सीधै सामग्रीमा जाने

सृष्टि या संयोग

फलफूलमा लाग्ने झिँगाको अचम्मको उड्‌ने क्षमता

फलफूलमा लाग्ने झिँगाको अचम्मको उड्‌ने क्षमता

 झिँगा मार्न कोसिस गरेका जो-कोहीलाई पनि झिँगा मार्नु भनेको कुनै चानचुने काम होइन भनेर थाह छ। कसैले मार्न खोज्दा झिँगाहरू बिजुली चम्केको जस्तो गतिमा छिनभरमै फुत्किहाल्छन्‌।

 वैज्ञानिकहरूले पत्ता लगाएअनुसार एक प्रकारको झिँगा (फ्रुट फ्लाई), जुन अक्सर फलफूलमा लाग्ने गर्छ, त्यसले लडाकु विमानले जस्तै तुरुन्तै दिशा मोड्‌न सक्छ र त्यो पनि एक सेकेन्डभन्दा कम समयमै। प्राध्यापक माइकल डिकिन्सनले बताएअनुसार भर्खरै जन्मेको झिँगा पनि “उड्‌न एकदम सिपालु हुन्छ। यसो गर्न सक्नु भनेको भर्खरै जन्मेको शिशुलाई लडाकु विमानको ककपिटमा राखेपछि उसलाई विमान उडाउन के-के गर्नुपर्छ भनेर सबै कुरा थाह हुनु जस्तै हो।”

 अनुसन्धानकर्ताहरूले यो झिँगा हावामा ओल्ट्याङ-पल्ट्याङ गर्दै उडेको भिडियो खिचेका छन्‌ अनि त्यसले एक सेकेण्डमा २०० चोटि पखेटा फटफटाउन सक्छ भन्‍ने कुरा पत्ता लगाएका छन्‌। एकचोटि पखेटा फटफटाउने बित्तिकै त्यसले आफू कुन दिशातर्फ मोडिनुपर्ने हो भनेर पत्ता लगाउँछ र भागिहाल्छ।

 कुनै खतरा आइपर्दा त्यो चाल पाउन त्यसलाई कति समय लाग्छ? मानिसले एकचोटि आँखा झिमिक्क गर्न जति समय लगाउँछ, त्यो भन्दा ५० गुणा कम समयमा यस झिँगाले खतरा चाल पाउँछ र भागिहाल्छ। डिकिन्सन भन्छन्‌, “यस झिँगाले अत्यन्तै थोरै समयभित्र एकदमै जटिल किसिमको हिसाबकिताब गरेर खतरा कतातिर छ अनि कसरी फुत्किहाल्ने भनेर पत्ता लगाउँछ।”

 झिँगाको यत्ति सानो मस्तिष्कले कसरी यसो गर्न सक्छ भन्‍ने कुरा इन्जिनियरिङ जगत्‌का धुरन्धरहरूले पनि पत्ता लगाउन सकेका छैनन्‌।

यो झिँगा एक सेकेण्डभन्दा कम समयमै दिशा परिवर्तन गरेर खतराबाट भाग्न सक्छ

 तपाईँलाई कस्तो लाग्छ? फलफूलमा लाग्ने झिँगाको अचम्मको उड्‌ने क्षमता क्रम-विकासको उपज हो या सृष्टि?