सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पुरानो र काम नलाग्ने किताब कि उहिल्यै सही जानकारीले भरिपूर्ण किताब?

पुरानो र काम नलाग्ने किताब कि उहिल्यै सही जानकारीले भरिपूर्ण किताब?

विज्ञान

हुन त बाइबल विज्ञानको पाठ्यपुस्तक होइन, तैपनि यसले उहिले नै यस्तो जानकारी दिएको थियो, जुन आज पनि सही छ। केही उदाहरण विचार गर्नुहोस्‌।

के यस ब्रह्‍माण्डको सुरुवात थियो?

एक समय प्रमुख वैज्ञानिकहरूले ब्रह्‍माण्डको कुनै सुरुवात थिएन भनेर ठोकुवा गर्थे। तर अहिले तिनीहरू त्यसो होइन भनेर सहजै मानिलिन्छन्‌। यसबारे बाइबलले पहिल्यै स्पष्ट जवाफ दिएको थियो।—उत्पत्ति १:१.

पृथ्वीको आकार कस्तो छ?

प्राचीन समयमा थुप्रै मानिसले पृथ्वी चेप्टो छ भनेर सोच्थे। ईसापूर्व पाँचौं शताब्दीमा ग्रीक वैज्ञानिकहरूले यो गोलो छ भने। तर त्यसको धेरै समयअघि ईसापूर्व आठौं शताब्दीमा बाइबलका लेखक यशैयाले “पृथ्वीको परिधि”-बारे उल्लेख गरे अनि तिनले चलाएको यस अभिव्यक्‍तिले “गोलो” भन्‍ने अर्थ पनि दिन्छ।—यशैया ४०:२२, NRV.

के आकाशमण्डल समयसँगै नष्ट हुँदै जान्छ?

ईसापूर्व चौथो शताब्दीका ग्रीक वैज्ञानिक अरस्तुले नष्ट हुने प्रक्रिया पृथ्वीमा मात्र हुन्छ तर ताराहरूले भरिएको आकाशमा कहिल्यै परिवर्तन हुँदैन वा त्यो कहिल्यै नष्ट हुँदैन भनेर सिकाए। यो धारणाले कैयौं शताब्दीसम्म मान्यता पायो। तर १९ औं शताब्दीमा वैज्ञानिकहरूले एन्ट्रोपीको धारणा विकास गरे। एन्ट्रोपी भनेको कुनै कुरा समयको अन्तरालमा बिस्तारै जीर्ण हुँदै जाने प्रक्रिया हो। यस धारणाअनुसार आकाशमण्डलमा वा पृथ्वीमा भएको हरेक कुरा नष्ट हुँदै जान्छ। यो कुरा पत्ता लगाउन मदत गरेका वैज्ञानिकहरूमध्ये लर्ड केल्भिनले पृथ्वी र आकाशबारे बाइबलमा यस्तो कुरा भएको याद गरे: “ती सबै लुगाझैं पूराना भइहाल्छन्‌।” (भजन १०२:२५, २६) परमेश्‍वरले चाहनुभयो भने आफ्नो सृष्टिलाई यसरी नष्ट हुनबाट जोगाउन सक्नुहुन्छ भनेर बाइबलले सिकाएको कुरामा केल्भिन विश्‍वास गर्थे।—उपदेशक १:४.

हाम्रो पृथ्वीलगायत अन्य ग्रहहरू केमा अडिएका छन्‌?

अरस्तुले सबै आकाशीय पिण्ड एकभित्र अर्को गरी गाभिएका पारदर्शी ठोस गोलाहरूमा अडिएका छन्‌ अनि पृथ्वी सबैभन्दा बीचको गोलामा पर्छ भनी बताए। अठारौं शताब्दीसम्ममा वैज्ञानिकहरूले तारा र ग्रहहरू कुनै टेवाविना नै झुन्डिएका छन्‌ भन्‍ने कुरा मानिलिन थाले। तर ईसापूर्व १५ औं शताब्दीमा लेखिएको अय्यूबको किताबमा सृष्टिकर्ताले “शून्यतामा पृथ्वीलाई झुण्ड्याउनुहुन्छ” भन्‍ने कुरा पाउँछौं।—अय्यूब २६:७, NRV.

चिकित्साशास्त्र

बाइबल चिकित्साशास्त्रको पाठ्यपुस्तक नभए पनि यसमा भएका केही सिद्धान्तहरूले बाइबलमा उहिले नै स्वास्थ्यसम्बन्धी सही जानकारी भएको प्रमाण दिन्छ।

बिरामीहरूलाई अलग्गै राख्ने।

मोशाको व्यवस्थाले कुष्ठरोग लागेका मानिसहरूलाई अरूबाट अलग्गै राख्नुपर्छ भनेर उहिल्यै बताएको थियो। यो सिद्धान्त लागू गर्नुपर्छ भनेर चिकित्सकहरूले लगभग ७०० वर्षअघि रुढी फैलिएपछि मात्र थाह पाए। यो सिद्धान्त आज पनि उत्तिकै प्रभावकारी छ।—लेवी अध्याय १३ र १४.

लास छोएपछि नुहाइधुवाइ गर्ने।

उन्‍नाइसौं शताब्दीको अन्ततिरसम्म चिकित्सकहरू लासहरू छोएर काम गर्थे अनि हात नधोईकनै बिरामीहरूलाई जाँच्थे। काम गर्ने यस्तो तरिकाले गर्दा थुप्रै मानिसहरूको मृत्यु भयो। तर मोशाको व्यवस्थाअनुसार लास छोएको व्यक्‍ति अशुद्ध हुन्थ्यो। यस्तो अवस्थामा विधिपूर्वक शुद्धीकरणको लागि पानी प्रयोग गर्न निर्देशन दिइएको थियो। ती धार्मिक विधिहरू स्वास्थ्यको दृष्टिकोणबाट उपयोगी थियो।—गन्ती १९:११, १९.

मलमूत्र व्यवस्थापन।

मलमूत्रको उचित तरिकामा व्यवस्थापन नगरिएकोले हरेक वर्ष पाँच लाखभन्दा धेरै बालबालिकाको झाडा-पखालाले गर्दा मृत्यु हुन्छ। मोशाको व्यवस्थाले बसोबास गर्ने ठाउँदेखि टाढा गएर दिसा बस्नुपर्ने अनि त्यसलाई पुर्नुपर्ने नियम दिएको थियो।—व्यवस्था २३:१३.

खतना गर्ने समय।

परमेश्‍वरको व्यवस्थाले छोरा जन्मिएको आठौं दिनमा मात्र उसको खतना (पुरुष जनेन्द्रियको अग्र भागको छाला काटेर हटाउनु) गर्नुपर्छ भनेर तोकेरै बताएको थियो। (लेवी १२:३) नवजात शिशुहरू जन्मेको एक हप्तापछि मात्र रगत जम्ने क्षमता पूर्ण रूपमा विकास हुन्छ। आधुनिक चिकित्सा उपचार उपलब्ध हुनु धेरै अघि बाइबलकालीन समयमा शिशु जन्मेको एक हप्तापछि मात्र खतना गर्नु साँच्चै सुरक्षित थियो।

भावनात्मक स्वास्थ्य र शारीरिक स्वास्थ्यको सम्बन्ध

चिकित्सा क्षेत्रका अनुसन्धानकर्ताहरू र वैज्ञानिकहरूले खुसी, आशावादी, धन्यवादी र क्षमाशील हुनेजस्ता सकारात्मक भावनाले स्वास्थ्यमा राम्रो प्रभाव पार्छ भन्छन्‌। बाइबल भन्छ: “प्रसन्‍न हृदयले हँसिलो अनुहार देखाउँछ, उदासी मनले मानिसको बल शोषण गर्छ।”—हितोपदेश १७:२२.