सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बच्चा जन्मँदा वैवाहिक जीवनमा कस्तो परिवर्तन आउन सक्छ?

बच्चा जन्मँदा वैवाहिक जीवनमा कस्तो परिवर्तन आउन सक्छ?

परिवार आनन्दमय बनाउने तरिकाहरू

बच्चा जन्मँदा वैवाहिक जीवनमा कस्तो परिवर्तन आउन सक्छ?

सुगम: a “छोरी जन्मँदा मुना र मेरो खुसीको सीमै थिएन। तर उनी जन्मेको सुरुका केही महिनाहरू मैले अनिदो बिताउनुपऱ्‍यो। छोरीलाई राम्ररी हुर्काउन हामीले सबै किसिमका तयारी गरेका थियौं तर सब बेकार भयो।”

मुना: “छोरी पाएपछि मेरो जीवन आफ्नै रहेन। उसलाई दूध खुवाउने, थाङ्‌ना फेरिदिने र उसलाई फकाउने काम गर्दैमा दिन बित्थ्यो। हामीले ठूलो परिवर्तन गर्नुपऱ्‍यो। सुगम र मबीचको सम्बन्ध पहिलेकै जस्तो सामान्य हुन महिनौं लाग्यो।”

सन्तान जन्माउनु जीवनको सबैभन्दा सुखद क्षणमध्ये एउटा हो भन्‍ने कुरामा थुप्रै सहमत छन्‌। बाइबलले छोराछोरीलाई परमेश्‍वरले दिनुभएको “इनाम” भनेको छ। (भजन १२७:३) छोराछोरी जन्मेपछि दाम्पत्य जीवनमा अप्रत्याशित तरिकामा परिवर्तनहरू आउँछ भनेर सुगम र मुनाजस्तै भर्खरै आमाबाबु बनेकाहरूलाई पनि थाह छ। जस्तै:- आमाको पूरै ध्यान आफ्नो बच्चामा केन्द्रित हुन सक्छ। हरेक चोटि बच्चा रूँदा उसलाई के चाहियो होला भनेर आफ्नो मन र तन उसैमा जान सक्छ। त्यस्तै गरी भर्खरै बुबा भएकालाई आफ्नी श्रीमती र बच्चाबीचको बलियो बन्धन देख्दा अचम्म लाग्न सक्छ। तर आफू अकस्मात्‌ एक्लो भएकोमा भने तिनलाई चिन्ता लाग्न सक्छ।

वास्तवमा पहिलो बच्चा जन्मँदा त्यसले दाम्पत्य जीवनमा थुप्रै समस्या ल्याउन सक्छ। छोराछोरी हुर्काउनुको चिन्ताले भावनात्मक असुरक्षा र विवाहित जोडीमा टुङ्‌गो नलागेका विवादहरू फेरि देखा पर्न सक्छन्‌ र ती समस्याहरू झनै चर्किन सक्छन्‌।

सुरुका केही महिना आफ्नो सम्पूर्ण ध्यान नवजात शिशुलाई दिनुपर्दा भर्खरै आमाबाबु बनेकाहरूले कसरी त्यसको सामना गर्न सक्छन्‌? विवाहित दम्पतीले आफ्नो घनिष्ठ सम्बन्ध कायम राख्न के गर्न सक्छन्‌? छोराछोरी हुर्काउने सन्दर्भमा आपसमा कुनै कुरा नमिल्दा कसरी त्यसको सामना गर्न सक्छन्‌? यी चुनौतीहरू एक-एक गरी केलाऔं र यी चुनौतीहरूको सामना गर्न बाइबल सिद्धान्तहरूले विवाहित दम्पतीलाई कसरी मदत दिन सक्छ, विचार गरौं।

चुनौती नं. १: एकाएक सम्पूर्ण ध्यान बच्चामै जान्छ।

आमाको सम्पूर्ण समय र ध्यान बच्चाको स्याहारसुसार गर्नमै बित्छ। बच्चाको स्याहार गर्दा तिनलाई गहिरो सन्तुष्टि महसुस हुन सक्छ। अर्कोतर्फ, पतिलाई भने पत्नीले आफ्नो कुनै वास्ता नगरेको जस्तो लाग्न सक्छ। ब्राजिलका मानवेल भन्छन्‌: “पहिले मेरी श्रीमतीको लागि म नै सबै कुरा थिएँ। तर अचानक तिनको लागि छोरा नै सबै कुरा भयो। यो कुरा स्वीकार्न मलाई साह्रै गाह्रो भयो। छोरा जन्मनुअघि हामी दुई जनाको संसार थियो तर अब भने उनीहरू दुई जनाको छुट्टै संसार भयो।” यस्तो परिवर्तनको तपाईं कसरी सामना गर्न सक्नुहुन्छ?

सफलताको सूत्र: धीरजी हुनुहोस्‌। बाइबल भन्छ: “प्रेम धीरजी र दयालु हुन्छ।” प्रेमले “आफ्नै फाइदा खोज्दैन, आवेशमा आउँदैन।” (१ कोरिन्थी १३:४, ५) नवजात शिशु जन्मँदा पतिपत्नीले यो सल्लाह कसरी लागू गर्न सक्छन्‌?

एक जना बुद्धिमान्‌ पतिले आफ्नी पत्नीप्रतिको प्रेम कसरी देखाउन सक्छन्‌? बच्चा जन्माउँदा एउटी स्त्रीमा शारीरिक तथा मानसिक रूपमा कस्ता परिवर्तनहरू देखिन्छन्‌ भनी बुझ्ने कोसिस गरेर। तिनले यसरी बुझ्ने कोसिस गरेमा पत्नीको मुड किन छिनछिनमा परिवर्तन भइरहन्छ भनेर थाह पाउनेछन्‌। b फ्रान्सका आदम, जसकी ११ महिनाकी छोरी छे, उनी यो कुरा मानिलिन्छन्‌: “मेरी श्रीमतीको मुड बद्‌लिएको कुरा कहिलेकाहीं म बुझ्नै सक्दिनँ। अनि त सहनै गाह्रो हुन्छ। तर वास्तवमा उनले मलाई नै मन नपराएकी होइनन्‌ भनेर सम्झने कोसिस गर्छु। बरु यो नौलो परिवेशले गर्दा उनको मनमा आएको आवेग मात्र हो।”

मदत गर्न खोज्दा तपाईंकी श्रीमतीले कहिलेकाहीं त्यसको गलत अर्थ लगाउन खोज्छिन्‌ कि? त्यसो गर्छिन्‌ भने तुरुन्तै नरिसाइहाल्नुहोस्‌। (उपदेशक ७:९) बरु आफ्नो होइन, धीरजी हुँदै तिनको आवश्‍यकतालाई ध्यान दिने कोसिस गर्नुहोस्‌। यसो गर्दा तपाईं निराश हुनबाट जोगिन सक्नुहुनेछ।—हितोपदेश १४:२९.

अर्कोतर्फ, समझदार पत्नीले आफ्नो पतिलाई तिनको नयाँ भूमिका निर्वाह गर्न प्रोत्साहन दिने कोसिस गर्नेछिन्‌। थाङ्‌ना फेर्ने वा दूधको बोटल तयार गर्नेजस्ता काम पतिले सुरु-सुरुमा ढङ्‌ग नपुऱ्‍याई गरेको जस्तो देखिए तापनि बच्चाको स्याहार गर्न धीरजी भई सिकाउनेछिन्‌।

एलेन नाम गरेकी २६ वर्षीया आमाले पतिसित व्यवहार गर्ने सन्दर्भमा आफूले केही काँटछाँट गर्नुपर्ने कुरा महसुस गरिन्‌। उनी भन्छिन्‌: “छोरीलाई सधैं आफूसँग मात्रै राख्न खोज्ने बानीलाई मैले हटाउनुपरेको थियो। अनि श्रीमान्‌ले मेरो सुझावअनुसारै छोरीको स्याहार गर्न खोज्दा, ‘यसरी हैन’ भनेर कचकच गर्ने बानीलाई पनि नियन्त्रण गर्नुपरेको थियो।”

यसो गरे कसो होला? पत्नीहरू हो, बच्चाको स्याहार गर्दा तपाईंको पतिले कुनै-कुनै काम तपाईंले गर्नेभन्दा बेग्लै ढङ्‌गमा गर्छन्‌ भने तिनलाई सुधारिहाल्ने वा सबै काम फेरि आफैले गर्ने नगर्नुहोस्‌। पतिले गरेको कामको प्रशंसा गर्नुहोस्‌। यसो गर्दा तपाईंले तिनको मनोबल बढाउनुका साथै तपाईंलाई आवश्‍यक पर्ने सहयोग दिनको लागि प्रोत्साहन दिइरहनुभएको हुनेछ। अनि पतिहरू हो, विशेषगरि बच्चा जन्मेको सुरुका महिनाहरूमा आफ्नी पत्नीलाई सकेसम्म धेरै समय दिन सकियोस्‌ भनेर अरू अनावश्‍यक गतिविधिहरू कटौती गर्नुहोस्‌।

चुनौती नं. २: दम्पतीको रूपमा तपाईंको सम्बन्ध कमजोर हुन्छ।

घरीघरी ब्यूँझिरहनुपरेकोले र आसै नगरेका समस्याले थकित पारेकोले भर्खरै आमाबाबु बनेका थुप्रैले वैवाहिक सम्बन्ध न्यानो बनाइराख्न सङ्‌घर्ष गर्छन्‌। दुई छोराछोरीकी फ्रान्सेली आमा भिभिएन यो कुरा स्वीकार्छिन्‌: “सुरु-सुरुमा बच्चाको स्याहारसुसार गर्न आमाको भूमिकालाई म यति साह्रो ध्यान दिन्थें कि पत्नीको भूमिकालाई चाहिं म बिर्सन्थें।”

अर्कोतिर गर्भावस्थाको कारण आफ्नी पत्नीमा परेको शारीरिक अनि भावनात्मक असरलाई पतिले बुझ्न नसकिरहेका हुन सक्छन्‌। तपाईंले पहिला एक-अर्काको भावनात्मक आवश्‍यकता र यौन चाहना पूरा गर्न बिताउने समय र शक्‍ति बच्चा स्याहार्नमै खर्च हुन सक्छ। त्यसोभए, आफ्नो निस्सहाय प्यारो बच्चा वैवाहिक जीवनमा तगारो नबनोस्‌ भन्‍नका लागि पतिपत्नीले के गर्न सक्छन्‌?

सफलताको सूत्र: आफ्नो प्रेमबारे एक-अर्कालाई विश्‍वस्त गराउनुहोस्‌। वैवाहिक सम्बन्धबारे बाइबल यसो भन्छ: “मानिसले आफ्ना आमा-बाबुलाई छोड्‌छ, र आफ्नी स्वास्नीसँग मिलिरहन्छ, औ तिनीहरू एउटै जीउ हुन्छन्‌।” c (उत्पत्ति २:२४) छोराछोरीले अन्ततः आफ्नो आमाबाबुलाई छोड्‌नेछन्‌ भनेर यहोवाले भन्‍नुभयो। तर यसको विपरीत, पति र पत्नी बाँचुन्जेल एउटै शरीर भएको यहोवा चाहनुहुन्छ। (मत्ती १९:३-९) यस तथ्यलाई विचार गर्दा भर्खरै बच्चा जन्माएका दम्पतीले आफ्नो प्राथमिकता तय गर्न कसरी मदत पाउन सक्छन्‌?

अगाडि उल्लिखित भिभिएन भन्छिन्‌: “मैले उत्पत्ति २:२४ का शब्दहरूलाई गहिरिएर विचार गरें र यो पदले मलाई म आफ्नो पतिसँग ‘एउटै जीउ’ भएकी हुँ, बच्चासँग होइन भनेर बुझ्न मदत गऱ्‍यो। त्यसैले हाम्रो सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने आवश्‍यकता मैले महसुस गरें।” दुई वर्षकी छोरीकी आमा टेरेसा भन्छिन्‌: “श्रीमान्‌सितको सम्बन्ध चिसिएको जस्तो महसुस भयो भने म तुरुन्तै आफ्नो पूरै ध्यान उहाँलाई दिने कोसिस गर्छु। हरेक दिन एकैछिन भए पनि उहाँलाई समय दिने कोसिस गर्छु।”

तपाईं पति हुनुहुन्छ भने आफ्नो दाम्पत्य जीवन बलियो बनाउन के गर्न सक्नुहुन्छ? आफ्नी पत्नीलाई ‘म तिमीलाई माया गर्छु’ भन्‍नुहोस्‌। बोलीको साथै कोमल व्यवहार पनि देखाउनुहोस्‌। तपाईंकी पत्नीलाई आफू असुरक्षित छु जस्तो लाग्छ भने त्यस्तो भावना हटाउन अथक प्रयास गर्नुहोस्‌। सारा नामकी ३० वर्षीया आमा भन्छिन्‌: “सुत्केरी हुनुअघि आफ्नो जीउडाल जस्तो थियो, अहिले त्यस्तो नभए तापनि एउटी पत्नीको चाहना भनेको पतिले आफूलाई पहिले जत्तिकै मोल गरिदेओस्‌ अनि माया गरिदेओस्‌ भन्‍ने हुन्छ।” जर्मनीमा बस्ने दुई छोराका बुबा आलन आफ्नी पत्नीको भावनात्मक आवश्‍यकता पूरा गर्नुपर्ने कुरा बताउँछन्‌। तिनी भन्छन्‌: “मेरी श्रीमती दुःखी हुँदा म सधैं उनलाई सान्त्वना दिने कोसिस गर्छु।”

बच्चाको जन्म हुँदा दम्पतीको यौनजीवनमा खलल पुग्नु स्वाभाविकै हो। त्यसैले पतिपत्नीले एक-अर्काको आवश्‍यकताबारे कुरा गर्नुपर्छ। पतिपत्नीको यौनजीवनमा आएका परिवर्तनहरूलाई “आपसी समझदारीमा” सुल्झाउनुपर्छ भनी बाइबल बताउँछ। (१ कोरिन्थी ७:१-५) त्यसको लागि आपसमा कुराकानी गर्नुपर्छ। कसै-कसैलाई आफू हुर्केको वातावरण वा आफ्नो सांस्कृतिक पृष्ठभूमिले गर्दा आफ्नो जोडीसित यौनबारे कुराकानी गर्न अप्ठेरो लाग्न सक्छ। तर छोराछोरी हुर्काउने सन्दर्भमा त्यस्तो कुराकानी गर्नु महत्त्वपूर्ण छ। इमानदार हुनुहोस्‌। समानुभूति र धैर्य देखाउनुहोस्‌। (१ कोरिन्थी १०:२४) त्यसो गर्नुभयो भने तपाईंहरूबीच गलतफहमी हुनेछैन र एक-अर्काप्रतिको माया अझ गाढा हुनेछ।—१ पत्रुस ३:७, ८.

एकले अर्कोप्रति कृतज्ञता व्यक्‍त गरेर पनि पतिपत्नीबीचको माया गाढा बनाउन सकिन्छ। आफ्नी पत्नीले आमाको रूपमा खासै केही गरेको नदेखिए तापनि तिनले धेरै गरेकी छिन्‌ भनेर बुद्धिमान्‌ पतिले बुझ्छन्‌। भिभिएन भन्छिन्‌: “बच्चाको स्याहारसुसार गर्न दिनभरि व्यस्त भए तापनि दिनको अन्तमा अक्सर आफूले केही नगरेको जस्तो महसुस हुन्छ!” आफू जति नै व्यस्त भए तापनि पतिले परिवारको लागि गरेको कामलाई समझदार पत्नीले बेवास्ता गर्दिनन्‌।—हितोपदेश १७:१७.

यसो गरे कसो होला? आमाहरू हो, सम्भव भए बच्चा सुतिरहेको बेला तपाईं पनि एकछिन पल्टनुहोस्‌। यसो गर्दा तपाईंले आफ्नो वैवाहिक जीवनमा चाहिने शक्‍तिको लागि “ब्याट्री चार्ज” गरिरहनुभएको जस्तै हुनेछ। बुबाहरू हो, पत्नीले आराम गर्न सकोस्‌ भन्‍नाका लागि सम्भव भएमा राती उठेर बच्चालाई खुवाउने र थाङ्‌ना फेरिदिने गर्नुहोस्‌। पत्नीलाई माया गर्नुहुन्छ भनी विश्‍वस्त गराउन नियमित रूपमा नोट लेखेर छोड्‌नुहोस्‌, एस एम एस पठाउनुहोस्‌ वा फोन गर्नुहोस्‌। दुई जना मात्रै बसेर कुराकानी गर्ने समय मिलाउनुहोस्‌। आफ्नो बच्चाको बारेमा मात्र होइन, एक-अर्काबारे पनि कुरा गर्नुहोस्‌। आफ्नो जोडीसितको मित्रतालाई बलियो बनाइराख्नुहोस्‌। यसो गर्नुभयो भने छोराछोरी हुर्काउँदा आइपर्ने चुनौतीहरू सफलतासाथ सामना गर्न सक्नुहुनेछ।

चुनौती नं. ३: छोराछोरी हुर्काउनेबारे असहमति हुन्छ।

पृष्ठभूमि नमिलेको कारण कहिलेकाहीं भनाभन पर्न सक्छ। आसामी नाम गरेकी जापानी आमा र तिनको पति कात्सुरोले यस्तै चुनौती सामना गरे। आसामी भन्छिन्‌: “उहाँले छोरीलाई टाउकोमै टेकाउँदै हुनुहुन्छ जस्तो मलाई लाग्थ्यो। अनि उहाँलाई चाहिं म छोरीप्रति अति नै कठोर भएको जस्तो लाग्थ्यो।” पतिपत्नीबीचको यस्तो असमझदारी कसरी हटाउन सकिन्छ?

सफलताको सूत्र: आफ्नो जोडीसित कुराकानी गर्नुहोस्‌ र एक-अर्कालाई सहयोग गर्नुहोस्‌। बुद्धिमान्‌ राजा सुलेमानले लेखे: “अट्टेरीको घमन्डले झगडा उठाउँछ, सर-सल्लाह लिनेहरूका बीचमा बुद्धि पाइन्छ।” (हितोपदेश १३:१०) तपाईंको जोडीलाई छोराछोरी हुर्काउने तरिकाबारे के-कति ज्ञान छ, त्यसबारे तपाईंलाई कत्तिको थाह छ? ‘छोरा पाउनु कहिले-कहिले भोटो सिउनु अहिले’ भन्‍ने सोचाइ राखेर छोराछोरीलाई प्रशिक्षण दिने कुराबारे पछि विचार गरौंला नभन्‍नुहोस्‌। त्यसो गर्नुभयो भने समस्या समाधान गर्नतिर लाग्नुको सट्टा तपाईंहरू दुईबीच असहमति उत्पन्‍न हुनेछ।

उदाहरणका लागि, यी प्रश्‍नहरूको सन्दर्भमा कस्तो सहमतिमा पुग्नुभएको छ: “हामी आफ्नो बच्चालाई खाने र सुत्ने राम्रो बानी बसाल्न कसरी सिकाउन सक्छौं? सुत्ने बेलामा बच्चा रोयो भने उसलाई फकाउन सधैं उठ्‌नुपर्छ? बच्चालाई दिसा-पिसाब गर्न कसरी सिकाउन सक्छौं?” तपाईंले गर्नुभएको निर्णय अरू आमाबाबुको भन्दा पक्कै फरक हुनेछ। दुई छोराछोरीका बुबा इथान भन्छन्‌: “साझा सहमतिमा पुग्न कुराकानी नगरी हुँदैन। अनि मात्रै एकसाथ मिलेर बच्चाको आवश्‍यकता पूरा गर्न सकिन्छ।”

यसो गरे कसो होला? तपाईंका आमाबाबुले तपाईंलाई हुर्काउँदा के-कस्तो कदम चाल्नुभएको थियो, सम्झनुहोस्‌। आफ्नो छोराछोरी हुर्काउने सन्दर्भमा उहाँहरूको कस्तो मनोवृत्ति र उहाँहरूले चाल्नुभएका कस्ता कदमहरू तपाईं पछ्याउन चाहनुहुन्छ, निर्णय गर्नुहोस्‌। उहाँहरूको मनोवृत्ति र काममध्ये कुनचाहिं तपाईं दोहोऱ्‍याउन चाहनुहुन्‍न, त्यो पनि निर्णय गर्नुहोस्‌। आफ्नो निर्णय आफ्नो जोडीसँग छलफल गर्नुहोस्‌।

बच्चाको जन्मले वैवाहिक जीवनमा खुसीको बहार ल्याउन सक्छ

बरफमा स्केटिङ गर्ने अनुभवहीन जोडीले सन्तुलन कायम राख्न धीरजी भई निकै समय अभ्यास गर्नुपर्ने हुन्छ। त्यसैगरि आमाबाबुको रूपमा तपाईंले आफ्नो नयाँ भूमिका सफलतापूर्वक निर्वाह गर्न पनि समय लाग्छ। समयको दौडान तपाईंको आत्मबल बढ्‌नेछ।

छोराछोरी हुर्काउँदा वैवाहिक सम्बन्धप्रतिको तपाईंको वचनबद्धताको जाँच हुन्छ र यसले तपाईं दुई बीचको सम्बन्धलाई सदाका लागि नयाँ मोड दिनेछ। तर यसले तपाईंलाई बहुमूल्य गुणहरू विकास गर्ने मौका पनि दिनेछ। बाइबलका बुद्धिमानी सल्लाहहरू अपनाउनुभयो भने तपाईंले पनि केनेथ नाम गरेका बुबाले जस्तै अनुभव गर्नुहुनेछ: “छोराछोरी हुर्काउनु म र मेरी श्रीमतीको लागि राम्रो मौका साबित भएको छ। हामी पहिलाजस्तो आत्मकेन्द्रित छैनौं र अझै राम्रोसँग एक-अर्काको कुरा बुझ्न अनि मायालु हुन सिकेका छौं।” वैवाहिक जीवनमा त्यस्ता परिवर्तनहरू आउनु पक्कै पनि राम्रो कुरा हो। ( w11 -E 05/01)

[फुटनोटहरू]

a यस लेखमा नामहरू परिवर्तन गरिएका छन्‌।

b बच्चा जन्मेको केही हप्तासम्म थुप्रै आमालाई कहिलेकाहीं निराशाले सताउँछ। कसै-कसैले अझै गम्भीर प्रकारको निराशाको सामना गर्छन्‌, जसलाई प्रसव-उदासीनता भनिन्छ। यो समस्या पत्ता लगाउने र यसको सामना गर्ने तरिकाबारे थप जानकारीका लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित ब्यूँझनुहोस्‌!, सेप्टेम्बर ८, २००२ को “मैले प्रसव-उदासीनताको सामना गरें” र ब्यूँझनुहोस्‌!, जून ८, २००३ (अङ्‌ग्रेजी) को “प्रसव-उदासीनताको समस्यालाई बुझ्ने” भन्‍ने लेख हेर्नुहोस्‌।

c शास्त्रविद्‌हरूको एउटा किताबअनुसार उत्पत्ति २:२४ मा “मिलिरहन्छ” भनेर अनुवाद गरिएको हिब्रू क्रियाले ‘वफादार भएर अनि स्नेह देखाएर कसैसित टाँसेर रहनु’-लाई बुझाउँछ।

आफैलाई सोध्नुहोस्‌ . . .

▪ मेरो श्रीमान्‌ / श्रीमतीले परिवारको लागि गरेको मेहनतप्रति म कृतज्ञ छु भनी देखाउन गत हप्ता मेलै के गरें?

▪ छोराछोरी हुर्काउनेबाहेक अरू विषयमा आफ्नो श्रीमान्‌ / श्रीमतीसँग मन खोलेर कुरा गर्न मैले योभन्दा पहिले कहिले समय निकालेको थिएँ?