सीधै सामग्रीमा जाने

परिवारका लागि मदत

मेरो छोरा दादागिरीको शिकार हुँदै छ भने के गर्ने?

मेरो छोरा दादागिरीको शिकार हुँदै छ भने के गर्ने?

 तपाईँको छोराले आफू स्कुलमा दादागिरीको शिकार भइरहेको छु भनेर तपाईँलाई सुनायो भने तपाईँ के गर्नु हुन्छ? त्यस्तो गलत काम गर्नेलाई सजाय दिनुपर्छ भनेर स्कुलबाट माग गर्नु हुन्छ कि? अथवा छोरालाई कसरी तिनीहरूलाई जवाफ फर्काउने भनेर सिकाउनुहुन्छ कि? निर्णय गर्नुअघि दादागिरीबारे केही तथ्य विचार गरौँ। a

 दादागिरीबारे मैले के थाह पाउनुपर्छ?

 दादागिरी भनेको के हो? दादागिरी भनेको निरन्तर शारीरिक वा मानसिक तवरमा पीडा दिने उद्देश्‍यले सताइने काम हो। तर सबै किसिमको बेइज्जती वा नराम्रो व्यवहार दादागिरी होइन।

दादागिरीबारे बुझ्नु किन महत्त्वपूर्ण छ? केही मानिसहरू  “दादागिरी”-लाई निराश बनाउने जस्तोसुकै व्यवहार, चाहे त्यो सानो नै किन नहोस्‌, त्यसलाई बुझाउन प्रयोग गर्छन्‌। तर सानोतिनो समस्यालाई ठूलो बनाउँदा तपाईँले आफ्नो छोरालाई, तिनी समस्या सुल्झाउन सक्षम छैनन्‌ भनेर सिकाइरहनुभएको हुनेछ। यसले गर्दा तिनको समस्यासित लड्‌ने क्षमता विकास हुँदैन, जुन तिनलाई अहिले र वयस्क भएपछि पनि चाहिन्छ।

 बाइबलको सिद्धान्त: “कुनै पनि कुरामा चित्त दुखाइहाल्ने नगर।”—उपदेशक ७:९.

 निष्कर्ष: कुनै-कुनै परिस्थितिमा तपाईँले हस्तक्षेप गर्नुपर्ने हुन सक्छ। तर अरू परिस्थितिले भने छोरालाई समस्यासँग जुझ्न र मानिसहरूसित झगडा हुँदा त्यसको सामना गर्न सिकाउँछ।—कलस्सी ३:१३.

 तर तपाईँको छोरालाई कसैले निरन्तर र जानाजानी सताउँदै छ भने तपाईँ के गर्नुहुन्छ?

 म कसरी मदत गर्न सक्छु?

  •   धीरजी हुँदै छोराको कुरा सुन्‍नुहोस्‌। (१) के हुँदै छ? र (२) किन उसलाई अरूले दादागिरी देखाउँदै छन्‌?, त्यो कुरा पत्ता लगाउनुहोस्‌। सबै तथ्य थाह पाउनुअघि नै निष्कर्षमा नपुग्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌, ‘के मलाई सबै तथ्य थाह छ? सायद सबै जानकारी पाउनको लागि तपाईँले शिक्षक वा अरू बच्चाहरूको बुबाआमासँग कुरा गर्नुपर्ने हुन सक्छ।

     बाइबलको सिद्धान्त: “जसले राम्ररी कुरा सुन्‍नुअघि नै जवाफ दिन्छ, उसले मूर्खता प्रकट गर्छ र आफ्नै बेइज्जती गर्छ।”—हितोपदेश १८:१३.

  •   यदि तपाईँको छोराले दादागिरीको सामना गर्दै छन्‌ भने, कसरी तिनको प्रतिक्रियाले अवस्था सुध्रिन वा बिग्रन सक्छ, तिनलाई महसुस गराउनुहोस्‌। उदाहरणको लागि, बाइबल भन्छ: “मीठो जवाफले रिसलाई शान्त पार्छ तर कठोर बोलीले रिस उठाउँछ।” (हितोपदेश १५:१) साँच्चै, बदला लिँदा समस्या कम हुनुको सट्टा झनै बढ्‌छ।

     बाइबलको सिद्धान्त: “खराबीको बदला खराबी नगर; अपमानको बदला अपमान नगर।”—१ पत्रुस ३:९.

  •   बदला नलिँदा तिनी कमजोर हुँदैनन्‌ भनेर आफ्नो छोरालाई सम्झाउनुहोस्‌। अनि अरूको नियन्त्रणमा बस्न इन्कार गरेकोले तिनको मनोबल पनि बढ्‌छ। यस अर्थमा तिनले आफूले दादागिरी नदेखाइकनै दादागिरी देखाउनेलाई हराउन सक्छन्‌।

     तपाईँको छोरा कतै इलेक्ट्रोनिक माध्यमद्वारा दादागिरीको शिकार त भइरहेको छैन, तपाईँको छोराको लागि त्यो थाह पाउनु महत्त्वपूर्ण छ। इलेक्ट्रोनिक माध्यमद्वारा एकले अर्कालाई धम्काउने वा तर्साउने गर्दा त्यसले केवल आगोमा घ्यू मात्र थपिरहेको हुन्छ। त्यसो गर्दा तपाईँको छोराले आफूले आफैलाई दादागिरीको शिकार बनाइरहेको हुन्छ भने अर्को पक्षलाई पनि झन्‌ उक्साइरहेको हुन्छ। त्यसैले कहिलेकाहीँ सबैभन्दा राम्रो प्रतिक्रिया भनेको प्रतिक्रिया नै नदेखाउनु हो। यसरी केही प्रतिक्रिया नदेखाउँदा दादागिरी देखाउनेलाई आफू हारेको महसुस हुन्छ र दादागिरी देखाउन छोड्‌न सक्छ।

     बाइबलको सिद्धान्त: “जहाँ दाउरा हुँदैन, त्यहाँ आगो निभ्छ।”—हितोपदेश २६:२०.

  •   कुनै परिस्थितिमा तपाईँको छोरा दादागिरी देखाउने व्यक्‍ति अनि दादागिरीको शिकार हुन सक्ने ठाउँबाट अलग बस्न सक्छन्‌। उदाहरणको लागि, यदि कुनै व्यक्‍ति वा समूहले कुनै ठाउँमा दादागिरी देखाउँछन्‌ भनेर तिनलाई थाह छ भने समस्याबाट जोगिन तिनी अर्कै बाटो रोज्न सक्छन्‌।

     बाइबलको सिद्धान्त: “चतुर मानिस खतरा आएको देखेर लुक्छ तर अनुभवहीन मानिस भने सरासर अघि बढ्‌छ र दुःख पाउँछ।”—हितोपदेश २२:३.

सायद तपाईँले शिक्षक वा अरू छोराको बुबाआमासँग कुरा गर्नुपर्ने हुन सक्छ।

 यसो गरे कसो होला: तपाईँको छोराले कुन उपाय अपनाउँदा कस्तो फाइदा वा बेफाइदा हुन सक्छ, त्यसबारे तिनलाई सोच्न लगाउनुहोस्‌। उदाहरणको लागि:

  •  दादागिरी गर्नेलाई तिनले बेवास्ता गर्दा के हुन सक्छ?

  •  साहसी हुँदै तिनले दादागिरी गर्नेलाई रोक्दा के हुन सक्छ?

  •  दादागिरी गर्ने व्यक्‍तिबारे तिनले स्कुललाई खबर गर्दा के हुन सक्छ?

  •  के तिनले नरम मिजास र मित्रैलो तरिकाले दादागिरी गर्नेलाई हराउन सक्छन्‌?

 चाहे दादागिरी आमनेसामने होस्‌ वा अनलाइन, परिस्थिति फरक-फरक हुन्छ। त्यसैले आफ्नो छोरासँगै मिलेर समाधान खोज्नुहोस्‌। यस समस्यामा तपाईँ तिनको साथमा हुनुहुन्छ भनेर तिनलाई महसुस गराउनुहोस्‌।

 बाइबलको सिद्धान्त: “साँचो मित्रले सधैँ माया गर्छ अनि ऊ दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै हुन्छ।”—हितोपदेश १७:१७.

a यस लेखमा छलफल गरिएका सिद्धान्तहरू छोरालाई सङ्‌केत गरे तापनि यी सिद्धान्तहरू छोरीलाई पनि लागू हुन्छ।