सीधै सामग्रीमा जाने

के तपाईँ सधैँभरि बाँच्न सक्नुहुन्छ?

के तपाईँ सधैँभरि बाँच्न सक्नुहुन्छ?

बाइबलको जवाफ

 बाइबल भन्छ: “जसले परमेश्‍वरको इच्छा पूरा गर्छ, ऊ सधैँभरि रहिरहन्छ” (१ युहन्‍ना २:१७) परमेश्‍वर हामीले के गरेको चाहनुहुन्छ?

  •   परमेश्‍वर र उहाँको छोरा येसुबारे सिक्नुहोस्‌। येसुले परमेश्‍वरलाई प्रार्थना गर्नु हुँदा यसो भन्‍नुभयो: “अनन्त जीवन पाउन तिनीहरूले तपाईँ एक मात्र साँचो परमेश्‍वरलाई अनि तपाईँले पठाउनुभएको येसु ख्रिष्टलाई चिन्‍नुपर्छ।” (युहन्‍ना १७:३) हामी कसरी परमेश्‍वर र येसुलाई चिन्‍न सक्छौँ? बाइबल पढेर अनि पढेको कुरालाई जीवनमा उतारेर हामी उहाँहरूलाई चिन्‍न सक्छौँ। a हामीलाई जीवन दिनुहुने सृष्टिकर्ता यहोवाको सोचाइ बुझ्न बाइबलले हामीलाई मदत गर्छ। (प्रेषित १७:२४, २५) बाइबलमा येसुबारे पनि थुप्रै कुरा लेखिएको छ।उहाँले “अनन्त जीवनका वचनहरू” बारे सिकाउनुभयो।

  •   येसुले दिनुभएको फिरौतीको बलिदानमा विश्‍वास गर्नुहोस्‌। येसु “सेवा गर्न र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन” पृथ्वीमा आउनुभयो। (मत्ति २०:२८) येसुको फिरौतीको बलिदानले गर्दा मात्र सुन्दर पृथ्वीमा सधैँभरि बाँच्ने आशाको ढोका मानिसहरूको निम्ति खुल्ला भयो। b (भजन ३७:२९) येसुले भन्‍नुभयो: “किनकि परमेश्‍वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो ताकि ऊमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।” (युहन्‍ना ३:१६) येसुलाई मुखले मात्र विश्‍वास गर्छु भनेर पुग्दैन। हामीले येसुको शिक्षाअनुसार जीवन बिताएर र उहाँको बुबाको इच्छाअनुसार चलेर येसुमा विश्‍वास गरेको देखाउनुपर्छ।—मत्ति ७:२१; याकुब २:१७.

  •   परमेश्‍वरसँग अझै घनिष्ठ हुनुहोस्‌। परमेश्‍वर हामी उहाँको नजिक आएको र उहाँको मित्र भएको चाहनुहन्छ। (याकुब २:२३; ४:८) परमेश्‍वरको न सुरुवात छ न अन्त। उहाँ अमर हुनुहुन्छ अनि उहाँ आफ्नो मित्र पनि सधैँभरि बाँचेको चाहनुहुन्छ। उहाँको खोजी गर्ने सबैले ‘सधैँभरि जीवनको आनन्द उठाएको’ उहाँ चाहनुहुन्छ।—भजन २२:२६.

सधैँभरि बाँच्ने जीवनबारे मानिसले राख्ने गलत धारणा

 गलत धारणा: मानिसले प्रयास गरे भने सधैँभरि बाँच्न सकिन्छ।

 सत्य: चिकित्सा विज्ञानमा भएको प्रगतिले मानिसको आयु बढाउन सकेको छ तर सधैँभरि बाँच्ने जीवन भने दिन सकेको छैन। परमेश्‍वरले मात्र हामीलाई सधैँभरि बाँच्ने दिन सक्नुहुन्छ किनभने उहाँ हाम्रो “जीवनको मूल” हुनुहुन्छ। (भजन ३६:९) उहाँले “मृत्युलाई सधैँको निम्ति निल्नुहुनेछ” र उहाँप्रति वफादार रहनेहरूलाई सधैँभरि बाँच्ने जीवन दिनुहुनेछ भनी बाइबलमा प्रतिज्ञा गरिएको छ।—यसैया २५:८; १ युहन्‍ना २:२५.

 गलत धारणा: एउटा जातिले मात्र सधैँभरि बाँच्ने जीवन पाउनेछ।

 सत्य: परमेश्‍वर पक्षपाती हुनुहुन्‍न “बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र सही काम गर्छ, उसलाई उहाँ स्विकार्नुहुन्छ।” (प्रेषित १०:३४, ३५) परमेश्‍वरको आज्ञा पालन गर्ने सबै जाति र पृष्ठभूमिको मानिसले सधैँभरि बाँच्ने जीवन पाउन सक्छन्‌।

 गलत धारणा: सधैँभरि बाँच्ने जीवन पट्ट्याइलाग्दो हुनेछ।

 सत्य: सधैँभरि बाँच्ने जीवन दिने प्रतिज्ञा परमेश्‍वरले गर्नुभएको हो। उहाँ हामीलाई धेरै प्रेम गर्नुहुन्छ र हामी आनन्दित भएको चाहनुहुन्छ। (याकुब १:१७; १ युहन्‍ना ४:८) अर्थपूर्ण काम गऱ्‍यौँ भने हामी आनन्दित हुन सक्छौँ भनेर उहाँलाई थाह छ। (उपदेशक ३:१२) सधैँभरि यस पृथ्वीमा बाँच्ने मानिसले अर्थपूर्ण र सन्तोषजनक काम पाउनेछन्‌ र यसले उनीहरूलाई र उनीहरूको प्रियजनलाई फाइदा पुऱ्‍याउनेछ भनेर परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको छ।—यसैया ६५:२२, २३.

 अर्को कुरा, पृथ्वीमा सधैँभरि बाँच्ने मानिसले सृष्टिकर्ता र उहाँको अद्‌भुत सृष्टिबारे सधैँ नयाँ कुरा सिकिरहने मौका पाउनेछ। “मानिसले साँचो परमेश्‍वरको काम पूर्ण रूपमा कहिल्यै बुझ्न नसके” तापनि उहाँले मानिसलाई उहाँबारे सिक्न सक्ने गरी र सधैँभरि बाँच्ने इच्छासहित सृष्टि गर्नुभयो। (उपदेशक ३:१०, ११) त्यसैले पृथ्वीमा सधैँभरि बाँच्ने मानिसले सधैँ नयाँ कुरा सिक्न र गर्न पाउनेछ।

a यहोवाका साक्षीहरू निश्‍शुल्क बाइबल अध्ययन गराउँछन्‌। थप जानकारीको लागि बाइबल अध्ययन कसरी गरिन्छ? भन्‍ने भिडियो हेर्नुहोस्‌।