सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय बाइस

परीक्षा आइपर्दा तिनी वफादार रहे

परीक्षा आइपर्दा तिनी वफादार रहे

१, २. येशूले कफर्नहुमको सभाघरमा सिकाइरहनुभएको बेला पत्रुसले कस्तो आशा गरिरहेका थिए? तर के भयो?

पत्रुस येशूका श्रोताहरूको अनुहारमा सरसरती हेर्छन्‌। तिनको हेराइमा अचम्मको उत्सुकता छ। यो कफर्नहुममा भएको एउटा सभाघरको दृश्‍य हो। पत्रुसको घर पनि यही ठाउँमा छ। गालील समुद्रको उत्तरी किनारमा पर्ने यही ठाउँमा तिनी माछा मार्ने काम पनि गर्छन्‌। तिनका थुप्रै साथीहरू, आफन्तहरू र चिनजानका व्यापारीहरू पनि यहीं बस्छन्‌। यहाँका मानिसहरूले पनि येशू नै मसीह हुनुहुन्छ भनेर स्वीकार्नेछन्‌ र संसारकै सबैभन्दा महान्‌ यी शिक्षकबाट सिक्न पाउँदा तिनीहरू पनि पक्कै खुसी हुनेछन्‌ भनेर पत्रुसले आशा गरेका थिए। तर आशा गरेजस्तो कहाँ भयो र!

धेरै जनाले येशूको कुरा सुन्‍न छोडेका छन्‌। येशूको कुरा चित्त नबुझेकोले कोही-कोहीचाहिं गनगनाउन थाल्छन्‌। येशूका केही चेलाहरूले समेत गनगन गरेको सुन्दा पत्रुस झनै जिल्ल परेका छन्‌। येशूले तिनीहरूलाई नयाँ कुरा सिकाउनुभएको थियो। त्यो नयाँ कुरा सुनेर तिनीहरू खुसी हुनुपर्थ्यो तर तिनीहरूको अनुहारमा खुसीको कुनै भाव छैन। तिनीहरू निराश देखिन्छन्‌, कोही त रिसाएका पनि छन्‌। अरू कतिपयले भने येशूको शिक्षा कठोर छ भनिरहेका छन्‌। येशूको कुरा सुन्‍न मन नलागेकोले तिनीहरू सभाघरबाट निस्कन्छन्‌। साथै तिनीहरू येशूको पछि लाग्न पनि छोड्‌छन्‌।—यूहन्‍ना ६:६०, ६६ पढ्‌नुहोस्‌।

३. पत्रुसको विश्‍वासले तिनलाई थुप्रै पटक के गर्न मदत गऱ्‍यो?

पत्रुस र तिनका सँगी प्रेषितहरू अलमलमा परेका छन्‌। त्यस दिन येशूले भन्‍न खोज्नुभएको कुरा पत्रुसले पनि बुझ्नै सकेका छैनन्‌। येशूले भनेको कुराको अर्थ नखुलाउने हो भने त्यो साँच्चै नै घिनलाग्दो कुरा हो भनेर तिनलाई थाह छ। पत्रुसले अब के गर्ने होलान्‌? तिनलाई आफ्नो गुरुप्रति वफादार हुने कि नहुने भनेर जाँच आइपरेको छ। यस्तो जाँच आएको न त पहिलो पटक हो, न त अन्तिम नै। यस्तो चुनौतीको सामना गर्न र वफादार रहन विश्‍वासले तिनलाई कसरी मदत गऱ्‍यो, आउनुहोस्‌ हामी विचार गरौं।

अवफादारहरूको बीचमा पनि वफादार

४, ५. मानिसहरूले आसै नगरेको के-कस्ता काम येशूले गर्नुभयो?

येशूको काम देख्दा र उहाँले भनेका कुरा सुन्दा पत्रुस प्रायजसो छक्क पर्थे। येशूले भन्‍नुभएको कुरा र गर्नुभएको काम कहिलेकाहीं मानिसहरूले सोचेको भन्दा एकदमै फरक हुन्थ्यो। एकदिनअघि मात्र उहाँले चमत्कार गरेर हजारौंलाई खुवाउनुभएको थियो। त्यो देखेर मानिसहरूले उहाँलाई राजा बनाउन खोजेका थिए। तर अचम्मको कुरा उहाँ राजा बन्‍न मान्‍नुभएन र आफ्ना चेलाहरूलाई डुङ्‌गामा चढेर कफर्नहुमतिर जान भन्‍नुभयो। त्यस रात चेलाहरूले समुद्रमा डुङ्‌गा खियाइरहेको बेला छाल उर्लिरहेको गालील समुद्रमाथि हिंडेर येशूले चेलाहरूलाई छक्क पार्नुभएको थियो। त्यति नै बेला पत्रुसलाई विश्‍वासबारे ठूलो पाठ पनि सिकाउनुभएको थियो।

बिहान हुँदा त मानिसहरू येशूलाई खोज्दै चेलाहरू भएको ठाउँमै आइपुग्छन्‌। येशूको कुरा सुन्‍न चाहेर त होइन तर उहाँले चमत्कार गरेर केही खुवाउनुहोला कि भन्‍ने आसले मानिसहरू उहाँलाई पछ्याउँदै थिए। खान मात्रै खोज्ने तिनीहरूको सोचाइ भएकोले येशूले तिनीहरूलाई हप्काउनुभयो। (यूह. ६:२५-२७) उहाँले सभाघरमा खानेकुराकै विषयलाई लिएर सिकाउन थाल्नुभयो। हो, कफर्नहुमको त्यही सभाघरमा मानिसहरूले आसै नगरेको र तिनीहरूलाई स्वीकार्न एकदमै गाह्रो भएको तर महत्त्वपूर्ण शिक्षा येशूले सिकाउनुभएको थियो।

६. येशूले कस्तो उदाहरण दिनुभयो? त्यो सुनेर उहाँका श्रोताहरूले कस्तो प्रतिक्रिया देखाए?

येशू मानिसहरूबाट के चाहनुहुन्थ्यो? मानिसहरूले उहाँलाई खाना खुवाउने व्यक्‍तिको रूपमा होइन तर परमेश्‍वरले गर्नुभएको एउटा प्रबन्धको रूपमा स्वीकारून्‌ भन्‍ने उहाँ चाहनुहुन्थ्यो। मानिसको रूपमा उहाँको जीवन र बलिदान नै अनन्त जीवन दिने परमेश्‍वरको माध्यम थियो भनेर तिनीहरूले बुझ्नुपर्थ्यो। त्यसैले उहाँले आफूलाई मन्‍नसँग अर्थात्‌ मोशाको पालामा स्वर्गबाट बर्सिएको रोटीसँग तुलना गर्नुभयो। कोही-कोही उहाँको कुरामा असहमत हुँदा उहाँले एउटा जीवन्त उदाहरण दिनुभयो। जीवन पाउन उहाँको मासु खानुपर्छ र उहाँको रगत पिउनुपर्छ भनेर उहाँले बताउनुभयो। हो, येशूको यही कुरा सुनेर मानिसहरू रिसाएका थिए। कसै-कसैले यसो भने: “यो कुरा असाध्यै घिनलाग्दो छ; कसले यो सुन्‍न सक्छ र?” येशूका केही चेलाहरूले समेत उहाँको पछि नलाग्ने निर्णय गरे। *यूह. ६:४८-६०, ६६.

७, ८. (क) येशूको भूमिकाबारे पत्रुसले कुन कुरा बुझ्न सकेका थिएनन्‌? (ख) येशूले आफ्ना चेलाहरूलाई सोधेको प्रश्‍नको जवाफ पत्रुसले कसरी दिए?

तर पत्रुसले के गर्ने थिए? येशूको कुरा सुनेर तिनी पनि अलमलमा परेका थिए। परमेश्‍वरको इच्छा पूरा गर्न येशू मर्नुपर्छ भनेर तिनले बुझ्न सकेका थिएनन्‌। त्यस दिनदेखि येशूको पछि लाग्न छोडेका अरू चेलाहरू जस्तै के पत्रुसले पनि येशूलाई छोडेर जाने थिए? अहँ, होइन। ती मानिसहरूमा नभएको एउटा महत्त्वपूर्ण कुरा पत्रुसमा थियो। कुन कुरा?

आफ्ना प्रेषितहरूतर्फ फर्केर येशू यसो भन्‍नुहुन्छ: “तिमीहरू त जान चाहँदैनौ नि, होइन र?” (यूह. ६:६७) हुन त उहाँले बाह्रै जनालाई यो प्रश्‍न सोध्नुभएको थियो। तर जवाफ दिन पत्रुस अघि सर्छन्‌। अरू बेला पनि प्रायजसो पत्रुस नै अघि सरेर बोल्थे। येशूका चेलाहरूमध्ये पत्रुस अलि जेठा हुनुपर्छ। जेठोबाठो भएर बोलेको होस्‌ वा अरू नै कारणले, चेलाहरूको समूहमा पत्रुस नै बोलक्कड थिए। पत्रुस आफ्नो मनमा भएका कुरा दबाएर राख्ने खालका मानिस थिएनन्‌। यतिबेला पनि तिनले आफ्नो मनको कुरा यसरी खोलिहाले: “प्रभु, हामी कसकहाँ जाऔं? अनन्त जीवनका वचनहरू त तपाईंसित छन्‌।” कत्ति मनमोहक र अविस्मरणीय शब्दहरू!—यूह. ६:६८.

९. पत्रुस कसरी येशूप्रति वफादार भइरहे?

पत्रुसका शब्दहरूले तपाईंको मन छोएन र? येशूमाथिको पत्रुसको विश्‍वासले तिनलाई एउटा अनमोल गुण विकास गर्न मदत गऱ्‍यो। त्यो हो—वफादारी। यहोवाले प्रबन्ध गर्नुभएको एक मात्र उद्धारक येशू नै हुनुहुन्छ भनेर पत्रुसले प्रस्टै बुझेका थिए। त्यही उद्धारक येशूले मानिसहरूलाई बचाउनको लागि परमेश्‍वरको राज्यबारे सिकाउनुभएको थियो। हुन त येशूका कुनै-कुनै कुरा पत्रुसले राम्रोसँग बुझ्न सकेका थिएनन्‌। तैपनि परमेश्‍वरको अनुमोदन र अनन्त जीवन पाउने हो भने जाने अर्को कुनै ठाउँ छैन भनेर तिनलाई थाह थियो।

येशूका कुनै-कुनै शिक्षा हामीले आशा गरेभन्दा फरक वा हामीलाई मन नपर्ने खालको छ भने पनि वफादार हुँदै त्यसलाई स्वीकार्नुपर्छ

१०. हामी कसरी पत्रुसजस्तै वफादार हुन सक्छौं?

१० तपाईंलाई पनि त्यस्तै लाग्छ कि? दुःखको कुरा आज थुप्रै मानिसहरू येशूलाई प्रेम गर्छु त भन्छन्‌ तर उहाँप्रति वफादार रहँदैनन्‌। येशूप्रति साँच्चै वफादार रहन चाहन्छौं भने उहाँको शिक्षाप्रति हामीले पनि पत्रुसको जस्तै दृष्टिकोण राख्नुपर्छ। येशूका शिक्षाहरू हामीले सिक्नुपर्छ, त्यसको अर्थ बुझ्नुपर्छ र त्यसअनुसार जीवन बिताउनुपर्छ। कुनै-कुनै शिक्षा हामीले आशा गरेभन्दा फरक भएकोले वा हामीलाई मनपर्ने खालको नभएकोले अचम्म पनि लाग्न सक्छ। त्यस्तो बेलामा पनि हामीले पत्रुसको जस्तै दृष्टिकोण राख्नुपर्छ। हामी वफादार भयौं भने मात्र येशूले दिनुहुने अनन्त जीवन पाउन सक्छौं।—भजन ९७:१० पढ्‌नुहोस्‌।

सच्याउँदा पनि वफादार

११. येशू आफ्ना चेलाहरूलाई लिएर कता जानुभयो? (फुटनोट पनि हेर्नुहोस्‌)

११ त्यसको केही समयपछि येशू आफ्ना प्रेषितहरू र केही चेलाहरूलाई लिएर उत्तरतर्फको एउटा लामो यात्रामा निस्कनुहुन्छ। प्रतिज्ञा गरिएको देशको उत्तरी सिमानामा हर्मोन पर्वत छ। हिउँको टोपी लगाएको त्यसको चुचुरो गालील समुद्रबाट पनि कहिलेकाहीं देखिन्छ। येशू र उहाँसँगै यात्रा गरिरहेकाहरू उकालो चढ्‌दै सिजरिया फिलिप्पी नजिकै रहेका गाउँतिर पुग्छन्‌। * त्यहाँबाट हर्मोन पर्वत अझै विशाल र भयानक देखिन्छ। त्यहाँको वातावरण रमणीय छ। त्यहाँबाट दक्षिणतिर हेर्दा प्रतिज्ञा गरिएको देशको धेरै जसो भूभाग पनि देख्न सकिन्छ। यही ठाउँमा येशू आफ्ना अनुयायीहरूलाई एउटा महत्त्वपूर्ण प्रश्‍न सोध्नुहुन्छ।

१२, १३. (क) मानिसहरूले येशूबारे राखेको धारणा उहाँ किन थाह पाउन चाहनुहुन्थ्यो? (ख) पत्रुसले येशूलाई साँच्चै विश्‍वास गरेका थिए भनेर तिनको जवाफबाट कसरी देखियो?

१२ उहाँ भन्‍नुहुन्छ: “भीडले म को हुँ भनी भन्दैछ?” येशूले यो प्रश्‍न सोध्दा पत्रुसले येशूको आँखामा हेरेको हामी कल्पना गर्न सक्छौं। उहाँको आँखामा दया र समझशक्‍ति झल्किएको पनि पत्रुस महसुस गर्न सक्थे। उहाँको कुरा सुनेर अनि उहाँले गरेका कामहरू देखेर मानिसहरू के सोचिरहेका छन्‌ भनेर जान्‍न उहाँ इच्छुक हुनुहुन्थ्यो। उहाँबारे मानिसहरूले राखेका केही गलत धारणाहरू तिनीहरूले बताए। तर येशू आफ्ना चेलाहरूको विचार पनि बुझ्न चाहनुहुन्थ्यो। उहाँसँग नजिकबाट सङ्‌गत गरिरहेका यी चेलाहरूमाझ पनि कतै त्यस्तै गलत धारणा थियो कि? त्यसकारण उहाँले सोध्नुभयो: “त्यसोभए, तिमीहरूचाहिं म को हुँ भन्छौ?”—लूका ९:१८-२०

१३ यसपालि पनि जवाफ दिन पत्रुस नै अघि सरे। ढुक्क हुँदै तिनले यस्तो जवाफ दिए: “तपाईं जीवित परमेश्‍वरका छोरा, ख्रीष्ट हुनुहुन्छ।” त्यहाँ उपस्थित थुप्रैको सोचाइ पनि यस्तै थियो। त्यसपछि येशूले पत्रुसको प्रशंसा गर्नुभयो। उहाँ पत्रुसलाई हेर्दै मुस्कुराउनु पनि भयो होला। साँचो विश्‍वास हुनेहरूलाई यो सत्य स्पष्टसित बुझ्न मदत गर्ने व्यक्‍ति कुनै मानिस नभएर स्वयम्‌ यहोवा नै हुनुहुन्छ भनेर येशूले पत्रुसलाई बताउनुभयो। यहोवाले प्रकट गर्नुभएको सत्यमध्ये सबैभन्दा अनमोल सत्य पत्रुसले बुझ्ने मौका पाएका थिए। हो, तिनले प्रतिज्ञा गरिएको मसीह अर्थात्‌ ख्रीष्टलाई चिन्‍न सकेका थिए।—मत्ती १६:१६, १७ पढ्‌नुहोस्‌।

१४. येशूले पत्रुसलाई कस्तो गम्भीर जिम्मेवारी सुम्पनुभयो?

१४ बाइबल भविष्यवाणीमा येशूलाई एउटा ढुङ्‌गासित तुलना गरिएको छ, जसलाई डकर्मीहरूले काम नलाग्ने ठान्छन्‌। (भज. ११८:२२; लूका २०:१७) यहोवाले एउटा ढुङ्‌गामाथि मण्डली खडा गर्नुहुनेछ भनेर येशूले बताउँदा उहाँको मनमा यही भविष्यवाणी आएको हुनुपर्छ। त्यसपछि उहाँले पत्रुसलाई त्यस मण्डलीमा पूरा गर्नुपर्ने केही गम्भीर जिम्मेवारीहरू सुम्पनुहुन्छ। येशूले अरू चेलाहरूलाई भन्दा पत्रुसलाई उच्च ओहदा दिनुभयो भनेर कोही-कोही सम्झन्छन्‌। तर त्यसो होइन। उहाँले त पत्रुसलाई जिम्मेवारी मात्र दिनुभएको थियो। उहाँले पत्रुसलाई “राज्यका साँचाहरू” दिनुभयो। (मत्ती १६:१९) ती साँचाहरूले गर्दा पहिले यहूदी, त्यसपछि सामरी र अन्तमा गैर-यहूदीहरूले परमेश्‍वरको राज्यमा प्रवेश गर्ने मौका पाउने थिए। त्यसैले पत्रुसको लागि यो जिम्मेवारी साँच्चै नै ठूलो सुअवसर थियो।

१५. येशूको कुन कुरा सुनेर पत्रुसले उहाँलाई हप्काए? तिनले के भने?

१५ जसलाई धेरै दिइएको छ ऊबाट धेरै नै आशा गरिनेछ भनेर पछि येशूले बताउनुभयो। पत्रुसलाई पनि यो कुरा लागू हुने थियो। (लूका १२:४८) मसीहबारे अरू थुप्रै सत्य कुराहरू पनि येशूले बताउनुभयो। तीमध्ये एउटा हो, मसीहले यरूशलेममा अनेकौं दुःख झेल्नुपर्नेछ र पीडादायी मृत्यु भोग्नुपर्नेछ। त्यो कुरा पत्रुसलाई चित्तै बुझ्दैन। तिनी येशूलाई एकातिर लगेर यसो भन्दै हप्काउँछन्‌: “प्रभु, आफ्नो विषयमा त्यस्तो अनिष्ट कुरा नगर्नुहोस्‌। तपाईंलाई कुनै हालतमा यस्तो हुनेछैन।”—मत्ती १६:२१, २२.

१६. येशूले पत्रुसलाई कसरी सच्याउनुभयो? येशूले भन्‍नुभएको कुराबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

१६ येशूको भलो चिताएरै पत्रुसले त्यसो भनेका थिए। तर येशूको जवाफ सुनेपछि तिनी छक्कै परे होलान्‌। पत्रुसबाट फनक्क फर्केर येशू अरू चेलाहरूतिर हेर्नुहुन्छ। किनभने तिनीहरूले पनि पत्रुसले जस्तै सोचिरहेको हुनुपर्छ। त्यसपछि येशू भन्‍नुहुन्छ: “ए सैतान, यहाँबाट गइहाल! तिमी मेरो लागि ठेस लाग्ने कारण रहेछौ, किनकि तिम्रो सोचाइ परमेश्‍वरको होइन तर मानिसहरूको हो।” (मत्ती १६:२३; मर्कू. ८:३२, ३३) यो सुनेर अरू चेलाहरू पनि छक्क परे होलान्‌! येशूका ती शब्दहरूबाट आज हामी सबैले पाठ सिक्न सक्छौं। हामी यहोवाको सोचाइलाई सजिलै बिर्सन्छौं र मानिसको नजरले सोच्न पुग्छौं। चाहे हाम्रो विचार पनि अरूलाई मदत गर्ने नै किन नहोस्‌, यदि यहोवाको सोचाइलाई बिर्स्यौं भने हामीले पनि अनजानमै सैतानलाई खुसी बनाइरहेका हुन्छौं। येशूको कुरा सुनेर पत्रुसले कस्तो प्रतिक्रिया देखाए?

१७. येशूले पत्रुसलाई “यहाँबाट गइहाल” भन्‍नुको मतलब के थियो?

१७ येशूले पत्रुसलाई नै सैतान भन्‍नुभएको होइन भनेर तिनले बुझेको हुनुपर्छ। हुन पनि येशूले पत्रुससित कुरा गर्दा सैतानलाई नै भनेजस्तो गरी भन्‍नुभएको थिएन। सैतानलाई गाली गर्दा येशूले “पर गइहाल्‌!” भन्‍नुभएको थियो। तर पत्रुसलाई गाली गर्दा उहाँले चलाउनुभएको शब्दको अर्थ मूल भाषाअनुसार यस्तो हुन्छ: “मेरो पछाडि बस।” (मत्ती ४:१०) येशूले पत्रुसमा थुप्रै राम्रा कुराहरू देख्नुभएको थियो। उहाँले पत्रुसलाई अबउप्रान्त आफ्नो चेला बनाउनदेखि इन्कार गर्नुभएको थिएन तर पत्रुसको सोचाइलाई सच्याउनुभएको थियो। पत्रुस ठेस लाग्ने ढुङ्‌गाजस्तो बनेर येशूको अगाडि तेर्सिनु हुँदैनथ्यो। बरु उहाँलाई साथ दिने अनुयायी बनेर उहाँको पछि लाग्नुपर्थ्यो।

अनुशासन पाउँदा नम्र हुँदै स्वीकाऱ्‍यौं र त्यसबाट पाठ सिक्यौं भने मात्र हामी येशू ख्रीष्ट र उहाँको बुबा यहोवासित झन्‌झन्‌ नजिक हुन सक्छौं

१८. पत्रुस कसरी वफादार साबित भए? हामी कसरी तिनको सिको गर्न सक्छौं?

१८ के पत्रुसले सफाइ दिन खोजे? तिनी येशूदेखि रिसाए? वा मनमा इबी राखे कि? अहँ! येशूले सुधार्नुहुँदा तिनले नम्र हुँदै स्वीकारे। उहाँप्रति वफादार भएको कुरा तिनले फेरि पनि देखाए। येशूका सबै अनुयायीहरूलाई बेला-बेलामा सुधार चाहिन्छ। अनुशासन पाउँदा नम्र हुँदै स्वीकाऱ्‍यौं र त्यसबाट पाठ सिक्यौं भने मात्र हामी येशू ख्रीष्ट र उहाँको बुबा यहोवासित झन्‌झन्‌ नजिक हुन सक्छौं।—हितोपदेश ४:१३ पढ्‌नुहोस्‌।

सुधार पाउँदा समेत पत्रुस वफादार भइरहे

वफादारीको इनाम

१९. येशूले कस्तो छक्कलाग्दो कुरा बताउनुभयो? त्यो सुनेर पत्रुसले चाहिं के सोचे होलान्‌?

१९ त्यसपछि सबैलाई छक्क पार्ने अर्को कुरा पनि येशू भन्‍नुहुन्छ: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, यहाँ उभिरहेकाहरूमध्ये कोही-कोही यस्ता छन्‌, जसले मानिसको छोरालाई राजाको रूपमा आउँदै गरेको नदेखेसम्म कुनै हालतमा मृत्यु चाख्नेछैनन्‌।” (मत्ती १६:२८) त्यो कुरा सुनेर पत्रुसलाई पक्कै पनि खुलदुली भयो होला। येशूले के भन्‍न खोज्नुभएको थियो? पत्रुसले भर्खरै कडा सुधार पाएका थिए। त्यसैले त्यो विशेष अवसर पाउनेहरूमध्ये आफू पर्दिनँ जस्तो तिनलाई लाग्यो होला।

२०, २१. (क) पत्रुसले देखेको दर्शनबारे बताउनुहोस्‌। (ख) आफ्नो सोचाइ गलत थियो भनेर पत्रुसले कसरी बुझे?

२० त्यसको लगभग एक हप्तापछि याकूब, यूहन्‍ना र पत्रुसलाई लिएर येशू “एउटा अग्लो डाँडामा” जानुहुन्छ। सायद हर्मोन पर्वत होला। किनभने त्यो त्यति टाढा थिएन। ती चेलाहरू त्यसबेला निद्राले झुलिरहेका थिए भनेर बाइबल बताउँछ। त्यसकारण त्यो रातको समय हुनुपर्छ। तर येशूले प्रार्थना गर्न थाल्नुभएपछि एउटा अचम्मको घटना घट्‌छ। त्यसपछि त चेलाहरूको निद्रा कता हराउँछ कता!—मत्ती १७:१; लूका ९:२८, २९, ३२.

२१ एकाएक येशूको रूप परिवर्तन हुन थाल्छ। तिनीहरू हेरेको हेऱ्‍यै हुन्छन्‌! उहाँको अनुहार चम्किन थाल्छ। सूर्यझैं उज्यालो हुन्छ, आँखै तिरमिराउनेगरि! पहिरन पनि सेतो र चम्किलो हुन्छ। त्यसपछि मोशा र एलियाजस्तो देखिने दुई जना मानिसहरू देखा पर्छन्‌। तिनीहरूले “उहाँको बिदाइको विषयमा कुरा गर्न थाले, जो यरूशलेममा हुने निश्‍चित थियो।” यो कुराकानीले पक्कै पनि उहाँको मृत्यु र पुनर्जीवनलाई सङ्‌केत गरेको हुनुपर्छ। येशूले अनेकौं दुःख झेल्नुपर्नेछ र पीडादायी मृत्यु भोग्नुपर्नेछ भन्‍ने कुरा पत्रुसले स्वीकार गरेका थिएनन्‌। तर आफ्नो सोचाइ कत्ति गलत रहेछ भनेर बल्ल तिनी महसुस गर्छन्‌!—लूका ९:३०, ३१.

२२, २३. (क) पत्रुसले कसरी उत्सुकता र दयालु व्यवहार देखाए? (ख) त्यस रात पत्रुस, याकूब र यूहन्‍नाले कस्तो आशिष्‌ पनि पाए?

२२ यो अनौठो दर्शनमा पत्रुस पनि भाग लिन चाहन्छन्‌ र त्यो अझै लम्बियोस्‌ भन्‍ने चाहन्छन्‌। जब मोशा र एलिया येशूबाट बिदा हुन लागेको जस्तो देखिन्छ, तब पत्रुस यसो भन्छन्‌: “गुरुज्यू, हामी यहीं बस्नु उचित हुन्छ। त्यसैले हामीलाई तीनवटा पाल टाँग्न दिनुहोस्‌। एउटा तपाईंको लागि, एउटा मोशाको लागि अनि एउटा एलियाको लागि।” दर्शनमा देखा परेका यहोवाका ती सेवकहरू त धेरै पहिले नै मरिसकेका थिए। त्यसकारण तिनीहरूलाई बास बस्ने पालको जरुरत थिएन। पत्रुसले केही विचारै नगरी बोलिरहेका थिए। तैपनि पत्रुसले देखाएको उत्सुकता र तिनको दयालु व्यवहार प्रशंसायोग्य छ।—लूका ९:३३.

याकूब र यूहन्‍नासँगै पत्रुसले पनि विशेष दर्शन देख्ने सुअवसर पाए

२३ त्यस रात पत्रुस, याकूब र यूहन्‍ना अर्को आशिष्‌ पनि पाउँछन्‌। तिनीहरू बसिरहेको डाँडालाई बादलले ढाक्छ। त्यो बादलबाट एउटा आवाज आउँछ। त्यो स्वयम्‌ यहोवा परमेश्‍वरको आवाज हो! उहाँ भन्‍नुहुन्छ: “यिनी मेरो प्यारो छोरा हुन्‌, जसलाई मैले रोजेको छु। तिमीहरूले उनको कुरा सुन।” यत्तिकैमा दर्शन सकिन्छ। त्यसपछि डाँडामा येशू र उहाँका चेलाहरू मात्र बाँकी रहन्छन्‌।—लूका ९:३४-३६.

२४. (क) येशूको रूप परिवर्तनको दर्शनबाट पत्रुसले कस्तो लाभ उठाए? (ख) त्यस दर्शनबाट हामीचाहिं कस्तो लाभ उठाउन सक्छौं?

२४ येशूको रूप परिवर्तन भएको त्यो दर्शन पत्रुसको लागि साँच्चै आशिष्‌ साबित भयो। त्यो हाम्रो लागि पनि एउटा आशिष्‌ हो। आफूले त्यस रात पाएको आशिष्‌बारे केही दशकपछि पत्रुसले लेखे। “आफ्नै आँखाले देखेको उहाँको वैभव”-बारे तिनले चर्चा गरे। यो दर्शन येशू स्वर्गमा महिमित राजा हुनुभएको कुराको पूर्वझलक थियो भनेर तिनले बताए। त्यस दर्शनले परमेश्‍वरको वचनका अरू थुप्रै भविष्यवाणीहरू पनि सत्य हुन्‌ भनेर प्रमाणित गरिदियो। त्यसले गर्दा पत्रुसको विश्‍वास बलियो भयो र भविष्यमा आउने चुनौतीहरूको सामना गर्न तिनले बल पाए। (२ पत्रुस १:१६-१९ पढ्‌नुहोस्‌) यहोवाले नियुक्‍त गर्नुभएका मालिक येशूबाट सिक्यौं, उहाँको अनुशासन र सुधारलाई स्वीकाऱ्‍यौं र दिनदिनै उहाँको पछि लाग्यौं भने हामी पनि पत्रुसजस्तै वफादार साबित हुनेछौं। त्यसो गर्दा हाम्रो विश्‍वास पनि पत्रुसको जत्तिकै बलियो हुनेछ।

^ अनु. 6 सभाघरमा जम्मा भएका मानिसहरूले केही समयअघि भनेका कुरा र अहिले भर्खरै भनेका कुरा पटक्कै मेल खाँदैन। पहिला तिनीहरूले नै येशूलाई परमेश्‍वरका भविष्यवक्‍ता भनेर स्वीकारेका थिए।—यूह. ६:१४.

^ अनु. 11 गालील समुद्रको किनारदेखि सिजरिया फिलिप्पी नजिकैका गाउँहरूमा पुग्न येशू र उहाँका अनुयायीहरूले ५० किलोमिटर यात्रा गर्नुपर्थ्यो। समुद्री सतहदेखि २१० मिटरको गहिराइबाट सुरु भएको यो यात्रा समुद्री सतहदेखि ३५० मिटर माथि गएर टुङ्‌गिन्छ। यात्राको क्रममा प्राकृतिक सौन्दर्यले भरिएका थुप्रै ठाउँहरू देख्न पाइन्थ्यो।