सीधै सामग्रीमा जाने

के मरियम परमेश्‍वरकी आमा हुन्‌?

के मरियम परमेश्‍वरकी आमा हुन्‌?

बाइबलको जवाफ

 होइन; बाइबलले मरियम परमेश्‍वरकी आमा हुन्‌ भनेर सिकाउँदैन, न त यसले मरियमको उपासना गर्नुपर्छ वा तिनलाई महिमा दिनुपर्छ भनेर नै सिकाउँछ। a यो कुरा विचार गर्नुहोस्‌:

  •   मरियमले आफू परमेश्‍वरकी आमा हुँ भनेर कहिल्यै पनि दाबी गरिनन्‌। अनि बाइबलले बताएअनुसार तिनले “परमेश्‍वरको छोरा”-लाई जन्म दिइन्‌, परमेश्‍वरलाई होइन।—मर्कूस १:१; लूका १:३२.

  •   येशू ख्रीष्टले पनि मरियम परमेश्‍वरकी आमा हुन्‌; त्यसैले तिनलाई विशेष भक्‍ति चढाउनुपर्छ भनेर कहिल्यै भन्‍नुभएन। बरु उहाँले त एक पटक एउटी स्त्रीले उहाँकी आमा बन्‍ने सुअवसर पाएकोमा मरियम धन्यकी हुन्‌ भन्दा उनलाई यसो भनेर सच्याउनुभयो: “त्यसो होइन। धन्य त तिनीहरू हुन्‌, जसले परमेश्‍वरको वचन सुन्छन्‌ र पालन गर्छन्‌!”—लूका ११:२७, २८.

  •   “परमेश्‍वरकी आमा” र “थियोटोकोस्‌” (परमेश्‍वरकी जननी) भन्‍ने अभिव्यक्‍तिहरू बाइबलमा कतै पनि पाइँदैन।

  •   बाइबलमा “स्वर्गकी रानी” भन्‍ने अभिव्यक्‍तिले मरियमलाई नभई धर्मत्यागी इस्राएलीहरूले पुज्ने एउटी देवीलाई बुझाउँछ। (यर्मिया ४४:१५-१९) “स्वर्गकी रानी” भन्‍ने नाम बेबिलोनी देवी इश्‍तारलाई (अस्तारते) दिइएको हुन सक्छ।

  •   सुरु-सुरुका ख्रीष्टियनहरूले मरियमको उपासना गर्दैनथे, न त तिनीहरूले तिनलाई विशेष सम्मान नै दिए। एक इतिहासकारले बताएअनुसार सुरु-सुरुका ख्रीष्टियनहरूले “गुटबन्दीलाई तिरस्कार गरेका हुन सक्छन्‌ र सम्भवतः तिनीहरू मरियमलाई अचाक्ली आदर दिँदा कुनै देवीको उपासना गरेको भान पर्न सक्छ भनेर डराएका हुन सक्छन्‌।”—इन क्वेस्ट अफ द जिविस्‌ मेरी।

  •   बाइबलले परमेश्‍वर सधैँ अस्तित्वमा हुनुहुन्छ भनेर बताउँछ। (भजन ९०:१, २; यशैया ४०:२८) उहाँको सुरुवात नै नभएकोले उहाँको आमा हुने त कुरै भएन। अनि अर्को कुरा, मरियमले परमेश्‍वरलाई आफ्नो कोखमा राख्न सम्भव छैन किनकि बाइबलले बताएअनुसार परमेश्‍वर उच्च स्वर्गमा समेत अटाउनुहुन्‍न।—१ राजा ८:२७.

मरियम—“परमेश्‍वरकी आमा” नभई येशूकी आमा

 मरियम जन्मजातै एक यहूदी थिइन्‌ र तिनी राजा दाऊदको घरानाकी थिइन्‌ (लूका ३:२३-३१) तिनको विश्‍वास र भक्‍तिको कारण तिनी परमेश्‍वरको निगाह-पात्र हुन सकिन्‌। (लूका १:२८) आफ्नो छोरा येशूलाई पृथ्वीमा जन्म दिन परमेश्‍वरले मरियमलाई रोज्नुभयो। (लूका १:३१, ३५) पछि मरियमले आफ्नो पति यूसुफबाट अरू छोराछोरी पनि जन्माइन्‌।—मर्कूस ६:३.

 बाइबलले पछि मरियम येशूकी चेली भइन्‌ भनेर बताएको छ तर बाइबलले तिनको यसबाहेक अरू केही पनि बताएको छैन।—प्रेषित १:१४.

a केही धार्मिक सम्प्रदायले मरियम परमेश्‍वरकी आमा हुन्‌ भनेर सिकाउँछ। तिनीहरूले मरियमलाई “स्वर्गकी रानी” वा थियोटोकोस्‌ भन्छन्‌, जुन ग्रीक शब्दको अर्थ हो, “परमेश्‍वरकी जननी।”