सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कसले गर्दा दुःखकष्ट भोग्नुपरेको हो?

कसले गर्दा दुःखकष्ट भोग्नुपरेको हो?

दुःखकष्ट परमेश्‍वरबाट आएको होइन भने चरम भोकमरी, बढ्‌दो गरिबी, रक्‍तपातपूर्ण युद्ध, डरलाग्दो रोगबिमार र प्राकृतिक प्रकोपको लागि को दोषी छ? मानिसले भोग्नुपरेको दुःखकष्टको तीन वटा मुख्य कारण परमेश्‍वरको वचन बाइबलले खुलाएको छ:

  1. १. स्वार्थ, लोभ र घृणा। “एउटाले अर्कोलाई दबाएर मानिसले आफैलाई हानि पुऱ्‍याइरहेको मात्रै मैले देखेँ।” (उपदेशक ८:९) त्रुटिपूर्ण, स्वार्थी वा क्रूर मानिसले गर्दा प्रायजसो सोझो मानिसले दुःख पाउँछन्‌।

  2. २. समय र अवसर। मानिसले दुःखकष्ट भोग्छन्‌ किनभने “कुनै पनि बेला मानिसले चिताउँदै नचिताएको घटना घट्‌न सक्छ, जसलाई टारेर टार्न सकिँदैन।” (उपदेशक ९:११) यसको अर्थ? गलत समयमा गलत ठाउँमा भएकोले अथवा लापरवाही गरेकोले अप्रिय घटना घट्‌छ।

  3. ३. यस संसारको दुष्ट शासक। मानिसले दुःख पाउनुको मुख्य कारणबारे बाइबलले स्पष्टसँग यस्तो बताएको छ: “सारा संसार त्यस दुष्टको हातमा परेको छ।” (१ युहन्‍ना ५:१९) त्यो “दुष्ट” सैतान एउटा शक्‍तिशाली अदृश्‍य प्राणी हो, जो पहिला ईश्‍वरको स्वर्गदूत थियो तर “त्यो सत्यमा अडिग रहेन।” (युहन्‍ना ८:४४) अरू अदृश्‍य प्राणीहरूले पनि आफ्नो स्वार्थी इच्छा पूरा गर्न सैतानलाई साथ दिए र ईश्‍वरको विरोध गरे। यसरी तिनीहरू प्रेत बने। (उत्पत्ति ६:१-५) त्यसदेखि यता सैतान र प्रेतहरूको कुप्रभाव संसारमाथि हाबी भएको छ, जुन संसारमा भइरहेको गतिविधिमा छर्लङ्‌गै देखिन्छ। सैतान अहिले एकदमै रिसाएको छ र “सारा संसारलाई ठग्ने” काम गर्दै छ। त्यसैले ‘पृथ्वीलाई धिक्कार छ’ भनेर बाइबलमा बताइएको छ। (प्रकाश १२:९, १२) साँच्चै, सैतान क्रूर शासक हो। मानिसले दुःख पाएको देख्दा त्यो सन्तुष्ट हुन्छ। त्यसैले मानिसले भोगिरहेको दुःखकष्टको पछाडि ईश्‍वरको नभई सैतानकै हात छ।

विचार गर्नुहोस्‌: एक जना निर्दयी र क्रूर अपराधीले मात्रै निर्दोष मानिसलाई दुःख दिन्छ। तर अर्कोतर्फ, बाइबल भन्छ: “परमेश्‍वर प्रेम हुनुहुन्छ।” (१ युहन्‍ना ४:८) त्यसैले मायालु व्यक्‍ति हुनुभएकोले “साँचो परमेश्‍वरले कहिल्यै कसैलाई दुःख दिनुहुन्‍न, सर्वशक्‍तिमान्‌ परमेश्‍वरले कसैको हानि गर्नुहोला भनेर सोच्न समेत सकिँदैन।”—अय्युब ३४:१०.

तपाईँको मनमा यस्तो प्रश्‍न उठ्‌न सक्छ, ‘ईश्‍वरले कहिलेसम्म सैतानको क्रूर शासन रहन दिनुहोला?’ ईश्‍वरले दुष्टता घृणा गर्नुहुन्छ र हामीले दुःख पाएको देख्दा उहाँको मन असाध्यै दुख्छ भनेर बुझ्यौँ। साथै उहाँको वचन बाइबलले यसो भन्छ: “आफ्नो सारा फिक्री उहाँमाथि बिसाओ किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।” (१ पत्रुस ५:७) ईश्‍वर हामीलाई माया गर्नुहुन्छ अनि उहाँसित सबै दुःखकष्ट र अन्याय हटाउन सक्ने शक्‍ति छ भनेर यसपछिको लेखबाट थाह पाउनेछौँ। *

^ अनु. 7 किन यत्ति धेरै दुःखकष्ट छ भन्‍नेबारे थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको पाठ २६ हेर्नुहोस्‌। यो किताब www.isa4310.com/ne बाट निश्‍शुल्क डाउनलोड गर्न सकिन्छ।