सीधै सामग्रीमा जाने

प्राकृतिक प्रकोपबारे बाइबल के भन्छ?

प्राकृतिक प्रकोपबारे बाइबल के भन्छ?

बाइबलको जवाफ

 प्राकृतिक प्रकोपहरू परमेश्‍वरले ल्याउनुहुन्‍न, बरु प्राकृतिक प्रकोपको मारमा परेका मानिसहरूलाई देख्दा उहाँलाई दुःख लाग्छ। भविष्यमा परमेश्‍वरको राज्यले प्राकृतिक प्रकोपलगायत हामीले दुःख भोग्नुपर्ने सबै कारणलाई निर्मूल पार्नेछ। त्यतिन्जेल परमेश्‍वरले प्राकृतिक प्रकोपको मारमा परेकाहरूलाई सान्त्वना दिनुहुन्छ।—२ कोरिन्थी १:३.

 प्राकृतिक प्रकोप परमेश्‍वरले दिनुहुने सजाय होइन भनेर हामी किन पक्का हुन सक्छौँ?

 परमेश्‍वरले दुष्टहरूलाई सजाय दिन प्राकृतिक शक्‍तिहरूको प्रयोग गर्नुभएको विवरण बाइबलमा पाइन्छ। तर ती घटनाहरू र प्राकृतिक प्रकोपबीच धेरै भिन्‍नता छ।

  •   जो कोही पनि प्राकृतिक प्रकोपको सिकार हुन सक्छ। विगतमा परमेश्‍वरले प्राकृतिक शक्‍तिहरू चलाएर सजाय दिनुहुँदा दुष्टहरूलाई मात्र नाश गर्नुभयो। उदाहरणको लागि, पुरातन समयमा सदोम र गमोराको विनाश गर्नुहुँदा परमेश्‍वरले असल मानिस लुत र तिनका दुई छोरीलाई बचाउनुभयो। (उत्पत्ति १९:२९, ३०) परमेश्‍वरले त्यतिखेरका मानिसहरूको हृदय पढ्‌नुभयो र उहाँको नजरमा दुष्ट काम गर्ने मानिसहरूलाई मात्र नाश गर्नुभयो।—उत्पत्ति १८:२३-३२; समुएल १६:७.

  •   प्राकृतिक प्रकोप प्रायजसो पूर्वसूचना नदिई आउँछ। परमेश्‍वरले भने प्राकृतिक शक्‍ति चलाएर दुष्टहरूलाई नाश गर्नुअघि चेतावनी दिनुभएको थियो। परमेश्‍वरले दिनुभएको चेतावनी सुनेर त्यसअनुसार चलेकाहरूले आफ्नो ज्यान जोगाउन सके।—उत्पत्ति ७:१-५; मत्ति २४:३८, ३९.

  •   प्राकृतिक प्रकोपको लागि केही हदसम्म मानिसहरू नै जिम्मेवार छन्‌। कसरी? मानिसहरूले वातावरणको विनाश हुने कामहरू गरेका छन्‌ अनि भूकम्प, बाढी-पहिरोको उच्च जोखिम भएका र मौसम असाध्यै बिग्रने क्षेत्रहरूमा भवनहरू निर्माण गरेका छन्‌। (प्रकाश ११:१८) मानिसहरूको यस्ता गल्तीले गर्दा आएको नराम्रो नतिजाको लागि परमेश्‍वरलाई दोष दिन मिल्दैन।—हितोपदेश १९:३.

 के प्राकृतिक प्रकोप हामी अन्तको दिनमा बाँचिरहेका छौँ भन्‍ने कुराको चिन्ह हो?

 हो। “यस युगको आखिरी समय”-मा वा “अन्तको दिनमा” प्रकोपहरू आउनेछ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो। (मत्ति २४:३; २ तिमोथि ३:१) उदाहरणको लागि, हाम्रो समयबारे भविष्यवाणी गर्दा येसुले यसो भन्‍नुभएको थियो: “ठाउँठाउँमा अनिकाल र भूकम्प हुनेछ।” (मत्ति २४:७) चाँडै परमेश्‍वरले यस पृथ्वीबाट प्राकृतिक प्रकोपलगायत हामीले दुःख भोग्नुपर्ने सबै कारणलाई निर्मूल पार्नुहुनेछ।—प्रकाश २१:३, ४.

 प्राकृतिक प्रकोपको मारमा परेकाहरूलाई परमेश्‍वर कसरी मदत गर्नुहुन्छ?

  •   परमेश्‍वरले आफ्नो वचन बाइबलमार्फत सान्त्वना दिनुहुन्छ। परमेश्‍वर हाम्रो ख्याल राख्नुहुन्छ र हामीले दुःख भोग्दा उहाँ पनि दुःखी हुनुहुन्छ भनेर बाइबलले हामीलाई आश्‍वासन दिन्छ। (यसैया ६३:९; १ पत्रुस ५:६, ७) कहिल्यै प्राकृतिक प्रकोप नहुने समयबारे परमेश्‍वरले गर्नुभएको प्रतिज्ञाबारे पनि बाइबलमा बताइएको छ।—“ प्राकृतिक प्रकोपको मारमा परेकाहरूलाई सान्त्वना दिने बाइबल पदहरू” हेर्नुहोस्‌।

  •   परमेश्‍वरले आफ्ना उपासकहरूलाई चलाएर प्राकृतिक प्रकोपको मारमा परेकाहरूलाई मदत गर्नुहुन्छ। प्राकृतिक प्रकोपको मारमा परेकाहरूलाई मदत गर्न परमेश्‍वर येसुको अनुकरण गर्ने आफ्ना उपासकहरूलाई चलाउनुहुन्छ। येसुले “मन भाँचिएकाहरूलाई” र “शोकाकुल मानिसहरूलाई” सान्त्वना दिनुहुनेछ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो। (यसैया ६१:१, २) परमेश्‍वरका उपासकहरू पनि त्यसै गर्ने प्रयास गर्छन्‌।—युहन्‍ना १३:१५.

     प्राकृतिक प्रकोपको मारमा परेकाहरूलाई भौतिक तथा अन्य व्यावहारिक मदत दिन पनि परमेश्‍वर आफ्ना उपासकहरूलाई चलाउनुहुन्छ।—प्रेषित ११:२८-३०; गलाती ६:१०.

पोर्टो रिकोमा यहोवाका साक्षीहरू आँधीको मारमा परेकाहरूलाई मदत दिँदै

 के बाइबल सिद्धान्तहरूले प्राकृतिक प्रकोपको लागि तयार रहन मदत गर्छ?

 गर्छ। हुनत बाइबल प्रकोपको लागि तयार रहन सिकाउने निर्देशिका होइन तर यसमा पाइने विभिन्‍न सिद्धान्तहरूले प्राकृतिक प्रकोपको लागि तयार रहन मदत गर्छ। उदाहरणको लागि:

  •   प्राकृतिक प्रकोप आउँदा के गर्ने भनेर योजना बनाउनुहोस्‌। बाइबल भन्छ, “चतुर मानिस खतरा आएको देखेर लुक्छ तर अनुभवहीन मानिस भने सरासर अघि बढ्‌छ र दुःख पाउँछ।” (हितोपदेश २२:३) आकस्मिक अवस्थामा के गर्ने भनेर पहिल्यै तयारी गर्नु बुद्धिमानी कदम हो। यसमा झटपट झोला तयार पार्नु र प्रकोप आउँदा परिवारका सबै सदस्य कहाँ भेट्‌ने भनेर अभ्यास गर्नु समावेश छ।

  • धनसम्पत्तिभन्दा जीवन बहुमूल्य छ भन्‍ने कुरा मनमा राख्नुहोस्‌। बाइबल यसो भन्छ, “हामीले यस संसारमा न केही ल्यायौँ न त केही बोकेर लैजान नै सक्छौँ।” (१ तिमोथि ६:७, ८) प्रकोपको बेला आफ्नो ज्यान जोगाउन घर र धनसम्पत्ति छोड्‌नुपर्ने अवस्था आएमा हामी त्यसो गर्न इच्छुक हुनुपर्छ। हाम्रो जीवन धनसम्पत्तिभन्दा बहुमूल्य छ भनेर हामीले सम्झनुपर्छ।—मत्ति ६:२५.