सीधै सामग्रीमा जाने

के ईश्‍वरले क्रमविकास चलाएर विभिन्‍न किसिमका जीवजीवात सृष्टि गर्नुभयो?

के ईश्‍वरले क्रमविकास चलाएर विभिन्‍न किसिमका जीवजीवात सृष्टि गर्नुभयो?

बाइबलको जवाफ

 अहँ, गर्नुभएन। ईश्‍वरले मानिस, “जातजातका” जनावरहरू अनि “किसिम-किसिमका” बोटबिरुवा बनाउनुभयो भनेर बाइबलमा स्पष्टसित बताइएको छ। a (उत्पत्ति १:१२, २१, २५, २७; प्रकाश ४:११) सम्पूर्ण मानव परिवार हाम्रो प्रथम बुबाआमा आदम र हव्वाका सन्तान हुन्‌ भनेर बाइबलमा बताइएको छ। (उत्पत्ति ३:२०; ४:१) ईश्‍वरले क्रमविकास चलाएर विभिन्‍न किसिमका जीवजीवात अस्तित्वमा ल्याउनुभयो भन्‍ने सिद्धान्त बाइबल विवरणसित मेल खाँदैन। तर हरेक जातिभित्र विभिन्‍न किसिमका प्रजातिहरू छन्‌ भन्‍ने वैज्ञानिक तथ्यसित भने बाइबल मेल खान्छ।

 के ईश्‍वरले क्रमविकास चलाउनुभयो?

 ईश्‍वरले क्रमविकास चलाएर विभिन्‍न जीवजीवात सृष्टि गर्नुभयो भनेर विश्‍वास गर्ने मानिसहरूको उहाँले कसरी त्यसो गर्नुभयो भन्‍नेबारे फरक-फरक धारणा छ। इन्साइक्लोपीडिया ब्रिटानिका-अनुसार कसै-कसैको विचारमा “ईश्‍वरले प्रकृतिमा विभिन्‍न परिवर्तन गराउन चलाउनुहुने एउटा माध्यम भनेको प्राकृतिक छनौट हो।”

 केही धारणा यस्ता छन्‌:

  •   युगौँयुगअघि सबै जीवजीवातको सुरुवात एउटै जीवबाट भएको थियो।

  •   क्रमविकास भएर एक किसिमको जीवबाट बिलकुलै फरक किसिमको जीव बन्‍न सक्छ।

  •   यी परिवर्तनहरू हुनुमा कुनै न कुनै तरिकामा ईश्‍वरकै हात छ।

 के क्रमविकास बाइबलसित मेल खान्छ?

 ईश्‍वरले क्रमविकास चलाएर विभिन्‍न जीवजीवात सृष्टि गर्नुभयो भनेर विश्‍वास गर्नेहरू उत्पत्तिको किताबमा भएको सृष्टिको विवरण पूर्णतया सही छ भनेर मान्दैनन्‌। तर यो विवरण ऐतिहासिक तथ्य भएकोले येसुले त्यसबारे उल्लेख गर्नुभयो। (उत्पत्ति १:२६, २७; २:१८-२४; मत्ति १९:४-६) येसु पृथ्वीमा आउनुअघि उहाँ स्वर्गमा ईश्‍वरसित हुनुहुन्थ्यो र उहाँले “सबै थोक” अस्तित्वमा ल्याउन ईश्‍वरलाई मदत गर्नुभयो भनेर बाइबल बताउँछ। (युहन्‍ना १:३) त्यसैले ईश्‍वरले क्रमविकास चलाएर विभिन्‍न किसिमको जीवजीवात सृष्टि गर्नुभयो भन्‍ने धारणा बाइबलको शिक्षासित मेल खाँदैन।

 फरक वातावरणमा बाँच्न सक्ने बोटबिरुवा र जनावरहरूको क्षमताबारे के भन्‍न सकिन्छ?

 एउटै जातिभित्र परिवर्तन भएर कति धेरै प्रजाति बन्‍न सक्छ भनेर बाइबल बताउँदैन। साथै ईश्‍वरले सृष्टि गर्नुभएका जातजातका जनावरबाट जन्मिएका बच्चाहरूमा र किसिम-किसिमका बोटबिरुवाहरूबाट उम्रिएका नयाँ बोटहरूमा परिवर्तन आउन सक्छ अथवा नयाँ वातावरणमा बाँच्नको लागि तिनीहरू परिवर्तन हुन सक्छन्‌ भन्‍ने तथ्यलाई बाइबलले खण्डन गर्दैन। कसै-कसैले यस्ता परिवर्तनहरूलाई एक प्रकारको क्रमविकास नै हो भन्‍ने गर्छन्‌। तर वास्तवमा त्यसबाट कुनै नयाँ किसिमको जीवजीवात उत्पन्‍न हुँदैन।

a बाइबलमा प्रयोग गरिएको “जातजातका” वा “किसिम-किसिमका” भन्‍ने शब्दहरू र वैज्ञानिकहरूले प्रयोग गर्ने “प्रजाति” शब्दको अर्थ एउटै होइन। किनभने “जातजातका” वा “किसिम-किसिमका” भन्‍ने शब्दहरूको अर्थ फराकिलो छ। कहिलेकाहीँ वैज्ञानिकहरूले क्रमविकास भएर नयाँ प्रजाति देखा पऱ्‍यो भन्‍ने गर्छन्‌ तर वास्तवमा त्यो नयाँ जाति नभई एउटा जातिभित्रको प्रजाति मात्र हो। यो कुरा उत्पत्तिको विवरणमा चलाइएको शब्दको अर्थसित मेल खान्छ।