सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गलत जानकारीहरूबाट आफूलाई जोगाउनुहोस्‌

गलत जानकारीहरूबाट आफूलाई जोगाउनुहोस्‌

 अहिले जुनसुकै विषयमा जानकारी पाउन पहिलेभन्दा निकै सजिलो भएको छ, जसमा सुरक्षा र स्वास्थ्यसम्बन्धी जानकारी पनि समावेश छ। तर कुनै विषयमा जानकारी खोज्दा गलत जानकारीहरूबाट होसियार हुनुपर्छ, जस्तै:

 उदाहरणको लागि, कोभिड-१९ महामारीको दौडान संयुक्‍त राष्ट्र सङ्‌घका महासचिवले गलत जानकारीहरूको खतराबारे चेतावनी दिए। तिनले यसो भने: “स्वास्थ्यसम्बन्धी हानिकारक सुझावहरू र उपचारसम्बन्धी ठगीको बिगबिगी छ। झूटा हल्लाहरू हावासरि फैलिरहेको छ। इन्टरनेटमा खतरनाक षड्यन्त्र सिद्धान्तहरू फैलिरहेका छन्‌। यसले गर्दा कुनै खास जाति र समूहप्रति घृणा र पूर्वाग्रह बढिरहेको छ।”

 गलत जानकारीहरू फैलिनु पक्कै पनि नयाँ कुरा त होइन। तर हाम्रो समयबारे बाइबलमा यस्तो भविष्यवाणी गरिएको थियो: “दुष्ट र जाली मानिसहरू झन्‌झन्‌ खराब हुँदै जानेछन्‌। तिनीहरूले अरूलाई बहकाउनुका साथै आफै पनि बहकिनेछन्‌।” (२ तिमोथि ३:१, १३) अहिले इन्टरनेटमा पहिलेभन्दा सजिलै र छिट्टै गलत जानकारीहरू पाइन्छ अनि हामी आफैले पनि अनजानमै त्यस्ता जानकारीहरू फैलाइरहेका हुन सक्छौँ। यसले गर्दा हाम्रो इमेल, सामाजिक सञ्जाल र न्युज फिड बङ्‌ग्याइएका र अर्धसत्य जानकारीहरूले भरिन सक्छ।

 तपाईँ कसरी बहकाउने जानकारीहरू र षड्यन्त्र सिद्धान्तहरूबाट जोगिन सक्नुहुन्छ? आउनुहोस्‌, केही उपयोगी बाइबल सिद्धान्त विचार गरौँ।

  •   आफूले देखेको वा सुनेको सबै कुरा नपत्याउनुहोस्‌

     बाइबल के भन्छ? “सुधो मानिसले सुनेको सबै कुरा पत्याउँछ तर चतुर मानिसले सोचविचार गरेर कदम चाल्छ।”—हितोपदेश १४:१५.

     हामी होसियार भएनौँ भने सजिलै बहकिन सक्छौँ। उदाहरणको लागि, अनलाइनमार्फत, अझ विशेषगरि सामाजिक सञ्जालमार्फत तुरुन्तै फैलिने क्याप्सनसहितका फोटोहरू वा छोटो भिडियोहरूबारे विचार गर्नुहोस्‌। त्यस्ता सामग्रीहरूलाई ‘मिम्स’ भनिन्छ र ती अक्सर अरूलाई हँसाउनको लागि बनाइएका हुन्छन्‌। तर फोटो वा भिडियोलाई सजिलै फेरबदल गर्न वा त्यसको कुनै एउटा अंश निकालेर गलत अर्थ लाग्नेगरि तयार पार्न सकिन्छ। आजकल मानिसहरू कुनै व्यक्‍तिले कहिल्यै नभनेको वा नगरेको कुरा पनि उसैले भनेको वा गरेको जस्तो देखिनेगरि भिडियोहरू बनाउने गर्छन्‌।

     “सामाजिक सञ्जालमा देखापर्ने कतिपय फोटो वा भिडियो सत्यतथ्य लुकाएर बनाइएको हुन्छ, जस्तै: ‘मिम्स’।”—एक्सिओस मिडिया।

     आफैलाई सोध्नुहोस्‌: ‘के यो फोटो वा भिडियो सत्यतथ्यमा आधारित छ वा “मिम” मात्र हो?’

  •   स्रोत र विषयवस्तुको विश्‍लेषण गर्नुहोस्‌

     बाइबल के भन्छ? “सबै कुरा जाँच।”—१ थिस्सलोनिकी ५:२१.

     कुनै घटना लोकप्रिय भएको छ वा समाचारमा बारम्बार आइरहेको छ भन्दैमा त्यो तुरुन्तै नपत्याउनुहोस्‌ वा अरूलाई नपठाउनुहोस्‌। बरु सुरुमा आफैले त्यो सत्य हो कि होइन भनेर पक्का गर्नुहोस्‌। कसरी?

     त्यस जानकारीको स्रोत कत्तिको भरपर्दो छ भनेर विश्‍लेषण गर्नुहोस्‌। समाचार कम्पनीहरू र अरू सङ्‌गठनले आफ्नै फाइदाको लागि वा राजनैतिक स्वार्थको लागि समाचारलाई बङ्‌ग्याउने गर्छन्‌। त्यसैले कुनै एउटा स्रोतबाट आएको समाचारलाई अन्य स्रोतसित तुलना गरेर हेर्नुहोस्‌। कहिलेकाहीँ हाम्रा साथीहरूले इमेल वा सामाजिक सञ्जालमार्फत हामीलाई अनजानमै गलत जानकारी पठाउन सक्छन्‌। त्यसैले त्यस जानकारीको वास्तविक स्रोत पत्ता नलागेसम्म त्यो नपत्याउनु नै बेस हुन्छ।

     विषयवस्तु हालैको र सही हो कि होइन भनेर पक्का गर्नुहोस्‌। यसको लागि उक्‍त विषयवस्तु प्रकाशित भएको मिति, त्यो सही हो भनेर प्रमाणित गर्ने तथ्यहरू र ठोस प्रमाणहरू केलाउनुहोस्‌। कुनै जटिल जानकारीलाई चाहिनेभन्दा सरल तरिकामा प्रस्तुत गरिएको छ वा कुनै रिपोर्ट तपाईँको भावनालाई असर गर्ने किसिमले तयार पारिएको छ भने अझ होसियार हुनुहोस्‌।

     “अहिलेको समयमा आफूले पाएको जानकारीको सत्यतथ्य जाँच गर्नु हात धुनुजत्तिकै महत्त्वपूर्ण भएको छ।”—संयुक्‍त राष्ट्र सङ्‌घको खाद्य सुरक्षा र पोषणका प्रमुख अफिसर श्रीधर धर्मपुरी।

     आफैलाई सोध्नुहोस्‌: ‘के यस समाचारले कसैको व्यक्‍तिगत धारणालाई तथ्यको रूपमा प्रस्तुत गरेको छ वा कुनै घटनाको एउटा पाटोलाई मात्र जोड दिएको छ?’

  •   व्यक्‍तिगत धारणाद्वारा नभई सत्यतथ्यद्वारा डोरिनुहोस्‌

     बाइबल के भन्छ? “आफैमाथि भरोसा राख्ने मानिस मूर्ख हो।”—हितोपदेश २८:२६.

     हामीमा आफ्नो सोचाइसित मेल खाने जानकारी पाउँदा त्यसमा विश्‍वास गरिहाल्ने झुकाव हुन्छ। इन्टरनेट कम्पनीहरूले पनि अक्सर हामीलाई चासो लाग्ने र हामीले इन्टरनेटमा खोजेका कुराहरूलाई आधार बनाएर त्यसैसित सम्बन्धित समाचारहरू र जानकारीहरू पठाउने गर्छ। तर हामीलाई कुनै खास विषयमा चासो छ भन्दैमा त्यो हामीलाई सधैँ चाहिने विषय नहुन सक्छ।

     “मानिसमा कुनै पनि विषयबारे राम्ररी सोचविचार र जाँचपडताल गर्न सक्ने क्षमता हुन्छ। तर हामीमा भएको इच्छा-आकाङ्‌क्षा र डरजस्ता कुराहरूले अक्सर हामीलाई जे सुन्‍न मन लाग्छ, त्यही नै सही हो भनेर विश्‍वास गर्न लगाउँछ।”—सामाजिक मनोवैज्ञानिक पिटर डिटो।

     आफैलाई सोध्नुहोस्‌: ‘के यो जानकारी मेरो सोचाइसित मेल खाने भएकोले मात्र मैले त्यसमा विश्‍वास गरेको हुँ?’

  •   गलत जानकारी नफैलाउनुहोस्‌

     बाइबल के भन्छ? “तिमीहरूले झूटो हल्ला नफैलाउनू।”—प्रस्थान २३:१.

     नबिर्सनुहोस्‌, तपाईँले अरूलाई पठाउने जानकारीले तिनीहरूको सोचाइ र काममा असर पुऱ्‍याउँछ। तपाईँले कसैलाई अनजानमै गलत जानकारी पठाउनुभएको हो भने पनि त्यसको नतिजा खतरनाक हुन सक्छ।

     “कसैलाई कुनै जानकारी पठाउनुअघि एकछिन रोकिनुहोस्‌ र आफैलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌, ‘के म आफै यो जानकारी सत्य हो भनेर पक्का छु?’ यदि सबैले यसो गर्ने हो भने इन्टरनेटमा गलत जानकारी फैलिने सम्भावना एकदमै कम हुन्छ।”—समाचार साक्षरता योजनाका प्रमुख उपाध्यक्ष पिटर एडम्स।

     आफैलाई सोध्नुहोस्‌: ‘के म आफूले पठाउन लागेको जानकारी सही हो भनेर पक्का छु?’