सीधै सामग्रीमा जाने

सृष्टि या संयोग?

लिम्पेटको दाँतको बनावट

लिम्पेटको दाँतको बनावट

 लिम्पेट समुद्रमा पाइने एक किसिमको शङ्‌खेकिरा हो र यसको खपटा कोन आकारको हुन्छ। यसको दाँत असाधारण किसिमले बलियो हुन्छ। यसको दाँत गोथाइट भनिने कडा किसिमको खनिजको फाइबरले बनेको हुन्छ र ती फाइबरहरू मसिनो हुनुका साथै खाँदिएर बसेको हुन्छ। अनि यसको गिजाजस्तो भाग नरम प्रोटिनले बनेको हुन्छ।

 विचार गर्नुहोस्‌: लिम्पेटको राडुला अर्थात्‌ जिब्रोजस्तो देखिने भाग लहरै बसेको घुमाउरो दाँतहरूले ढाकिएको हुन्छ। प्रत्येक दाँत एक मिलिमिटरभन्दा छोटो हुन्छ र यसले रेतले जस्तो कोतर्ने काम गर्छ। यसले चट्टानको सतहमा भएको लेउ कोतरेर खाने गर्छ र यो कोतर्नको लागि यसको दाँत एकदमै बलियो र कडा हुनुपर्छ।

 यसको दाँतले कत्तिको दबाब सहन सक्छ भनेर मापन गर्न अनुसन्धानकर्ताहरूले एउटा शक्‍तिशाली माइक्रोस्कोप प्रयोग गरे। तिनीहरूले अहिलेसम्म जाँचेर हेरेको जैविक पदार्थहरूमध्ये लिम्पेटको दाँत सबैभन्दा बलियो पाए, माकुराको रेसमभन्दा पनि बलियो। अनुसन्धानकर्ताहरूका प्रमुखले यसो भने: “हामीले कुनै कुराको डिजाइन गर्दा लिम्पेटको दाँतको बनावटको नक्कल गर्नेबारे सोच्नुपर्छ।”

 लिम्पेटको दाँतमा पाइने पदार्थको कृत्रिम उत्पादन गाडी, डुङ्‌गा, हवाईजहाज र नक्कली दाँत बनाउन प्रयोग गर्न सकिन्छ भनेर अनुसन्धानकर्ताहरू बताउँछन्‌।

 तपाईँको विचार कस्तो छ? लिम्पेटको दाँतको अचम्मको बनावट क्रमविकासको उपज हो या सृष्टि?