सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सीसाकलम छ?

सीसाकलम छ?

सीसाकलम छ?

बेलाइतका ब्यूँझनुहोस्‌! लेखक

सस्तो, सजिलो, हलुको। खल्तीमै राख्न मिल्ने। बिजुली पनि नचाहिने, मसी पनि नचुहिने र मेट्‌न पनि सकिने। यसकै मदत लिएर केटाकेटीले कखरा सिक्छन्‌, नामी कलाकारहरू उत्कृष्ट चित्र बनाउँछन्‌। हामीमध्ये कतिपय झट्ट केही लेखिहाल्न यसलाई सधैं सँगै राख्छौं। हो, सामान्य देखिने यो सीसाकलम संसारकै सबैभन्दा सस्तो अनि धेरै प्रयोग हुने कलम हो। बेलायतको गाउँमा संयोगले भेटिएको एउटा पदार्थबाट सीसाकलमको आविष्कार र विकासको रोचक कथा सुरु हुन्छ।

कालो सीसा

सोह्रौं शताब्दीतिरको कुरा हो, उत्तरी बेलायतको लेक डिस्ट्रिक उपत्यकामा पर्ने बारोडेल पहाडको फेदमा एक रास अनौठो कालो पदार्थ भेटियो। झट्ट हेर्दा कोइलाजस्तो देखिने यो खनिज पदार्थलाई बाल्न खोज्दा बल्दैनथ्यो र कतै कोर्दा कोरेको कुरा कालो, टलक्क टल्केको देखिन्थ्यो अनि सजिलै मेट्‌न सकिन्थ्यो। चिप्लो भएकोले मानिसहरू यसको टुक्रालाई भेडाको छालामा बेरेर समात्थे अथवा छोटो लट्ठी बनाएर त्यसलाई धागोले बेर्थे। तर कालो सीसालाई काठको नलीभित्र राख्ने विचार पहिले कसको दिमागमा फुरेको हो, कसैलाई थाह छैन। जे होस्‌, सन्‌ १५६० को दशकभित्र युरोप महादेशमा अपरिष्कृत सीसाकलमको प्रयोग भइसकेको थियो।

त्यसपछि धमाधम सीसाखानीबाट कालो सीसा निकाल्न थालियो र कलाकारहरूको माग पूरा गर्न निर्यात गर्न थालियो। सत्रौं शताब्दीसम्ममा त जताततै सीसाकलमको प्रयोग हुन थालिसकेको थियो। यतिखेर सीसाकलम निर्माताहरूले कालो सीसाबाट अझ परिष्कृत कलम बनाउन विभिन्‍न परीक्षण गर्न थालिसकेका थिए। तर शुद्ध अनि सजिलै पाइने भएकोले बारोडेलको कालो सीसा चोरी हुन थाल्यो र चोरबजारमा बेचिन थाल्यो। त्यसैले बेलायती संसद्‌ले कालो सीसा चोर्नेलाई जेलमा हाल्ने अथवा देशबाहिर अनकन्टार ठाउँमा कैद गर्ने कानुन सन्‌ १७५२ मा पारित गऱ्‍यो।

सन्‌ १७७९ मा स्वीडेनका रसायनविद्‌ कार्ल डब्लू. शालले अचम्मको कुरा पत्ता लगाए। कालो सीसा त वास्तवमा नरम खालको शुद्ध कार्बन पो रहेछ! त्यसको दस वर्षपछि जर्मन भूगर्भविद्‌ अब्राहाम जी. भर्नरले युनानी शब्द ग्राफेन-बाट (जसको अर्थ “लेख्नु” हो) यसलाई ग्राफाइट (सुर्मा) नाउँ दिए। हो, जुन कलममा सीसा छैन त्यसैको नाउँ सीसाकलम!

सीसाकलमको विकास

ग्राफाइट अति शुद्ध भएकोले यसलाई प्रशोधन गर्नु पर्दैनथ्यो। त्यसैले बेलाइतमा वर्षौंसम्म सीसाकलम उद्योगमा ग्राफाइटको राज चल्यो। युरोपेली ग्राफाइट कमसल भएकोले युरोपका निर्माताहरूले सीसाकलमको सीसा गुणस्तरीय बनाउन थुप्रै परीक्षण गरे। फ्रान्सेली इन्जिनियर निकोला-झाँ कोन्टाले धूलो ग्राफाइटलाई माटोसित मिसाएर सिन्को बनाए र त्यसलाई भट्टामा पोले। माटोमा मिसाइने ग्राफाइटको मात्रा फरक-फरक गरेर तिनले गाढादेखि हलुका विभिन्‍न रङमा लेख्न मिल्ने सीसा तयार गरे जुन अहिलेसम्म प्रचलनमा छ। सन्‌ १७९५ मा कोन्टाले यस खोजको पेटेन्ट (प्रतिलिपि अधिकार) लिए।

उन्‍नाइसौं शताब्दीभित्र सीसाकलम बनाउनु मुनाफादायी व्यापार भइसकेको थियो। साइबेरिया, जर्मनी र हालको चेक गणतन्त्रलगायत अन्य ठाउँमा पनि ग्राफाइट भेटिन थाल्यो। जर्मनीमा अनि त्यसपछि संयुक्‍त राज्य अमेरिकामा थुप्रै कारखाना खोलिए। मेसिनको प्रयोग र अत्यधिक उत्पादनले गर्दा सीसाकलम सस्तो हुन थाल्यो र २० औं शताब्दीसम्ममा त स्कूल जाने केटाकेटीहरूले समेत सीसाकलमले लेख्न थालिसकेका थिए। त्यतिखेर अमेरिकामा सीसाकलममा रङ नलगाइने भएकोले सीसाकलम सस्तो थियो। त्यसैले होला, यस्तो सीसाकलमलाई “एक-पैसे सीसाकलम” (“पेनी पेन्सिल”) भनिन्थ्यो।

आधुनिक सीसाकलम

वर्षेनी अरबौं सीसाकलम खपत हुने भएकोले अहिले सीसाकलम अझ परिष्कृत अनि बहुउपयोगी भएको छ। सामान्य सीसाकलमबाट ५६.३३ किलोमिटर लामो धर्सो तान्‍न र ४५,००० शब्दहरू लेख्न सकिन्छ। प्लास्टिक वा धातुले बनेको कलममा (लेड-पेन्सिल) प्रयोग हुने सीसा निकै मसिनो हुन्छ र यसलाई ताछ्‌नै पर्दैन। रंगीन सीसाकलममा चाहिं ग्राफाइटको सट्टा थरीथरीका रङ प्रयोग गरिन्छ।

जहिलेसुकै, जहाँसुकै प्रयोग गर्न मिल्ने सजिलो, कुशल अनि बहुउपयोगी सीसाकलम लोप हुने छनक पटक्कै छैन। त्यसैले आउने दिनमा पनि घरमा होस्‌ वा काममा अरूले “सीसाकलम छ?” भनेको सुन्‍न पाइरहनुहुनेछ। (g 7/07)

[पृष्ठ १९-मा भएको पेटी/चित्र]

सीसाकलमभित्र सीसा कसरी हालेको होला?

मिहिन पारेको ग्राफाइट, माटो र पानीको घोललाई धातुको मसिनो नलीमा जोडले पठाइन्छ र त्यो घोल चाऊचाऊजस्तो लामो त्यान्द्रो बनेर निस्कन्छ। त्यसपछि सुकाएर, काटेर भट्टामा पोलिसकेपछि सीसालाई तातो तेल र मैनमा चोपलिन्छ। त्यसपछि सजिलै तिखार्न सकिने धुपीको काठलाई मसिनो पारेर चिरिन्छ र सीसाकलमको मोटाइको आधा टुक्रा जत्रो चारपाटे लिस्ती बनाएर बीचमा लामो कुलेसो पारिन्छ। अब त्यो लिस्तीको खोपिल्टामा सीसा राखिन्छ र अर्को टुक्रा लिस्तीमा सरेस दलिन्छ। त्यसपछि लिस्तीका यी दुई टुक्रालाई बलियो हुनेगरि टाँसिन्छ। सरेस सुकेपछि त्यसलाई सीसाकलमको लम्बाईअनुसार टुक्रा टुक्रा पारिन्छ। त्यसपछि चारपाटे कलमलाई गोलो, षड्‌भुज आकार दिइन्छ, खाक्सी दलिन्छ, रङ पोतिन्छ अनि उत्पादकको छाप र अन्य जानकारी लगाइन्छ। लौ त, अब भने चट्टको परेको सीसाकलम तयार भो! कुनै-कुनै सीसाकलमको टुप्पोमा इरेजर पनि टाँसिएको हुन्छ।

[स्रोत]

Faber-Castell AG

[पृष्ठ २०-मा भएको पेटी/चित्र]

कुनचाहिं सीसाकलम प्रयोग गर्ने होला?

सीसाकलम छान्दा त्यसमा छापिएको अक्षर वा अंकलाई ध्यान दिनुहोस्‌। यो अक्षर वा अंकले सीसाको कडापन वा नरमपनलाई संकेत गर्छ। नरम सीसाको रङ गाढा हुन्छ।

HB लेखिएको सीसाकलम धेरै काममा प्रयोग हुन्छ र यसको सीसाको कडापन मध्यम खालको हुन्छ।

B लेखेको सीसाकलमको सीसा नरम हुन्छ। 2B वा 6B ले सीसा कतिको नरम छ, त्यो बुझाउँछ। अंक जति ठूलो छ, सीसा त्यति नै नरम हुन्छ।

H को अर्थ सीसा निकै कडा छ। अंक जति ठूलो छ, जस्तै: 2H4H, 6H, सीसा पनि त्यति नै कडा हुन्छ।

F लेखिएको सीसाको कडापनचाहिं HHB बीचको हुन्छ।

कुनै-कुनै देशमा भने अर्कै पद्धति अपनाइन्छ। जस्तै: संयुक्‍त राज्य अमेरिकामा सीसाकलममा 2 अंक छ भने त्यसको अर्थ, त्यो सीसाकलम HB हो। यस पद्धतिअनुसार सीसाकलमको अंक जति ठूलो हुन्छ, त्यसमा प्रयोग गरिएको सीसा पनि त्यही मात्रामा कडा हुँदै जान्छ।