सीधै सामग्रीमा जाने

अन्तरवार्ता | राकेल हल

एउटी यहुदी स्त्री आफ्नो विश्‍वास जाँच्नुको कारण बताउँछिन्‌

एउटी यहुदी स्त्री आफ्नो विश्‍वास जाँच्नुको कारण बताउँछिन्‌

राकेल हलकी आमा यहुदी इजरायली थिइन्‌ र बुबा यहुदी धर्म अङ्‌गालेका अस्ट्रियन थिए। उनकी आमापट्टिको हजुरआमा र हजुरबुबा जायन धर्म मान्थे र तिनीहरू सन्‌ १९४८ मा इजरायलमा बसाइँ सरेका थिए। इजरायल स्वतन्त्र राष्ट्र बनेको पनि यही सालमा हो। ब्यूँझनुहोस्‌!-ले राकेललाई यहुदी धर्ममाथिको आफ्नो विश्‍वास जाँच्नुको कारण सोध्यो।

आफूबारे केही बताइदिनुहोस्‌ न।

मेरो जन्म सन्‌ १९७९ मा अमेरिकामा भएको थियो। म तीन वर्षको हुँदा बुबा र आमाले सम्बन्धविच्छेद गर्नुभयो। आमाले मलाई यहुदी परम्पराअनुसार हुर्काउनुभयो र यसिबा अर्थात्‌ यहुदी स्कुलमा पठाउनुभयो। म सात वर्षको हुँदा हामी एक वर्षको लागि इजरायलमा बसाइँ सऱ्‍यौँ र त्यहाँ छँदा म हाम्रो बस्तीको स्कुलमा जान्थेँ। पछि आमा र म मेक्सिकोमा बसाइँ सऱ्‍यौँ।

हुनत हाम्रो इलाकामा यहुदी सभाघर थिएन तैपनि म यहुदी रीतिथितिअनुसारै चल्थेँ। म विश्रामदिनमा मैनबत्तीहरू बाल्थेँ, तोरह पढ्‌थेँ अनि हाम्रो प्रार्थनाको किताब सिद्दुरमा भएको प्रार्थना गर्थेँ। स्कुलमा पढ्‌दा म साथीहरूलाई मेरो धर्म नै सबैभन्दा पुरानो धर्म हो भन्‍ने गर्थेँ। मैले येसु ख्रिष्टले पृथ्वीमा छँदा गर्नुभएको सेवाको काम र उहाँको शिक्षाबारे लेखिएको नयाँ नियम कहिल्यै पढेकी थिइनँ। आमाले मलाई त्यो किताब नपढ्‌नू भन्‍नुभएको थियो किनभने त्यसमा भएका शिक्षाहरूले गर्दा ममा नराम्रो असर पर्ला भन्‍ने उहाँलाई डर थियो।

तपाईँले किन नयाँ नियम पढ्‌ने निर्णय गर्नुभयो?

म १७ वर्षकी हुँदा आफ्नो पढाइ पूरा गर्न अमेरिका फर्केँ। मेरो एक जना ख्रिष्टियन साथीले येसुविना तिम्रो जीवन अपूरो हुन्छ भनेर बतायो।

मैले भनेँ, “येसुमा विश्‍वास गर्ने मानिसको जीवन पो अन्धकारमा हुन्छ।”

उसले मलाई सोध्यो, “तिमीले कहिल्यै नयाँ नियम पढेकी छ्यौ?”

मैले भनेँ, “अहँ, छैनँ।”

उसले भन्यो, “आफूलाई थाहै नभएको विषयमा त्यसो भन्‍न सुहाउँछ र?”

उसको कुराले मेरो मनमा चसक्क घोच्यो किनभने आफूलाई थाहै नभएको विषयमा केही भन्‍नु मूर्खता हो जस्तो मलाई लाग्थ्यो। आफूले यस्तो व्यवहार गरेकोमा मलाई साह्रै लाज लाग्यो। त्यसैले उसको बाइबल घर लगेँ अनि नयाँ नियम पढ्‌न थालेँ।

तपाईँले पढ्‌नुभएको कुराले गर्दा तपाईँमा कस्तो प्रभाव पऱ्‍यो?

नयाँ नियमका लेखकहरू यहुदीहरू रहेछन्‌ भनेर थाह पाउँदा म त छक्कै परेँ। मैले यो भाग जत्ति धेरै पढ्‌दै गएँ, येसु एक जना दयालु र नम्र यहुदी हुनुहुँदो रहेछ अनि उहाँले अरूको नाजायज फाइदा उठाउन चाहनुभएन बरु उनीहरूलाई मदत गर्न चाहनुभयो भनेर बुझेँ। मैले पुस्तकालयबाट उहाँबारे किताबहरू पनि ल्याएर पढ्‌न थालेँ। तर यी किताबहरू पढेपछि पनि उहाँ नै मसीह हुनुहुन्छ भनेर पक्का हुन सकिनँ। कुनै-कुनै किताबमा उहाँ परमेश्‍वर हुनुहुन्छ भनिएको थियो र यो कुरा मलाई चित्तै बुझेन। त्यसोभए येसुले कसलाई प्रार्थना गर्नुभयो त? आफैलाई? त्यति मात्र होइन, येसु मर्नुभयो, जबकि बाइबलले परमेश्‍वरबारे भन्छ: “तपाईँको अन्त कहिल्यै हुँदैन।”  *

तपाईँले यी प्रश्‍नहरूको जवाफ कसरी पाउनुभयो?

सत्य आपसमा बाझिँदैन र म जसरी भए पनि सत्य भेट्टाउन चाहन्थेँ। त्यसैले साँचो मनले र आँसुको धारा बगाउँदै मैले परमेश्‍वरलाई प्रार्थना गरेँ। मैले जिन्दगीमा पहिलो चोटि हाम्रो प्रार्थनाको किताबमा भएको प्रार्थना नभई आफैले प्रार्थना गरेँ। मैले प्रार्थना गर्न सिद्ध्याएकी मात्र के थिएँ, कसैले ढोका ढकढक्यायो। ढोका खोलेर हेर्दा दुई जना यहोवाका साक्षी आउनुभएको रहेछ। उहाँहरूले मलाई बाइबलको कुरा बुझ्न मदत गर्ने एउटा पुस्तिका दिनुभयो। साक्षीहरूसित यस पुस्तिकाबाट छलफल गर्दै जाँदा तिनीहरूको विश्‍वास बाइबलमा आधारित छ भनेर म पक्का भएँ। उदाहरणको लागि, साक्षीहरू येसुलाई त्रिएकको भागको रूपमा नभई “परमेश्‍वरको छोरा” * र “परमेश्‍वरको सृष्टिको सुरुवात”-को * रूपमा स्विकार्छन्‌।

त्यसको केही समयपछि म मेक्सिको फर्किएँ र त्यहाँ पनि साक्षीहरूसित मसीहसम्बन्धी भविष्यवाणीहरूबारे अध्ययन गरी नै रहेँ। मसीहसम्बन्धी कत्ति धेरै भविष्यवाणीहरू रहेछन्‌ भनेर थाह पाउँदा म त छक्कै परेँ। तैपनि मेरो मनमा कता-कता अझै शङ्‌का थियो। मलाई लाग्थ्यो, ‘के यी सबै भविष्यवाणी येसुले मात्र पूरा गर्नुभयो र? कतै उहाँ एकदमै चलाख भएर सबै भविष्यवाणी आफैले पूरा गरिरहेको जस्तो नाटक पो गर्दै हुनुहुन्थ्यो कि?’

तपाईँ कसरी विश्‍वस्त हुन सक्नुभयो?

साक्षीहरूले मलाई कसैले पनि पूरा गरेको ढोङ गर्न नसक्ने भविष्यवाणीहरू देखाउनुभयो। उदाहरणको लागि, मसीह जन्मनुभन्दा ७०० वर्षअघि भविष्यवक्‍ता मिकाले उहाँ यहुदियाको बेतलेहेममा जन्मनुहुनेछ भनेर भविष्यवाणी गरेका थिए। * आफू कहाँ जन्मने भनेर कसैले तय गर्न सक्छ र? मसीहलाई घृणित अपराधीसरह मारिनेछ तैपनि उहाँलाई धनी मानिसको चिहानमा राखिनेछ भनेर यसैयाले भविष्यवाणी गरे। * यी सबै भविष्यवाणी येसुमा पूरा भए।

येसु नै मसीह हुनुहुन्छ भन्‍ने अकाट्य प्रमाण उहाँको वंशावलीको विवरणबाट पाएँ। बाइबलमा मसीह राजा दाउदको घरानाबाट आउनेछन्‌ भनिएको थियो। * पुरातन समयका यहुदीहरूले वंशावलीको विवरण राख्ने गर्थे। त्यसैले येसु दाउदको सन्तान नहुनुभएको भए उहाँका शत्रुहरूले खुलेआम उहाँको विरोध गर्ने थिए। तर तिनीहरूले त्यसो गर्न सकेनन्‌ किनभने येसु दाउदको घरानाबाट आउनुभएको कुरामा प्रश्‍न उठाउने ठाउँ नै थिएन। मानिसहरूको भीडले समेत उहाँलाई “दाउदको छोरा” भने।  *

येसुको मृत्यु भएको ३७ वर्षपछि इस्वी संवत्‌ ७० मा रोमी सेनाले यरुसलेमको विनाश गऱ्‍यो। त्यतिबेला वंशावलीको विवरण हरायो वा नाश भयो। त्यसैले वंशावलीबाटै प्रमाणित गर्न मसीह इस्वी संवत्‌ ७० भन्दा अघि नै देखा पर्नु पर्थ्यो।

यो कुरा थाह पाउँदा तपाईँलाई कस्तो लाग्यो?

व्यवस्था १८:​१८, १९ मा परमेश्‍वरले मोसाजस्तै एक जना भविष्यवक्‍ता नियुक्‍त गर्नुहुनेछ भनेर भविष्यवाणी गरिएको थियो। परमेश्‍वरले भन्‍नुभयो: “मेरो नाममा तिनले जे-जति कुरा बोल्छन्‌, ती नसुन्‍ने मानिसहरूसित म लेखा लिनेछु।” पूरै बाइबलको गहन अध्ययन गरेपछि नासरतको येसु नै ती भविष्यवक्‍ता हुनुहुन्छ भनेर म विश्‍वस्त भएँ।