सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“हे परमप्रभु, तपाईंका कार्यहरू कस्ता किसिम किसिमका छन्‌”

“हे परमप्रभु, तपाईंका कार्यहरू कस्ता किसिम किसिमका छन्‌”

यहोवाको सृष्टिको वैभव

“हे परमप्रभु, तपाईंका कार्यहरू कस्ता किसिम किसिमका छन्‌”

चाहे हामी गाउँमा बसौं या सहरमा, पहाडमा बसौं या समुद्र नजिकै, हाम्रो चारैतिर सृष्टिको विस्मयकारी वैभव छ। त्यसैकारण त सन्‌ २००४ यहोवाका साक्षीहरूको क्यालेन्डर-मा यहोवा परमेश्‍वरको उदेकलाग्दो हस्तकलाको भव्य आकर्षक दृश्‍य समेटिएको छ।

कृतज्ञ मानिसहरूले सधैं परमेश्‍वरका कार्यहरूप्रति चासो देखाएका छन्‌। उदाहरणका लागि, “पूर्वका सबै मानिसहरूका बुद्धिलाई माथ गर्ने” बुद्धि भएका व्यक्‍ति सुलेमानलाई विचार गर्नुहोस्‌। बाइबल यसो भन्छ: “तिनले रूखहरूका विषयमा, लबानोनका देवदारदेखि लिएर भित्तामा उम्रने झार विशेषसम्मका विषयमा पशुहरू, पक्षीहरू, घस्रने जन्तुहरू र माछाहरूका विषयमा बताउँथे।” (१ राजा ४:३०, ३३) सुलेमानका पिता राजा दाऊदले अक्सर परमेश्‍वरका उत्कृष्ट कृतिहरूबारे मनन गर्थे। तिनी आफ्नो रचनाकारलाई यस्तो उद्‌गार व्यक्‍त गर्न उत्प्रेरित भए: “हे परमप्रभु, तपाईंका कार्यहरू कस्ता किसिम किसिमका छन्‌। ती सबै तपाईंले आफ्नो बुद्धिले बनाउनुभएको हो। पृथ्वी तपाईंको सम्पत्तिले परिपूर्ण छ।”—भजन १०४:२४. a

हामीले पनि सृष्टिलाई नियालेर त्यसबारे मनन गर्नुपर्छ। उदाहरणका लागि, हामी “[आफ्नो] आँखा माथि उठाएर” यस्तो प्रश्‍न सोध्न सक्छौं: “यी कसले बनाएका हुन्‌?” “शक्‍तिको बड़प्पन” अनि साँच्चै “सामर्थ्यमा बलियो” हुनुहुने यहोवा परमेश्‍वरले नै हो!—यशैया ४०:२६.

यहोवाका सृजनात्मक कार्यहरूमा मनन गर्दा त्यसले हामीमा कस्तो असर पार्नुपर्छ? कम्तीमा पनि तीन तरिकामा असर पार्नुपर्छ। यसले (१) हामीलाई आफ्नो जीवनको कदर गर्न सम्झाउन सक्छ, (२) अरूलाई सृष्टिबाट सिक्न मदत गर्न हामीलाई उत्प्रेरित गर्न सक्छ र (३) हाम्रो सृष्टिकर्तालाई अझ राम्ररी चिन्‍न र उहाँको मूल्याङ्‌कन गर्न प्रेरित गर्न सक्छ।

“चैतन्यहीन पशु[को]” भन्दा कता हो कता उत्कृष्ट हाम्रो मानव जीवनले हामीलाई सृष्टिका अचम्मलाग्दा कुराहरू नियाल्न तथा त्यसको मूल्याङ्‌कन गर्न उत्प्रेरित गर्छ। (२ पत्रुस २:१२) हाम्रो आँखाले मनोरम प्राकृतिक दृश्‍यहरू हेर्न सक्छ। हाम्रो कानले चराहरूको सुमधुर गीत सुन्‍न सक्छ। अनि समय र ठाउँप्रतिको हाम्रो सजगताले गर्दा हामी विगतका मीठा पलहरूको सम्झना गर्न सक्छौं। हाम्रो वर्तमान जीवन सिद्ध नभए तापनि यो जीवन पक्कै जीउन लायकको छ!

छोराछोरीलाई मनपर्ने सृष्टिका कुराहरूबाट आमाबाबुले आनन्द उठाउन सक्छन्‌। समुद्री तटमा सङ्‌खे कीराहरू खोज्दा, घरमा कुनै पाल्तु पशु पाल्दा र रूख चढ्‌न पाउँदा केटाकेटीहरू असाध्यै रमाउँछन्‌! आमाबाबुहरू आफ्ना छोराछोरीलाई सृष्टि र सृष्टिकर्ताबीचको सम्बन्ध बुझ्ने मदत दिन इच्छुक हुनेछन्‌। यहोवाको सृष्टिप्रति छोराछोरीले विकास गर्ने श्रद्धा तथा आदर उनीहरूको जीवनभर रहिरहन सक्छ।—भजन १११:२, १०.

सृष्टिको चाहिं खूबै तारिफ गर्छौं तर त्यसको श्रेय सृष्टिकर्तालाई दिन सकेनौं भने त हामी अति नै अदूरदर्शी हुनेछौं। यशैयाको भविष्यवाणीले हामीलाई यही बुँदामा मनन गर्न मदत गर्दै यसो भन्छ: “के तँलाई थाह छैन? के तैंले सुनेको छैनस्‌? परमप्रभु सनातनका परमेश्‍वर, उहाँ सारा पृथ्वीका सृष्टिकर्त्ता हुनुहुन्छ। उहाँ नता दुर्बल, न थकित हुनुहुन्छ। उहाँको समझ अथाह छ।”—यशैया ४०:२८.

हो, यहोवाका कार्यहरूले उहाँको बेजोड बुद्धि, उहाँको अतुलनीय शक्‍ति र हामीप्रतिको उहाँको गहिरो प्रेमको प्रमाण दिन्छन्‌। आफ्नै वरपरको सुन्दरता हेर्दा र यी सबै कुरा बनाउनुहुनेका गुणहरू विचार गर्दा दाऊदजस्तै हामी पनि यसो भन्‍न उत्प्रेरित हुन सकौं: “हे परमप्रभु, . . . तपाईंजस्तै अरू कोही छैन। तपाईंका कामहरूजस्ता अरू कुनै कामहरू छैनन्‌।”—भजन ८६:८.

यहोवाका सृजनात्मक कार्यहरू देखेर आज्ञाकारी मानिसहरू मोहित भई नै रहनेछन्‌ भन्‍ने कुरामा हामी विश्‍वस्त हुन सक्छौं। सदा-सर्वदै हामीले यहोवाबारे धेरैभन्दा धेरै कुरा सिक्ने अनगन्ती सुअवसरहरू पाइरहनेछौं। (उपदेशक ३:११) अनि उहाँबारे हामी जति बढी सिक्छौं, हामी सृष्टिकर्तालाई पनि उत्ति नै बढी प्रेम गर्नेछौं।

[फुटनोट]

a सन्‌ २००४ यहोवाका साक्षीहरूको क्यालेन्डर, नोभेम्बर/डिसेम्बर हेर्नुहोस्‌।

[पृष्ठ ९-मा भएको पेटी]

सृष्टिकर्ताको प्रशंसा

थुप्रै कृतज्ञ वैज्ञानिकहरू सृष्टिमा परमेश्‍वरको हात छ भनेर मानिलिन्छन्‌। यसका केही उदाहरणहरू तल दिइएका छन्‌:

“कुनै नौलो कुरा पत्ता लगाएको बेला र मनमनै ‘बल्ल बुझें, परमेश्‍वरले यसरी पो बनाउनुभएको रहेछ’ भनेको बेला म विज्ञानको महत्त्व बुझ्नुका साथै त्यसबाट आनन्द प्राप्त गर्छु। मेरो लक्ष्य परमेश्‍वरको योजनाको एउटा सानो अंशलाई बुझ्ने प्रयास गर्नु हो।”—रसायनशास्त्रका प्राध्यापक हेन्री साफर।

“ब्रह्‍माण्डको फैलावट कसरी भयो भन्‍ने कुराको निष्कर्ष स्वयम्‌ पाठकले निकाल्नुपर्छ तर उहाँको [परमेश्‍वरको] विषयमा राम्ररी नबुझुन्जेल हाम्रो समझ अधूरै रहन्छ।”—ब्रह्‍माण्डसम्बन्धी बेलाइती विज्ञान शास्त्री एड्‌वर्ड मिल्न।

“यथासम्भव सबैभन्दा उत्कृष्ट गणितद्वारा प्रकृतिको वर्णन गरिएको छ भन्‍ने कुरा हामीलाई थाह छ किनभने यसको सृष्टिकर्ता परमेश्‍वर हुनुहुन्छ।”—रूसी गणितज्ञ अलेकज्याण्डर पोल्याकोभ।

“प्राकृतिक तत्त्वहरूको अध्ययन गर्ने सिलसिलामा हामीले सृष्टिकर्ताको विचारधारा बुझिरहेका छौं, उहाँका धारणाहरूसित परिचित भइरहेका छौं र हाम्रो होइन, उहाँले स्थापित गर्नुभएको प्रणालीको अर्थ लगाउन खोज्दैछौं।—अमेरिकी जीव विज्ञानी लुइस अगासिज।

[पृष्ठ ८, ९-मा भएको चित्र]

अन्टार्कटिक उपद्वीपको जेन्टु पेन्गुइनहरू

[पृष्ठ ९-मा भएको चित्र]

संयुक्‍त राज्य अमेरिकाको वायोमिङस्थित ग्रान्ड टेटोन राष्ट्रिय निकुञ्ज

[स्रोत]

Jack Hoehn/Index Stock Photography