सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अघि र पछि उनको जीवनमा आमूल परिवर्तन भयो

अघि र पछि उनको जीवनमा आमूल परिवर्तन भयो

“परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ”

अघि र पछि उनको जीवनमा आमूल परिवर्तन भयो

जीवन अत्यन्तै निरर्थक र निरस भइसकेको थियो मात्सेपाङको लागि! तिनी दक्षिण अफ्रिकाको मुटुमा रहेको देश, लेसोथोमा बस्ने युवती थिइन्‌। मात्सेपाङको लालनपालन क्याथोलिक परिवारमा भएको थियो। तथापि, उनले परमेश्‍वरसित नजिक हुने मदत पाउनुको साटो वर्षौंसम्म ननहरूबाट दुर्व्यवहार भोग्नुपऱ्‍यो र तिनीहरूले पैसाको लोभ देखाएर उनलाई अनैतिक काम गर्न लगाउँथे।

फलस्वरूप, धर्म देखी मात्सेपाङ दिक्क भइसकेकी थिइन्‌ अनि मानव सृष्टिलाई साँचो माया गर्ने मायालु सृष्टिकर्ता हुनुहुन्छ भनेर विश्‍वास गर्नै सकिनन्‌। मात्सेपाङले भोगेको हेलचेक्य्राइँ र दुर्व्यवहारले गर्दा उनले गहिरो भावनात्मक चोट सहनुका साथै आफ्नो कुनै मोल नभएको महसुस गर्थिन्‌। उनी असाध्यै हिंस्रक र झगडालु हुन थालिन्‌। यसले गर्दा उनी आपराधिक कार्यमा संलग्न हुन थालिन्‌।

मात्सेपाङ, पछि गएर रेलमा यात्रा गरिरहेका मानिसहरूलाई लुट्‌ने गिरोहकी सदस्य भइन्‌। उनी पक्राउ परिन्‌ र दक्षिण अफ्रिकाको झ्यालखानामा थुनिइन्‌। पछि, उनलाई उनको गृहनगर लेसोथो पठाइयो र त्यहाँ तिनले अपराध, मतवालापन, हिंसा र अनैतिकतामा चुर्लुम्म डुबेको जीवन बिताउन थालिन्‌।

एकदमै निराश अवस्थामा पुगेकी मात्सेपाङले मदतको लागि परमेश्‍वरलाई व्यग्र प्रार्थना गरिन्‌। उनले यस्तो प्रतिज्ञा गरिन्‌, “हे परमेश्‍वर, यदि म बचें भने म जसरी भए पनि तपाईंको सेवा गर्नेछु।”

चाँडै, यहोवाका साक्षीहरूको मिसनरीहरूसित मात्सेपाङको भेट भयो। तिनीहरूले उनीसित बाइबल अध्ययन गर्ने प्रस्ताव राखे। अध्ययन गर्दै गएपछि उनले परमेश्‍वर भावशून्य र निष्ठूर हुनुहुन्‍न भनेर बुझिन्‌। वास्तवमा “झूटको पिता” शैतानले धूर्त र छली तरिकाहरू चलाएर कसै-कसैलाई बेकम्मा महसुस गराउँछ अनि यहोवाले तिनीहरूलाई कहिल्यै प्रेम गर्नुहुनेछैन भन्‍ने भान पार्छ।—यूहन्‍ना ८:४४; एफिसी ६:११.

यसको विपरीत, हामीले विगतका पापहरूको पश्‍चात्ताप गऱ्‍यौं, परमेश्‍वरसित क्षमा माग्यौं र उहाँलाई खुसी तुल्याउने प्रयास गऱ्‍यौं भने हामी नैतिक तवरमा स्वच्छ भएर आत्म सम्मान पाउन सक्छौं भनी थाह पाउनु मात्सेपाङको लागि अत्यन्तै सान्त्वनादायी थियो! उनले “परमेश्‍वर हाम्रो हृदयभन्दा महान्‌ हुनुहुन्छ” र उहाँले हामीप्रति राख्नुहुने दृष्टिकोण हाम्रोभन्दा फरक छ भनी बुझ्ने मदत पाइन्‌।—१ यूहन्‍ना ३:१९, २०.

मात्सेपाङ, भजन रचयिता दाऊदका यी शब्दहरू पढ्‌न पाउँदा रोमाञ्चित भइन्‌: “टुटेका हृदय भएकाहरू सबैको नजीक परमप्रभु हुनुहुन्छ, र पश्‍चातापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ।” (भजन ३४:१८) “टुटेका हृदय” भएकी मात्सेपाङले के थाह पाइन्‌ भने, उनी आफू कहिलेकाहीं निराश र बेकम्मा जस्तो महसुस हुँदा समेत यहोवाले आफ्ना सेवकहरूलाई त्याग्नुहुन्‍न। परमेश्‍वरले आफ्ना सबै भेडाको हेरचाह गर्नुहुन्छ र कठिन समयमा सँभाल्नुहुन्छ भनेर थाह पाउँदा उनको मन छोयो। (भजन ५५:२२; १ पत्रुस ५:६, ७) खास गरी यी शब्दहरूले उनको हृदय छोयो: “परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ।”—याकूब ४:८.

मात्सेपाङको जीवनमा परमेश्‍वरको वचन बाइबलको शक्‍तिले असर गरेको कुरा चाँडै प्रस्ट हुन थाल्यो। उनले नियमित तवरमा सभाहरू धाउन थालिन्‌ र धर्मशास्त्र विपरीत प्रचनलहरू त्यागिन्‌। परिणाम के भयो? उनी अब परमेश्‍वरको प्रेम र अनुग्रह पाउन अयोग्य महसुस गर्दिनन्‌। यहोवाका साक्षीको हैसियतमा बप्तिस्मा लिएदेखि उनले परमेश्‍वरको सुसमाचारका उद्‌घोषकको हैसियतमा मसीही सेवकाईमा हजारौं घण्टा बिताइसकेकी छिन्‌। विगतका चोटहरूको बावजुद मात्सेपाङले अहिले आनन्दमय तथा अर्थपूर्ण जीवन बिताउँछिन्‌। मानिसहरूको जीवनमा सुधार गर्न बाइबलको शक्‍तिको कस्तो प्रभाव!—हिब्रू ४:१२.

[पृष्ठ ९-मा भएको ठूलो अक्षरको क्याप्सन]

“हे परमेश्‍वर, यदि म बचें भने म जसरी भए पनि तपाईंको सेवा गर्नेछु”

[पृष्ठ ९-मा भएको पेटी]

बाइबल सिद्धान्तहरूको प्रयोग

दुर्व्यवहारको सिकार भएका व्यक्‍तिहरूलाई निम्न बाइबल सिद्धान्तहरूले सान्त्वना प्रदान गरेको छ:

“मेरो मनमा ज्यादा फिक्री हुँदा तपाईंका [ परमेश्‍वरका] सान्त्वनाहरूले मलाई आनन्दित तुल्याउँछन्‌।” (भजन ९४:१९) यहोवाको वचनमा पाइने उहाँका “सान्त्वनाहरूले” ठूलो ढाडस दिन्छ। ती बुँदाहरूमा मनन गर्नुका साथै प्रार्थना गर्दा फिक्रीहरू हटाउन तथा परमेश्‍वर हाम्रो कुरा बुझ्ने साथी हुनुहुन्छ भनेर उहाँमाथि भरोसा बढाउन मदत गर्छ।

“उहाँले [ यहोवाले] मन भाँचेकाहरूलाई निको पार्नुहुन्छ, र तिनीहरूको मनको चोटमा पट्टी बाँधिदिनुहुन्छ।” (भजन १४७:३) यहोवाको कृपा र येशूको छुडौतीको बलिदानमार्फत उहाँले हाम्रा पापहरू क्षमा गर्नुहुने प्रबन्धप्रति हामी कृतज्ञ छौं भने मनमा कुनै ग्लानि नराखी निर्धक्क भई परमेश्‍वरसित मदत माग्न सक्छौं। यसबाट हामी अतुलनीय सान्त्वना र मनोशान्ति पाउन सक्छौं।

“मलाई पठाउने पिताले त्यसलाई खिंच्नुभएन भने, कोही मकहाँ [ येशू ख्रीष्टकहाँ] आउनसक्‍तैन, औ म त्यसलाई पछिल्लो दिनमा बिउँताउनेछु।” (यूहन्‍ना ६:४४) परमेश्‍वरको पवित्र आत्मा तथा उहाँको राज्य प्रचारकार्यद्वारा यहोवा आफैले हामीलाई पुत्रतर्फ खिच्नुहुन्छ र हामीलाई अनन्त जीवनको आशा दिनुहुन्छ।