सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

विश्‍वव्यापी महामारीको लागि विश्‍वव्यापी राहतकार्य

विश्‍वव्यापी महामारीको लागि विश्‍वव्यापी राहतकार्य

जुलाई १, २०२१

 मार्च २०२० मा विश्‍व स्वास्थ्य सङ्‌गठनले कोभिड-१९ अर्थात्‌ कोरोना भाइरसको सङ्‌क्रमणलाई महामारी घोषणा गऱ्‍यो। कोरोना भाइरसले एक वर्षपछिसम्म पनि यत्तिको सताउनेछ भनेर सायद कसैले कल्पनासमेत गरेको थिएन होला। यो महामारीले गर्दा यहोवाका साक्षीहरूलगायत लाखौँ मानिसले शारीरिक, भावनात्मक र आर्थिक समस्या झेल्नुपरेको छ। यस महामारीको दौडान यहोवाका साक्षीहरूले कसरी राहतको व्यवस्थापन र वितरण गरिरहेका छन्‌?

खाँचोमा परेकाहरूका लागि राहत

 कोभिड-१९ को कारण खाँचोमा परेकाहरूलाई मदत गर्न यहोवाका साक्षीहरूको परिचालक निकायको संयोजक समितिको निर्देशनअनुसार विश्‍वभरि ९५० भन्दा धेरै प्रकोप राहत समिति (DRC) गठन गरिएका छन्‌। केही ठाउँमा ती समितिहरूले खाँचोमा परेकाहरूलाई मदत गर्न स्थानीय तवरमा प्रबन्ध मिलाएका छन्‌। अरू ठाउँमा भने साक्षीहरूले सरकारले वितरण गरेको राहतबाट लाभ उठाएका छन्‌। ती समितिहरूले व्यापक तवरमा राहत वितरण गर्ने प्रबन्ध पनि मिलाएका छन्‌।

 उदाहरणको लागि, पाराग्वेको अवस्थालाई विचार गरौँ। महामारीले मानिसहरूको आर्थिक अवस्थामा नराम्ररी असर गरेको कारण “पाराग्वेका धेरैजसो मानिससँग पुग्दो खानेकुरा छैन” भनेर एउटा अखबारले रिपोर्ट गऱ्‍यो। तर पाराग्वेको प्रकोप राहत समितिले प्रत्येक परिवारको लागि (चार जान सदस्य भएको परिवार) दुई हप्ता पुग्ने खानेकुरा अनि सरसफाइ र नुहाइधुवाइको सामग्रीसहितको प्याकेट वितरण गर्न थालिसकेको थियो। प्रत्येक प्याकेटमा लगभग ३० अमेरिकी डलर (३,५०० नेपाली रुपैयाँ) बराबरको सामग्री थियो।

 ती राहतकार्यमा संलग्न स्वयंसेवकहरूले कोभिड-१९ को सङ्‌क्रमणबाट आफूलाई र अरूलाई कसरी जोगाउन सके? तिनीहरूले मास्क लगाए र भौतिक दूरी कायम राखे। तिनीहरूले खाना मगाउने कम्पनीमा सफा र सुरक्षित तरिकामा खाना तयार पारिएको छ कि छैन भन्‍ने कुरा पनि पक्का गरे। साथै राहत सामग्री वितरण गर्ने कार्यमा संलग्न हुने सबैलाई पूरै शरीर ढाक्नेगरि विभिन्‍न स्वास्थ्य सामग्री प्रयोग गर्न, आफ्नो सवारीसाधनलाई सफा र नि:सङ्‌क्रमण गर्न अनि राहत सामग्री नि:सङ्‌क्रमण गरिएको ठाउँमा राख्न निर्देशन पनि दिइएको थियो। ती स्वयंसेवकहरूले भौतिक दूरी कायम राख्दै राहत सामग्री वितरण गरे।

बुद्धिमानीपूर्वक अनुदानको प्रयोग गर्दै

 जनवरी २०२१ मा संयोजक समितिले कोभिड-१९ को राहतकार्यको लागि २ करोड ५० लाख अमेरिकी डलरभन्दा (२ अरब ९५ करोड ६४ लाख ७५ हजार नेपाली रुपैयाँ) बढी रकम खर्च गर्न अनुमति दियो। शाखाहरू र प्रकोप राहत समितिहरूले उक्‍त अनुदान रकम बुद्धिमानीपूर्वक प्रयोग गरे अनि सुपथ मूल्यमा आवश्‍यक सामग्री किन्‍न कडा मेहनत गरे। उदाहरणको लागि, चिलीमा राहत कार्यमा संलग्न भाइहरू ७५० किलो दाल किन्‍न चाहन्थे। तर एक महिनाभित्रै दालको भाउ बढेर दोब्बर भयो। ती भाइहरू महँगो भाउमै किन्‍न राजी भए। तर त्यसको दुई घण्टापछि व्यापारीले अर्को ग्राहकले किनेको दाल फिर्ता गरेको जानकारी दिए। त्यसैले ती व्यापारी हाम्रा भाइहरूलाई महँगो भाउमा नभई पुरानो भाउमै दाल बेच्न तयार भए।

 तर हाम्रा भाइहरू दाल लिन जाँदा ती व्यापारीले दाल दिन मानेनन्‌। किनकि अरू सङ्‌गठनले जस्तै हाम्रा भाइहरूले पनि वितरण कार्यमा भेदभाव गर्छन्‌ जस्तो उनलाई लाग्यो। एक जना भाइले मनमनै छोटो प्रार्थना गरेपछि ती व्यापारीलाई सम्झाउन कोसिस गरे। प्रत्येक मण्डलीमा साँच्चै खाँचोमा परेका को-को छन्‌ भनेर सर्वेक्षण भइसकेको कुरा तिनले उनलाई राम्ररी बुझाए। साथै राहत सामग्री पाउने परिवारहरूको अवस्था फरक-फरक भएकोले तिनीहरूलाई उपयोगी हुने सामग्रीहरू दिइनेछ भनेर ती भाइहरूले उनलाई सम्झाए। साथै स्वैच्छिक अनुदानबाटै राहतकार्य भइरहेको छ अनि यस काममा भाग लिनेहरू सबै स्वयंसेवक हुन्‌ भनेर तिनीहरूले उनलाई राम्ररी बुझाए। ती भाइहरूको कुरा उनलाई एकदमै चित्त बुझ्यो। त्यसपछि ती व्यापारी दालको भाउ घटाउन तयार भए। त्यति मात्र होइन, तिनले अर्को अर्डरको लागि अनुदानस्वरूप ४०० किलो दाल थपिदिए।

“साँचो प्रेमको प्रमाण”

 लुसु नामकी एक वृद्ध विधवा आफ्नो परिवारको पाँच जना सदस्यसँगै लाइबेरियामा बस्छिन्‌। एकचोटि तिनीहरू बिहानको नास्ता खाएपछि दैनिक पद छलफल गर्दै थिए। त्यतिखेर लुसुको सात वर्षीय नातिले घरमा केही पनि खानेकुरा बाँकी नभएको याद गऱ्‍यो। उसले सोध्यो: “अब के खाने?” तिनले नातिलाई आफूले मदतको लागि प्रार्थना गरिसकेकोले यहोवाले पक्कै मदत गर्नुहुनेछ भन्‍ने कुरामा ढुक्क छु भनेर सम्झाइन्‌। त्यही दिन दिउँसोतिर मण्डलीका एल्डरहरूले लुसुलाई केही खाना लिन आउनको लागि फोन गरे। तिनी यसो भन्छिन्‌: “यहोवा प्रार्थना सुन्‍नुहुने र त्यसको जवाफ दिनुहुने परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा मेरो नाति पक्का भएको छ। किनभने उसले यो कुरा आफ्नै आँखाले देख्यो।”

प्रजातान्त्रिक गणतन्त्र कङ्‌गोका केटाकेटीहरूले राहतस्वरूप पाएको खानेकुराको लागि भाइहरूलाई धन्यवाद दिन चित्रहरू कोरे

 प्रजातान्त्रिक गणतन्त्र कङ्‌गोमा एक महिला एउटा साक्षी परिवारको घरनजिकै बस्ने गर्छिन्‌। उक्‍त परिवारले साक्षी भाइबहिनीबाट खानेकुरा पाएको देखेपछि ती महिलाले यसो भनिन्‌: “महामारी सकेपछि हामी यहोवाको साक्षी हुनेछौँ। किनभने तिनीहरूले यस्तो कठिन समयमा आफ्ना दाजुभाइ दिदीबहिनीको हेरचाह गरेका छन्‌।” तिनको श्रीमान्‌ले सोध्यो: “के तिमी एक बोरा चामलको लागि यहोवाको साक्षी बन्छौ?” तिनले जवाफ दिइन्‌, “पक्कै बन्छु किनभने त्यो एक बोरा चामल तिनीहरूको साँचो प्रेमको प्रमाण हो।”

 तपाईँहरूले उदार भई दिनुभएको अनुदानले गर्दा नै यहोवाका साक्षीहरूले यो महामारीको दौडान आफ्ना दाजुभाइ दिदीबहिनीलाई तुरुन्तै मदत गर्न सकेका छन्‌। donate.isa4310.com मा उल्लिखित विभिन्‍न तरिका प्रयोग गरेर अनुदान दिनुभएकोमा तपाईँहरूलाई धन्यवाद!