सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

Anton Petrus/Moment via Getty Images

जागा रहो!

के विश्‍वयुद्ध सुरु हुन लागेको हो?—यसबारे बाइबल के भन्छ?

के विश्‍वयुद्ध सुरु हुन लागेको हो?—यसबारे बाइबल के भन्छ?

 गत ३० वर्षको दौडान मानिसहरूले संसारमा शान्ति छाएको अनुभूति गरेका थिए। राष्ट्रहरूबीच मेलमिलाप कायम भएको जस्तो देखिन्थ्यो। तर हालैका घटनाहरूले गर्दा मानिसहरूको मनमा त्रास छाउन थालेको छ।

  •   “लेबनानको सिमानामा इस्राएल र हजबुल्लाबीच सुरु भएको झडपले गाजा युद्ध अन्य राष्ट्रमा पनि फैलने सङ्‌केत।”—रोइटर्स, जनवरी ६, २०२४.

  •   “ईरानको साथ पाएका आतङ्‌कवादी सङ्‌गठनहरूले थुप्रै ठाउँमा आक्रमण गरिरहेका छन्‌ र ईरानले फेरि आणविक हतियार बनाउन सुरु गरेको छ। त्यसमाथि अहिले ईरानलाई रूस र चीनको साथ छ। यसले गर्दा पश्‍चिमी मुलुकहरूको अगाडि थप खतरा तेर्सिएको छ।”—द न्यु योर्क टाइम्स, जनवरी ७, २०२४.

  •   “रूसी हमलाले गर्दा युक्रेनका विभिन्‍न ठाउँमा निरन्तर ठूलो क्षति पुगिरहेको छ।”—यु एन न्युज, जनवरी ११, २०२४.

  •   “एकातर्फ चीनको अर्थतन्त्र र सैन्य शक्‍ति झन्‌झन्‌ बलियो हुँदै गइरहेको छ। अर्कोतर्फ स्वाभिमानी ताइवान चीनबाट स्वतन्त्र भएरै छाड्‌ने दम्भ देखाउँदै छ। यसै क्रममा चीन-अमेरिकाबीचको चिसिँदै गएको सम्बन्धका कारण निकट भविष्यमा तनाव उत्पन्‍न हुन सक्ने सम्भावना बढ्‌दै छ।”—द जापान टाइम्स, जनवरी ९, २०२४.

 के बाइबलमा अहिले संसारमा छाइरहेको अस्थिरताबारे केही कुरा बताइएको छ? के संसार साँच्चै विश्‍वयुद्धतिर लम्किँदै छ?

बाइबलमा अहिले भइरहेका घटनाहरूबारे भविष्यवाणी गरिएको छ

 हुनत बाइबलमा अहिले चलिरहेको कुनै खास युद्धबारे तोकेरै उल्लेख गरिएको त छैन। तर हाम्रो समयमा ठाउँ-ठाउँमा युद्ध मच्चिनेछ र त्यसले “पृथ्वीमा . . . शान्ति हरण” गर्नेछ भनेर चाहिँ बाइबलमा पहिल्यै भविष्यवाणी गरिएको थियो।—प्रकाश ६:४.

 बाइबलको दानिएल नामको किताबमा “अन्तको समयमा” शक्‍तिशाली राष्ट्रहरू संसारमा आफ्नो दबदबा कायम राख्न एकअर्कासित “भिड्‌नेछन्‌” भनेर बताइएको थियो। त्यसैले ती राष्टहरू आफ्नो सैन्य शक्‍ति अझ मजबुत बनाउन “खजाना” चलाउँदै छन्‌ अर्थात्‌ प्रशस्त मात्रामा पैसा खर्च गर्दै छन्‌।—दानिएल ११:४०, ४२, ४३.

आउन लागेको युद्ध

 येसुले संसारको अवस्था राम्रो हुनुअघि एकदम खस्किएर जानेछ भनेर भविष्यवाणी गर्नुभएको थियो। उहाँले भन्‍नुभयो: “त्यतिखेर यस्तो महासङ्‌कष्ट हुनेछ, जुन संसारको सुरुवातदेखि अहिलेसम्म भएको छैन।” (मत्ति २४:२१) त्यस “महासङ्‌कष्ट”-को अन्तमा आरमागेडोनको युद्ध हुनेछ, जसलाई बाइबलमा “परमेश्‍वरको महान्‌ दिनको लडाइँ” पनि भनिएको छ।—प्रकाश १६:१४, १६.

 तर आरमागेडोनको युद्धले मानिसजातिको अन्त भने गर्नेछैन। बरु त्यस युद्धले मानिसहरूको उद्धार गर्नेछ। मानव शासनले गर्दा संसारमा थुप्रै विनाशकारी युद्ध मच्चिएका छन्‌ र निकै धनजनको क्षति भएको छ। आरमागेडोनको युद्धमार्फत ईश्‍वरले यी सबै मानव राज्यहरू अन्त गर्नुहुनेछ। आरमागेडोनको युद्धले गर्दा कसरी पृथ्वीमा चिरस्थायी शान्ति छाउनेछ भनेर बुझ्न तल दिइएका लेखहरू पनि पढ्‌नुहोस्‌: