सीधै सामग्रीमा जाने

के यहोवाका साक्षीहरूले आफ्नो धारणालाई सही ठहऱ्‍याउन बाइबललाई हेरफेर गरेका छन्‌?

के यहोवाका साक्षीहरूले आफ्नो धारणालाई सही ठहऱ्‍याउन बाइबललाई हेरफेर गरेका छन्‌?

 अहँ, हामीले त्यसो गरेका छैनौं। बरु हामीले आफ्नो धारणा बाइबलसित मिल्दैन भनेर थाह पाउँदा आफ्नो धारणालाई चाहिं बाइबलअनुसार परिवर्तन गरेका छौं।

 हामीले सन्‌ १९५० मा अङ्‌ग्रेजी भाषाको पवित्र बाइबल—नयाँ संसार अनुवाद प्रकाशन गर्नुभन्दा अघिदेखि नै बाइबल जाँच्यौं। उपलब्ध भएजति सबै बाइबल अनुवादको अध्ययन गऱ्‍यौं र त्यसैलाई आफ्नो विश्‍वासको आधार बनायौं। यहोवाका साक्षीहरूले लामो समयदेखि विश्‍वास गर्दै आएको केही कुरा विचार गर्नुहोस्‌ अनि ती कुरा बाइबलको शिक्षासित मिल्छ कि मिल्दैन, आफै जाँच्नुहोस्‌।

  1.  १. हाम्रो विश्‍वास: परमेश्‍वर त्रिएक होइन। सन्‌ १८८२ जुलाई अङ्‌कको प्रहरीधरहरा (अङ्‌ग्रेजी) मा यस्तो लेखिएको थियो: “हामी यहोवा, येशू र पवित्र शक्‍तिमा विश्‍वास गर्छौं। तर ‘पिता, पुत्र र पवित्र आत्मा एउटै हो’ भन्‍ने शिक्षा बाइबलसित पटक्कै मेल खाँदैन। त्यसैले हामी त्यस शिक्षामा विश्‍वास गर्दैनौं र यो कुरा हाम्रा पाठकहरूले राम्ररी बुझेका छन्‌।”

     बाइबलको शिक्षा: “परमप्रभु हाम्रा परमेश्‍वर एउटै हुनुहुन्छ।” (व्यवस्था ६:४, पवित्र बाइबल—संशोधित संस्करण) “हाम्रा निम्ति त एउटै परमेश्‍वर पिता हुनुहुन्छ, जसबाट सबै थोक हुन आए, अनि जसकै निम्ति हामी जिउँदछौं—हाम्रा निम्ति एउटै प्रभु, येशू ख्रीष्ट हुनुहुन्छ, जसद्वारा सबै कुरा हुन आए, र जसद्वारा हामी जिउँदछौं।” (१ कोरिन्थी ८:६, पवित्र बाइबल—नयाँ संशोधित संस्करण) येशू आफैले यसो भन्‍नुभयो: “पिता मभन्दा महान्‌ हुनुहुन्छ।”—यूहन्‍ना १४:२८, पढ्‌न सजिलो संस्करण।

  2.  २. हाम्रो विश्‍वास: नरकको सास्ती भोग्नुपर्दैन। सन्‌ १८८२ जुन अङ्‌कको प्रहरीधरहरा (अङ्‌ग्रेजी) मा रोमी ६:२३ मा आधारित “पापको ज्याला मृत्यु हो” भन्‍ने लेख छापिएको थियो। उक्‍त शास्त्रपद किङ जेम्स भर्सन-बाट उद्धृत गरिएको थियो। त्यस लेखमा यसो भनिएको थियो: ‘रोमी ६:२३ मा बताइएको कुरा कति सरल अनि स्पष्ट छ। तर छक्कलाग्दो कुरा के छ भने बाइबललाई परमेश्‍वरको वचन भनेर दाबी गर्ने थुप्रैले ठीक उल्टो कुरा विश्‍वास गर्छन्‌। तिनीहरूको विचारमा पापको ज्याला भनेको सधैंभरिको लागि नरकमा सास्ती भोग्नु हो। यो विश्‍वास बाइबलमै आधारित छ भनेर तिनीहरू ठोकुवा गर्छन्‌।’

     बाइबलको शिक्षा: “जसले पाप गर्छ त्यही मर्छ।” (इजकिएल १८:४, २०, पवित्र बाइबल—संशोधित संस्करण) परमेश्‍वरको विरुद्ध खडा हुनेहरूले भोग्ने अन्तिम सजाय नरकको सास्ती होइन तर “अनन्त विनाश” हो।​—२ थिस्सलोनिकी १:९, पवित्र बाइबल—संशोधित संस्करण।

  3.  ३. हाम्रो विश्‍वास: परमेश्‍वरको राज्य मनमा हुने कुरा होइन, त्यो वास्तविक सरकार हो। सन्‌ १८८१ डिसेम्बर अङ्‌कको प्रहरीधरहरा (अङ्‌ग्रेजी) मा परमेश्‍वरको राज्यसम्बन्धी यस्तो लेखिएको थियो: “परमेश्‍वरको राज्य स्थापित हुनलाई पृथ्वीका सम्पूर्ण राज्य नामेट हुनै पर्छ।”

     बाइबलको शिक्षा: “यी राजाहरूको समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ, जुनचाहिं कहिल्यै नष्ट हुनेछैन, नता यसको सार्वभौमिकता अरू कुनै जातिको हातमा दिइनेछ। यसले यी सबै राज्यहरूलाई चकनाचुर पार्नेछ र अन्त्य गर्नेछ, तर यो राज्यचाहिं सदासर्वदा रहिरहनेछ।”—दानियल २:४४, पवित्र बाइबल—नयाँ संशोधित संस्करण।

के यहोवाका साक्षीहरू आफ्नो विश्‍वासको समर्थन गर्न नयाँ संसार अनुवाद-मा भर पर्छन्‌?

 अहँ, त्यसो होइन। किनभने अहिले पनि हाम्रा प्रकाशनहरूमा हामी बाइबलको विभिन्‍न अनुवाद प्रयोग गर्छौं। हुन त हामी निश्‍शुल्क बाइबल अध्ययन गराउनको लागि नयाँ संसार अनुवाद सित्तैंमा दिन्छौं तर बाइबलको अन्य अनुवाद प्रयोग गर्न चाहनेहरूसित अध्ययन गर्न पनि हामी खुसी छौं।