सीधै सामग्रीमा जाने

के मानिस मरेपछि उसको कुनै अंश जीवित रहन्छ?

के मानिस मरेपछि उसको कुनै अंश जीवित रहन्छ?

बाइबलको जवाफ

यहोवा परमेश्‍वरले आदममा अमर आत्मा नभई श्‍वास-प्रश्‍वासले क्रियाशील हुने जीवनशक्‍ति हालिदिनुभयो

 थुप्रै बाइबलमा हिब्रू शब्द रुवाक र ग्रीक शब्द न्युमा-लाई “आत्मा” भनेर अनुवाद गरिएको छ। तर यो अनुवाद सही छैन किनकि यसले अमर आत्माको गलत शिक्षालाई समर्थन गर्छ। रुवाकन्युमा-ले खासगरि “सास” भन्‍ने अर्थ दिन्छ। (भजन १४६:४) साथै यसले निम्न अर्थहरू पनि दिन्छ: (१) हावा, (२) मानिस र जनावरको जीवनशक्‍ति, (३) मानिसको हृदयबाट आउने प्रेरणा, (४) परमेश्‍वर वा प्रेतहरूबाट आउने सन्देश, (५) स्वर्गमा बस्ने व्यक्‍ति र (६) परमेश्‍वरको सक्रिय शक्‍ति अर्थात्‌ पवित्र शक्‍ति।—प्रस्थान ३५:२१; भजन १०४:२९; मत्ति १२:४३; लुका ११:१३.

 यहोवा परमेश्‍वरले पहिलो मानिस आदमलाई सृष्टि गर्नुहुँदा उहाँले “तिनको नाकमा जीवनको सास फुकिदिनुभयो र तिनी जीवित मानिस भए” भनी बाइबल बताउँछ। (उत्पत्ति २:७) यस पदले देखाएअनुसार यहोवा परमेश्‍वरले आदममा अमर आत्मा नभई श्‍वास-प्रश्‍वासले क्रियाशील हुने जीवनशक्‍ति हालिदिनुभयो।

के मानिस मरेपछि उसको कुनै अंश जीवित रहन्छ?

 भजन १०४:२९ मा यस्तो लेखिएको छ: “तपाईँले [यहोवाले] तिनीहरूको सास [रुवाक] लैजानुभयो भने तिनीहरू मर्छन्‌ र माटोमा मिल्छन्‌।” अनि याकुब २:२६ ले “सासविनाको [न्युमा] शरीर मरेको हुन्छ” भनी बताउँछ। त्यसैले यी पदमा चलाइएको रुवाकन्युमा शब्दले शरीरलाई जीवित पार्ने कुरालाई बुझाउँछ। अतः बाइबलमा चलाइएको रुवाक शब्दको अर्थ “आत्मा” होइन तर “शक्‍ति” अर्थात्‌ जीवनशक्‍ति हो। उदाहरणको लागि, नुहको दिनको जलप्रलयबारे परमेश्‍वरले यसो भन्‍नुभयो: “जीवनको सास [रुवाक] हुने मानिस र जीवजन्तु सबैलाई नाश गर्न म पृथ्वीमा जलप्रलय ल्याउनेछु।” (उत्पत्ति ६:१७; ७:१५, २२) यहाँ चलाइएको रुवाक शब्दले आत्मालाई होइन तर सबै जीवजन्तुलाई जीवित पार्ने अदृश्‍य शक्‍तिलाई (जीवनशक्‍ति) बुझाउँछ।

एउटा सुहाउँदो उदाहरण

 हिब्रू शब्द रुवाक अनि ग्रीक शब्द न्युमा-को अर्थ बुझ्न एउटा उदाहरण विचार गर्नुहोस्‌। जसरी रेडियो बज्नको लागि बिजुली चाहिन्छ, त्यसरी नै शरीर जीवित हुन जीवनशक्‍ति चाहिन्छ। यसलाई अझ स्पष्टसित बुझ्न ब्याट्रीले चल्ने रेडियोलाई विचार गर्नुहोस्‌। तपाईँले रेडियोमा ब्याट्री राखेपछि त्यो बज्न थाल्छ। तर रेडियोबाट ब्याट्री झिक्नुभयो भने रेडियो बज्न बन्द हुन्छ। बिजुलीबाट चल्ने रेडियोको कुरा पनि यस्तै हो। त्यसको तार झिक्नुभयो भने त्यो बज्दैन। त्यसैगरि रुवाक अनि न्युमा पनि एउटा यस्तो शक्‍ति हो, जसले शरीरलाई जीवित बनाउँछ। बिजुलीको जस्तै रुवाक अनि न्युमा-को कुनै भावना हुँदैन र यसले सोच्न सक्दैन। यो केवल एउटा शक्‍ति हो। तर रुवाक अनि न्युमा अर्थात्‌ जीवनशक्‍तिविना शरीरले काम गर्न छोड्‌छ। भजनरचयिताले भनेझैँ ‘त्यो मर्छ र माटोमा मिल्छ।’

 मानिसको मृत्युबारे उपदेशक १२:७ यसो भन्छ: “माटोबाट आएको मानिस माटोमै फर्कन्छ र जीवनशक्‍तिचाहिँ जीवन दिने साँचो परमेश्‍वरकहाँ फर्कन्छ।” जब जीवनशक्‍तिले शरीर छोड्‌छ, तब शरीर मर्छ र जहाँबाट आएको हो, त्यहीँ फर्कन्छ अर्थात्‌ माटोमै फर्कन्छ। त्यसैगरि जीवनशक्‍ति जहाँबाट आयो, त्यहीँ फर्कन्छ अर्थात्‌ परमेश्‍वरकहाँ फर्कन्छ। (अय्युब ३४:१४, १५; भजन ३६:९) यसको अर्थ जीवनशक्‍ति स्वर्गमा फर्कन्छ भन्‍ने होइन। बरु मरिसकेको व्यक्‍ति भविष्यमा जीवित हुन्छ कि हुँदैन, त्यो यहोवामा निर्भर हुन्छ। भनौँ भने, तिनको जीवन यहोवाको हातमा छ। मरिसकेको मानिसलाई जीवनशक्‍ति दिएर जीवित बनाउने काम परमेश्‍वरले मात्र गर्न सक्नुहुन्छ।

मानिस मरेपछि उसको कुनै अंश जीवित रहन्छ भन्‍ने शिक्षा कहाँबाट सुरु भयो?

 मानिस मरेपछि उसको कुनै अंश जीवित रहन्छ भन्‍ने शिक्षा बाइबलबाट सुरु भएको होइन बरु यस्तो शिक्षा पुरातन ग्रीक दर्शनजस्ता शिक्षाहरूबाट सुरु भएको हो। बाइबलको शिक्षालाई मानव दर्शनहरूसित छ्यासमिस गरेको परमेश्‍वर पटक्कै चाहनुहुन्‍न। बाइबल यस्तो चेतावनी दिन्छ: “होसियार बस, कसैले तिमीहरूलाई मानव दर्शनका साथै खोक्रो अनि छली विचारधाराहरूद्वारा कैदी नबनाओस्‌।”—कलस्सी २:८.