सीधै सामग्रीमा जाने

प्रधान-स्वर्गदूत माइकल को हुनुहुन्छ?

प्रधान-स्वर्गदूत माइकल को हुनुहुन्छ?

बाइबलको जवाफ

 माइकल येसुको एउटा नाम हो, जसलाई कुनै-कुनै धर्मले “सन्त माइकल” भन्‍ने गर्छन्‌। येसु पृथ्वीमा आउनुअघि र स्वर्ग फर्कनुभएपछि उहाँलाई यो नाम दिइएको हुनुपर्छ। a मोसाको मृत्युपछि माइकलले सैतानसित वादविवाद गर्नुभयो अनि उहाँले एक जना स्वर्गदूतलाई परमेश्‍वरको सन्देश भविष्यवक्‍ता दानिएलकहाँ पुऱ्‍याउन मदत गर्नुभयो। (दानिएल १०:१३, २१; यहुदा ९) माइकल नामको अर्थ “परमेश्‍वरजस्तो को छ?” हो र उहाँ आफ्नो नामअनुसारै चल्नुहुन्छ। कसरी? परमेश्‍वरको शासनाधिकारको पक्षमा खडा भएर र परमेश्‍वरका शत्रुहरूसित लडेर।—दानिएल १२:१; प्रकाश १२:७.

 येसु नै प्रधान-स्वर्गदूत माइकल हुनुहुन्छ भन्‍ने निष्कर्षमा पुग्नु किन तार्किक छ, विचार गर्नुहोस्‌।

  •   माइकल “प्रधान-स्वर्गदूत” हुनुहुन्छ। (यहुदा ९) “प्रधान-स्वर्गदूत” उपाधिको अर्थ “स्वर्गदूतहरूको प्रमुख” हो र यो उपाधि बाइबलको दुई वटा पदमा मात्र पाइन्छ। ती दुवै पदमा एक वचन अभिव्यक्‍ति प्रयोग गरिएकोले एक जना स्वर्गदूतलाई मात्र त्यो उपाधि दिइएको छ भनेर देखिन्छ। तीमध्ये एउटा पदमा प्रभु येसु “प्रधान-स्वर्गदूतको ठूलो स्वरसहित . . . स्वर्गबाट ओर्लनुहुनेछ” भनेर बताइएको छ। (१ थिस्सलोनिकी ४:१६) येसुको स्वरलाई नै “प्रधान-स्वर्गदूतको . . . स्वर” भनिएको छ किनभने उहाँ नै प्रधान-स्वर्गदूत माइकल हुनुहुन्छ।

  •   माइकल स्वर्गको सेनाको नेतृत्व लिनुहुन्छ। ‘माइकल र उहाँका स्वर्गदूतहरूले त्यस अजिङ्‌गरसित (वा सैतानसित) युद्ध गर्नुभयो।’ (प्रकाश १२:७) स्वर्गदूतहरूमाथि माइकलको ठूलो अख्तियार छ किनभने उहाँलाई “प्रमुख राजकुमारहरूमध्ये एक” र “महान्‌ राजकुमार” भनिएको छ। (दानिएल १०:१३, २१; १२:१) “नयाँ नियम”-का एक जना बाइबलविद्‌ डेभिड इ. अनको भनाइअनुसार यी उपाधिहरूले माइकल “स्वर्गको सेनाको सेनापति” हुनुहुन्छ भनेर देखाउँछ।

     स्वर्गको सेनामाथि अख्तियार भएको अर्का एक जना व्यक्‍तिको मात्र नाम बाइबलमा उल्लेख गरिएको छ। बाइबल यसो भन्छ: “प्रभु येसु आफ्ना शक्‍तिशाली स्वर्गदूतहरूसित स्वर्गबाट . . . बल्दो आगोको साथ प्रकट हुनुहुनेछ र . . . बदला लिनुहुनेछ।” (२ थिस्सलोनिकी १:७, ८; मत्ति १६:२७) येसु “स्वर्ग गइसक्नुभयो अनि स्वर्गदूतहरू, अख्तियारहरू र शक्‍तिहरू उहाँकै अधीनमा राखिएका छन्‌।” (१ पत्रुस ३:२१, २२) परमेश्‍वरले पवित्र स्वर्गदूतहरूको नेतृत्व लिन दुई जना व्यक्‍ति येसु र माइकललाई रोज्नुहोला र? त्यसैले येसु र माइकल एकै जना व्यक्‍तिको नाम हो भन्‍ने निष्कर्षमा पुग्नु तार्किक छ।

  •   माइकल पहिला कहिल्यै नआएको “सङ्‌कष्टको समय”-मा ‘खडा हुनुहुनेछ।’ (दानिएल १२:१) दानिएलको किताबमा प्रयोग गरिएको “खडा हुनु” अभिव्यक्‍तिले अक्सर कुनै राजा विशेष काम गर्न तयार भएको अवस्थालाई जनाउँछ। (दानिएल ११:२-४, २१) “परमेश्‍वरको वचन” भनेर चिनिने येसु ख्रिष्टले “राजाहरूका महाराजा”-को रूपमा परमेश्‍वरका शत्रुहरूको नामोनिसान मेटाउन र परमेश्‍वरका सेवकहरूको रक्षा गर्न विशेष कदम चाल्नुहुनेछ। (प्रकाश १९:११-१६) उहाँले “महासङ्‌कष्ट”-को दौडान यसो गर्नुहुनेछ, “जुन संसारको सुरुवातदेखि अहिलेसम्म भएको छैन।”—मत्ति २४:२१, ४२.

a बाइबलमा अरू मानिसहरूको पनि एकभन्दा धेरै नाम उल्लेख गरिएको छ। जस्तै: याकुब (जसलाई इस्राएल पनि भनिन्छ), पत्रुस (जसलाई सिमोन पनि भनिन्छ) अनि थेदियस (जसलाई यहुदा पनि भनिन्छ)।—उत्पत्ति ४९:१, २; मत्ति १०:२, ३; मर्कुस ३:१८; प्रेषित १:१३.