सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परिवारका लागि | विवाह

भिन्नताहरूको सामना गर्नुहोस्

भिन्नताहरूको सामना गर्नुहोस्

चुनौती

तपाईंलाई खेलकुद मन पर्छ तर तपाईंको जीवनसाथीलाई पढ्न मन पर्छ। तपाईं एकदमै व्यवस्थित र कामकुरा गर्न सिपालु हुनुहुन्छ तर तपाईंको जीवनसाथी व्यवस्थित हुनुहुन्न। तपाईंलाई मानिसहरूसित समय बिताउन मन पर्छ तर तपाईंको जीवनसाथीलाई होहल्ला नभएको शान्त ठाउँ मन पर्छ।

तपाईं भन्नुहुन्छ, ‘हाम्रो केही पनि मिल्दैन। विवाहअघि नै यो कुरा किन याद गरेनौं?’

सायद त्यतिबेला पनि तपाईंले यो कुरा केही हदसम्म याद गर्नुभएको थियो। तर त्यतिबेला तपाईंले त्यसलाई त्यति महत्त्व दिनुभएन। वास्तवमा विवाहपछि पनि तपाईंले त्यस्तै गर्नुपर्ने हो। यस लेखले तपाईंलाई त्यसै गर्न मदत गर्नेछ। सबैभन्दा पहिला, पति-पत्नीबीच भिन्नताजस्तो देखिने केही तथ्य विचार गरौं।

तपाईंले के बुझ्नुपर्छ?

केही भिन्नता गम्भीर खालका हुन्छन्‌। विवाहअघि भेटघाट गर्नुको एउटा मुख्य उद्देश्य के-कस्ता कुराहरू आपसमा मेल खान्छन्‌ भनेर पक्का गर्नु हो। त्यसैले भेटघाटको क्रममा कुनै गम्भीर खालको भिन्नता देखियो भने थुप्रै जोडीले सम्बन्ध अघि बढाउनुको सट्टा त्यहीं टुङ्ग्याउँछन्‌। तर त्यति गम्भीर खालको भिन्नता होइन भने नि?

दुई जनाको सबै कुरा मिल्छ भन्ने छैन। त्यसैले तल दिइएका क्षेत्रहरूमा जीवनसाथीबीच केही कुरा नमिल्नु नौलो होइन:

रुचि। अनिता * नाम गरेकी पत्नी यसो भन्छिन्‌, “मलाई बाहिर घुमफिर गर्न जाऊँ जस्तो कहिल्यै लागेन। तर मेरो श्रीमान्‌लाई हिमाल चढ्न अनि हप्तौं लगाएर ट्रेकिङ जान पहिल्यैदेखि मन पर्थ्यो।”

आनीबानी। विराज नाम गरेका पति यसो भन्छन्‌, “मेरी श्रीमती राती जति ढिलो सुते पनि बिहान पाँचै बजे उठ्छिन्‌। तर मलाईचाहिं सात-आठ घण्टा सुतेन भने मुड नै ठीक हुँदैन।”

स्वभाव। तपाईं शान्त स्वभावको हुनुहोला अनि तपाईंको जीवनसाथीलाई चाहिं धेरै कुरा गर्न मन पर्छ होला। दिनेश नाम गरेका पति भन्छन्‌, “मेरो परिवारमा व्यक्तिगत समस्याहरूबारे खुलेर कुराकानी गरिंदैनक्थ्यो। तर मेरी श्रीमतीको परिवारमा भने सबै कुरा एकदमै खुलस्त हुन्थ्यो।”

भिन्नता हुनु राम्रै हो। मीरा नाम गरेकी पत्नी भन्छिन्‌, “कामकुरा गर्ने मेरो तरिका पनि राम्रो हुन सक्छ तर यो मात्रै सही तरिका भने होइन।”

तपाईं के गर्न सक्नुहुन्छ?

साथ दिनुहोस्। अजय नाम गरेका पति भन्छन्‌, “मेरी श्रीमतीलाई खेलकुदमा थोपो चासो छैन। तर म खेल्न जाँदा तिनी पनि थुप्रै पटक मसँगै आएकी छिन्‌ र मलाई हौस्याएकी छिन्‌। मेरी श्रीमतीलाई चाहिं कला सङ्ग्रहालय मन पर्छ। त्यसैले म पनि तिनीसितै सङ्ग्रहालय जान्छु र तिनले जाऊँ नभनेसम्म तिनीसितै समय बिताउँछु। तिनलाई चित्र मन पर्ने भएकोले म पनि त्यसप्रति रुचि देखाउन सक्दो गर्छु।”—बाइबल सिद्धान्त: १ कोरिन्थी १०:२४.

खुला मनले सोच्नुहोस्। तपाईंको विचार र तपाईंको जीवनसाथीको विचार मेल खाएन भन्दैमा तिनको विचार गलत हुन्छ भन्ने छैन। अशोक नाम गरेका पतिले यस्तै पाठ सिके। तिनी भन्छन्‌, “क बिन्दुदेखि बिन्दुसम्म जाने सबैभन्दा छोटो बाटो सिधा धर्सो हो र अरू सबै बाटो राम्रो छैन जस्तो मलाई लाग्क्थ्यो। तर विवाहपछि मैले बिन्दुदेखि बिन्दुसम्म जाने धेरै बाटो छ भनेर बुझ्न सकें। अनि हरेक बाटो नै आफ्नो हिसाबले सही हुँदो रहेछ।”—बाइबल सिद्धान्त: १ पत्रुस ५:५.

व्यावहारिक हुनुहोस्। मिल्दोजुल्दो हुनुको अर्थ ठ्याक्कै उस्तै हुनु होइन। त्यसैले केही भिन्नता देखियो भन्दैमा व्यर्थै बिहे गरेछु भनी नसोच्नुहोस्। एउटा किताब * यसो भन्छ, “धेरै जनाले ‘म प्रेममा अन्धो भएको थिएँ’ भन्ने गर्छन्‌। तर तपाईंहरूले हरेक दिन खुसीसाथ जीवन बिताइरहनुभएको कुराबाट जस्तोसुकै भिन्नता भए तापनि तपाईंहरू एकअर्कालाई प्रेम गर्न सक्नुहुन्छ भनेर देखिन्छ।” ‘यदि कसैसित केही गुनासो छ भने एक-अर्कालाई सहिरहन’ कोसिस गर्नुहोस्।—कलस्सी ३:१३.

यसो गरे कसो होला? तपाईंलाई आफ्नो जीवनसाथीको के कुरा मन पर्छ अनि तपाईंहरू दुईबीच के कुरा मिल्छजस्तो लाग्छ, लेख्नुहोस्। त्यसपछि तपाईंहरूबीच नमिल्ने कुराहरू लेख्नुहोस्। सायद नमिल्ने कुराहरू तपाईंले सोचेजस्तो गम्भीर खालको रहेनछ भनेर बुझ्नुहुनेछ। त्यो सूचीले तपाईंलाई जीवनसाथीको के-कस्तो कुरा सहन सकिन्छ र कसरी तिनलाई साथ दिन सकिन्छ भनेर बुझ्न पनि मदत गर्नेछ। किरण नाम गरेका पति भन्छन्‌, “श्रीमतीले मेरो कुरा स्वीकार्दा म त्यसको मोल गर्छु अनि मैले तिनको कुरा स्वीकार्दा तिनी पनि मेरो मोल गर्छिन्‌ भनेर मलाई थाह छ। कहिलेकाहीं मैले केही त्याग गर्नुपर्ला तर तिनी खुसी भएको देख्दा मलाई खुसी लाग्छ।”—बाइबल सिद्धान्त: फिलिप्पी ४:५. (g15-E 12)

^ अनु. 10 यस लेखमा केही नाम परिवर्तन गरिएका छन्‌।

^ अनु. 17 The Case Against Divorce