सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

आध्यात्मिक भोजन बाँड्‌ने एउटा सानो बक्स

आध्यात्मिक भोजन बाँड्‌ने एउटा सानो बक्स

सेप्टेम्बर १, २०२०

 अहिले यहोवाका साक्षीहरूले डिजिटल फर्म्याटमा आध्यात्मिक भोजन पहिलेभन्दा धेरै पाइरहेका छन्‌। तर थुप्रै देशका हाम्रा भाइबहिनीले इन्टरनेटको सुविधा लिन सक्दैनन्‌। अरू केही ठाउँमा भने इन्टरनेट घरीघरी जान्छ, धेरै ढिलो चल्छ वा कतिपय ठाउँमा त इन्टरनेट नै छैन।

 तर खुसीको कुरा, त्यस्ता ठाउँका हाम्रा भाइबहिनीले इन्टरनेटविना नै डिजिटल फर्म्याटमा प्रकाशनहरू डाउनलोड गर्न सक्छन्‌। कसरी?

 JW बक्सले गर्दा! JW बक्स एउटा सानो साधन हो, जुन इन्टरनेटको सुविधा नभएका मण्डलीहरूमा पठाइन्छ। यो बक्सभित्र एउटा कम्पनीबाट किनेको राउटर, बेथेलको कम्प्युटर विभागले तयार पारेको सफ्टवेयर र jw.org मा उपलब्ध भएका डिजिटल फर्म्याटका प्रकाशनहरू र भिडियोहरू राखिएको छ। प्रत्येक बक्सको मूल्य लगभग ७५ अमेरिकी डलर (लगभग ८,८०० नेपाली रुपैयाँ) पर्छ।

 हाम्रा भाइबहिनीले सभाभवनमा भएको यो बक्समा आफ्नो मोबाइल अनि ट्याबलेट तारविना नै जोड्‌न सक्छन्‌। त्यसपछि प्रकाशनहरू र भिडियोहरू डाउनलोड गर्न सक्छन्‌। पुरानो वा साधारण डिभाइसहरूमा पनि डाउनलोड गर्न सकिन्छ। तर मण्डलीमा इन्टरनेटको सुविधा छैन भने कसरी यो बक्समा नयाँ-नयाँ प्रकाशन र भिडियो राखिन्छ त? शाखा कार्यालयले समय समयमा मण्डलीहरूलाई jw.org मा उपलब्ध भएका नयाँ प्रकाशन र भिडियो राखेर पेनड्राइभ पठाउँछ। अनि मण्डलीले यो पेनड्राइभ JW बक्समा जोड्‌छ। एउटा पेनड्राइभको मूल्य लगभग ४ अमेरिकी डलर (लगभग ४७० नेपाली रुपैयाँ) पर्छ।

 JW बक्सले गर्दा हाम्रा भाइबहिनीलाई कस्तो फाइदा पुगेको छ? प्रजातान्त्रिक गणतन्त्र कङ्‌गोमा बस्ने एक जना बुबा नेथन एड्रुआन्ड्रा यसो भन्छन्‌: “मैले ‘हे यहोवा मैले तपाईंकै भरोसा गरेको छु’लूतकी पत्नीलाई सम्झनुहोस्‌ भन्‍ने भिडियो-नाटकहरू डाउनलोड गर्न धेरै प्रयास गरेँ तर कहिल्यै सफल भइनँ। साह्रै नमज्जा लाग्थ्यो। तर अहिले म यी भिडियोहरू आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्छु। यसले हामी बुबाआमालाई आफ्ना छोराछोरीलाई सिकाउन धेरै मदत गरेको छ।”

 मण्डलीहरूलाई JW बक्स सेटअप गर्न मदत दिने नाइजेरियाका भाइ यसो भन्छन्‌: “भाइबहिनीहरू JW बक्सलाई यहोवाले दिनुभएको विशेष उपहारको रूपमा हेर्नुहुन्छ। शिक्षण सामग्रीमा भएका प्रकाशनहरू र भिडियोहरू सजिलै डाउनलोड गर्न सकिने भएकोले उहाँहरू धेरै खुसी हुनुहुन्छ।”

 सङ्‌गठनले १,७०० भन्दा धेरै JW बक्सहरू अफ्रिका, ओसेनिया र दक्षिण अमेरिकामा पठाइसकेको छ। अनि अरू थुप्रै मण्डलीहरूमा पनि पठाउने योजना मिलाउँदै छ। सङ्‌गठनले कसरी यी प्रबन्धहरूको खर्च बेहोर्छ? तपाईँहरूले donate.isa4310.com र अन्य माध्यममार्फत विश्‍वव्यापी कार्यको लागि दिनुभएको अनुदानले गर्दा नै यो सम्भव भएको हो। तपाईँहरूले उदार भएर दिनुभएको अनुदानको लागि धन्यवाद!