍न घण्टौँ मेहनत गर्थेँ। अहिले म पूर्ण समय राज्य प्रचारकको रूपमा सेवा गर्दै छु। यसरी अरूलाई बाइबलबाट सत्य कुरा बुझ्न मदत गर्न पाएकोमा म अत्यन्तै खुसी छु, जुन सत्यले मेरो आफ्नै जीवनलाई नयाँ मोड दियो। यहोवासित गाँसेको सम्बन्धले गर्दा र अरूलाई उज्ज्वल भविष्यको आशा बाँड्‌ने काममा व्यस्त हुनु पाएकोले म निकै खुसी छु। —१ तिमोथि ६:१९.