सीधै सामग्रीमा जाने

हामी किन मर्छौं?

हामी किन मर्छौं?

बाइबलको जवाफ

 हामी किन मर्छौं भनेर सोध्नु स्वाभाविकै हो। खासगरि मृत्युको कारण आफूले माया गरेको व्यक्‍तिलाई गुमाउनु पर्दा हाम्रो मनमा यस्तो प्रश्‍न आउँछ। बाइबलमा यस्तो लेखिएको छ: “मृत्युको खील पाप हो।” (१ कोरिन्थी १५:५६)

सबै मानिसले किन पाप र मृत्यु भोग्नुपऱ्‍यो?

 ईश्‍वरविरुद्ध पाप गरेको कारण पहिलो मानव जोडी आदम र हव्वाले जीवन गुमाए। (उत्पत्ति ३:१७-१९) ईश्‍वरको विरोध गरेको कारण तिनीहरूले पाउनुपर्ने सजाय मृत्यु नै थियो। किनभने ईश्‍वर नै “जीवनको मूल” हुनुहुन्छ। (भजन ३६:९; उत्पत्ति २:१७)

 आदमले आफ्ना सबै सन्तानमा पाप सारे। बाइबल भन्छ: “एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु र यसरी मृत्यु सबै मानिसमा व्याप्त भयो, किनकि तिनीहरू सबैले पाप गरेका छन्‌।” (रोमी ५:१२) सबै मानिस मर्छन्‌ किनकि तिनीहरू सबैले पाप गरेका छन्‌।—रोमी ३:२३.

मृत्यु कसरी हटाइनेछ

 ‘ईश्‍वरले मृत्युलाई सदाको निम्ति निल्ने’ समय आउनेछ भनेर बाइबलमा प्रतिज्ञा गरिएको छ। (यशैया २५:८) मृत्युलाई हटाउन यसको जड पापलाई पनि मेटाउनु जरुरी छ। परमेश्‍वरले यो काम येशूमार्फत गर्नुहुनेछ जसले “संसारको पाप हटाउनुहुन्छ।”—यूहन्‍ना १:२९; १ यूहन्‍ना १:७.