सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू पुरानो करारमा विश्‍वास गर्छन्‌?

यहोवाका साक्षीहरू पुरानो करारमा विश्‍वास गर्छन्‌?

 हो, गर्छन्‌। सम्पूर्ण बाइबल नै “परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो र यो . . . उपयोगी छ” भनेर यहोवाका साक्षीहरू विश्‍वास गर्छन्‌। (२ तिमोथी ३:१६) वास्तवमा पुरानो करार र नयाँ करार भनेर चिनिएको दुवै भाग मिलेर नै पूरा बाइबल बन्छ। यहोवाका साक्षीहरू बाइबलका यी दुई भागलाई हिब्रू धर्मशास्त्र र ख्रीष्टियन ग्रीक धर्मशास्त्र भन्‍ने गर्छन्‌। यस्तो शब्द प्रयोग गर्दा बाइबलको कुनै भागचाहिं पुरानो वा अहिले काम नलाग्ने खालको छ भनेर अरूलाई भान पर्दैन।

ख्रीष्टियनहरूलाई नयाँ करार र पुरानो करार दुवै किन चाहिन्छ?

 परमेश्‍वरबाट प्रेरणा पाएर बाइबल लेखक पावलले यस्तो लेखे: “पहिले लेखिएका सबै कुरा हाम्रो शिक्षाका लागि लेखिएका हुन्‌।” (रोमी १५:४) त्यसकारण हिब्रू धर्मशास्त्रमा पनि हाम्रो लागि महत्त्वपूर्ण जानकारीहरू छन्‌। त्यसमा हामीले पाठ सिक्न सक्ने ऐतिहासिक घटनाहरू र हाम्रो लागि उपयोगी सल्लाह पनि लेखिएको छ।

  •   पाठमूलक ऐतिहासिक घटनाहरू: हिब्रू धर्मशास्त्रमा सृष्टिको र मानिसहरू पापमा फसेको विस्तृत विवरण लेखिएको छ। त्यस्तो जानकारी नभएको भए हामी यी प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ पाउन सक्ने थिएनौं। जस्तै: हामी कहाँबाट आयौं? हामी किन मर्छौं? (उत्पत्ति २:७, १७) त्यसबाहेक हामीजस्तै सुख-दुःख भोगेका मानिसहरूसित यहोवा परमेश्‍वरले कस्तो व्यवहार गर्नुभयो भनेर पनि हिब्रू धर्मशास्त्रमा लेखिएको छ।—याकूब ५:१७.

  •   उपयोगी सल्लाह: हिब्रू धर्मशास्त्रमा भएका हितोपदेश र उपदेशक नामका पुस्तकहरूले जुनै समयका मानिसहरूलाई पनि काम लाग्ने सल्लाह दिएको छ। ती पुस्तकहरूमा परिवार कसरी आनन्दित बनाउने (हितोपदेश १५:१७), कामलाई कत्तिको महत्त्व दिने (हितोपदेश १०:४; उपदेशक ४:६) र युवावस्थामा जीवनको पूरापूर फाइदा कसरी उठाउने (उपदेशक ११:९–१२:१) भन्‍ने विषयमा सल्लाह दिइएको छ।

 त्यसबाहेक बाइबलको हिब्रू धर्मशास्त्रमा समावेश गरिएको पहिलो पाँच पुस्तकमा (तोरह) मोशाद्वारा लिखित नियमहरू पढेर पनि हामी लाभ उठाउन सक्छौं। हुन त ख्रीष्टियनहरूले ती नियमहरू पालन गर्नु पर्दैन तर त्यहाँ भएका अनमोल सिद्धान्तहरूले हाम्रो जीवन सुखी बनाउन मदत दिन्छ।—लेवी १९:१८; व्यवस्था ६:५-७.