सीधै सामग्रीमा जाने

येसुको बलिदान कसरी “धेरैको निम्ति फिरौती” हो?

येसुको बलिदान कसरी “धेरैको निम्ति फिरौती” हो?

बाइबलको जवाफ

 पाप र मृत्युबाट छुटकारा पाउन येसुको बलिदान आवश्‍यक थियो। बाइबलअनुसार येसुले बगाउनुभएको रगत नै पाप र मृत्युबाट छुटाउन दिइएको फिरौती हो। (एफिसी १:७; १ पत्रुस १:१८, १९) येसु “धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन” आउनुभयो।—मत्ती २०:२८.

“धेरैको निम्ति फिरौती” किन आवश्‍यक थियो?

 परमेश्‍वरले पहिलो मानिस आदमलाई त्रुटिरहित सृष्टि गर्नुभएको थियो। तर पछि तिनले परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरेर पाप गरे अनि पृथ्वीमा सधैंभरि बाँच्ने आशा गुमाए। (उत्पत्ति ३:१७-१९) तिनी पापी भएकाले तिनका सबै सन्तान पापी भए। (रोमी ५:१२) त्यसैले बाइबलमा आदमले आफूलाई र आफ्ना सन्तानलाई पाप र मृत्युको दासत्वमा ‘बेचे’ भनिएको छ। (रोमी ७:१४) सबै मानिस त्रुटिपूर्ण भएकाले तिनीहरूमध्ये कसैले पनि आदमले गुमाएको जीवन बराबरको मोल तिर्न सक्दैनथ्यो।—भजन ४९:७, ८.

 आदमको सन्तानको यस्तो अवस्था देखेर परमेश्‍वरले तिनीहरूमाथि दया देखाउनुभयो। (यूहन्‍ना ३:१६) परमेश्‍वर न्यायी हुनुहुन्छ। त्यसैले उहाँ मानिसहरूको पापलाई बेवास्ता गर्नुहुन्‍न वा कुनै ठोस आधारविना क्षमा दिनुहुन्‍न। (भजन ८९:१४; रोमी ३:२३-२६) उहाँ मानिसलाई प्रेम गर्नुहुन्छ। त्यसैले तिनीहरूको पाप क्षमा गर्न मात्र होइन, त्यसलाई सदाको लागि नामेट पार्न कानुनी आधार तयार पार्नुभयो। (रोमी ५:६-८) त्यो आधार हो—येसुले फिरौती तिर्न चढाउनुभएको बलिदान।

फिरौतीको बलिदानमा के-के समावेश छ?

 बाइबलमा उल्लेख गरिएको “फिरौती”-मा यी तीनवटा कुरा समावेश छन्‌:

  1.  १. कुनै कुरा पाउन तिरिने दाम।गन्ती ३:४६, ४७.

  2.  २. दाम तिरेपछि पाइने छुटकारा।प्रस्थान २१:३०.

  3.  ३. क्षति बराबरको दाम। a

 फिरौतीको बलिदानमा यी तीनवटा कुरा कसरी मुछिएका छन्‌, विचार गर्नुहोस्‌।

  1.  १. दाम: बाइबलले ख्रीष्टियनहरू “दाम तिरेर किनिएका” हुन्‌ भनेर बताउँछ। (१ कोरिन्थी ६:२०; ७:२३) त्यो दाम येसुको रगत हो। अनि त्यस रगतले उहाँले “हरेक कुल, भाषा, जाति र राष्ट्रका मानिसहरूलाई परमेश्‍वरको निम्ति किन्‍नुभयो।”—प्रकाश ५:८, ९.

  2.  २. छुटकारा: येसुको फिरौतीको बलिदानले गर्दा मानिसहरू पापबाट “मुक्‍त” हुन सक्छन्‌।—१ कोरिन्थी १:३०; कलस्सी १:१४; हिब्रू ९:१५.

  3.  ३. क्षति बराबरको दाम: आदमले पाप गरेर त्रुटिरहित जीवन गुमाए। त्यसकै क्षतिपूर्तिस्वरूप येसुले त्रुटिरहित जीवन दिनुभयो। (१ कोरिन्थी १५:२१, २२, ४५, ४६) बाइबलमा यस्तो लेखिएको छ, “जसरी एक जना मानिसको अनाज्ञाकारिताले गर्दा धेरै जना पापी भए, उसरी नै एक जना मानिसको [अर्थात्‌ येसु ख्रीष्टको] आज्ञाकारिताले गर्दा धेरै जना असल ठहरिनेछन्‌।” (रोमी ५:१९) यस पदबाट एक जना व्यक्‍तिको मृत्युले गर्दा थुप्रै पापी मानिसको लागि फिरौती तिर्न सम्भव भयो भनेर बुझ्न सक्छौं। त्यसैले येसुको बलिदानले “सबै” मानिसलाई पापबाट छुटकारा दिन सक्छ। (१ तिमोथी २:५, ६) त्यसको लागि आवश्‍यक कदम चल्नुपर्छ।

a बाइबलमा ‘फिरौती’ भनी अनुवाद गरिएका मूल शब्दहरूले कुनै कुरा प्राप्त गर्न तिरिने रकम वा दिइने मूल्यवान्‌ वस्तुलाई बुझाउँछ। हिब्रू क्रिया काफार-ले “ढाक्नु” भन्‍ने अर्थ दिन्छ। (उत्पत्ति ६:१४) यसले प्रायजसो पाप ढाक्नुलाई बुझाउँछ। (भजन ६५:३) अर्को शब्द कोफेर-ले त्यस्तो पाप ढाक्न वा पापबाट छुटाउन तिरिने मूल्य वा दामलाई बुझाउँछ। (प्रस्थान २१:३०) त्यस्तै ग्रीक शब्द लिट्रन-लाई पनि प्रायजसो “फिरौती” भनेर अनुवाद गरिन्छ। यसलाई “छुटकाराको मोल” भनेर पनि अनुवाद गर्न सकिन्छ। (मत्ती २०:२८, NRV) ग्रीक लेखकहरूले यो शब्द युद्धबन्दी वा दासलाई छुटाउन तिरिने दाम वा मूल्यलाई बुझाउन चलाउँथे।